नेपाली बजारमा बीवाईडीका इलेक्ट्रिक एसयूभी एट्टो २ र एट्टो ३ को मूल्य बढेको छ।
नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले शुक्रबारदेखि लागू हुने गरी एट्टो २ र एट्टो ३ को मूल्य बढाएको हो।
बीवाईडी एट्टो २ को मूल्य ३ लाख ४ हजार र एट्टो ३ को मूल्य २ लाख रुपैयाँले बढेको हो।
यसअघि ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको एट्टो २ को मूल्य बढेर ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
साथै ५९ लाख ९९ हजार रुपैयाँ बिक्री हुँदै आएको एट्टो ३ को एड्भान्स भेरियन्टको मूल्य बढेर ६१ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ईभीको करका दरमा परिमार्जन गरेसँगै यसको प्रभाव स्वरुप एट्टो २ र एट्टो ३ को मूल्य बढेको हो।
आगामी आवको बजेटमार्फत् सरकारले ईभीमा कर संरचनामा व्यापक परिवर्तन गरेको थियो। यसअघि पिकपावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुल मूल्यगत आधारमा लाग्ने बनाइएको थियो।
यस्तै ईभीमा पूर्णरूपमा अन्त:शुल्क खारेजी गर्दै मूल्य, बीमा र ढुवानी खर्चका आधारमा भन्सार विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था मिलाइएको छ।
नयाँ व्यवस्थाअनुसार भन्सार विन्दुमा २० लाख रुपैयाँसम्म मूल्य भएका विद्युतीय गाडीमा अब २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। त्यस्तै २० लाखदेखि ३० लाख रुपैयाँसम्म मूल्य भएका गाडीमा २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने भएको छ।
यसै गरी ३० लाखदेखि ४० लाख रुपैयाँसम्मका गाडीमा ३५ प्रतिशत, ४० लाखदेखि ५० लाख रुपैयाँसम्म मूल्य भएका गाडीमा ९० प्रतिशत र ५० लाख रुपैयाँभन्दा बढी मूल्यका गाडीमा १३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने भएको छ।
यससँगै सरकारले २० लाखभन्दा मुनिका विद्युतीय गाडीमा २.५ प्रतिशत सडक निर्माण दस्तुर र अन्य ईभीमा ५ प्रतिशत सडक निर्माण दस्तुर यथावत् छ भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि कायमै राखेको छ।
गत नाडा अटो शोमा सार्वजनिक गरिएको एट्टो २ नेपालमा सर्वाधिक बिक्री बीवाईडीको मोडलमध्ये एक हो। सार्वजनिक भएको एक वर्षभन्दा कम अवधिमा एट्टो २ करिब २ हजार युनिट बिक्री भइसकेको छ।
हाल पनि बीवाईडी एट्टो २ को प्रतिक्षामा आठ सय ग्राहक रहेको साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले जानकारी दिए।
पेट्रोल र डिजलमा भएको अत्यधिक मूल्यवृद्धिका कारण पछिल्लो समय उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित भइरहेका छन्।
उच्चस्तरीय र आधुनिक फिचरसहित किफायती मूल्यका कारण बीवाईडी एट्टो २ प्रति ग्राहकको रुचि बढेको उनी बताउँछन्।
वैशाखसम्म एक हजारभन्दा बढी ग्राहकले एट्टो २ बुकिङ लिएका थिए। पछिल्लो समय थप केही युनिट गाडी भित्रिएसँगै यो संख्या करिब आठ सयको हाराहारीमा पुगेको उनले बताए।
एट्टो २ को मागभन्दा आपूर्ति कम हुँदा गाडी किन्न खोज्ने ग्राहकले समयमा गाडी पाइरहेका छैनन्। कम्पनीले बुकिङ गरेको ३० देखि ४५ दिनमा डेलिभरी दिइरहेको उनले जानकारी दिए।
मूल्य समायोजन हुनुभन्दा अघि बुकिङ लिएका ग्राहकलाई पुरानै मूल्यमा एट्टो २ र एट्टो ३ उपलब्ध गराउने कम्पनीको भनाइ छ।
कस्तो छ एट्टो २?
बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री छ। जसले सिंगल चार्जमा डब्ल्यूएलटीपी रेन्ज ३४५ किलोमिटर प्रदान गर्छ। १०० किलोवाट मोटरले ३१० एनएम टर्क प्रदान गर्छ।
यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्रेट सिन्क्रोनस मोटरले २९० एनएएम टर्क प्रदान गर्ने कम्पनीको दाबी छ।
गाडी ९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम छ। ग्राउन्ड क्लियरेन्स २०० एमएम छ। बीवाईडी एट्टो २ मा १२.८ इन्चको इन्टेलिजेन्स रोटटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटोका साथै ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङलगायत अत्याधुनिक फिचर रहेको कम्पनीले जनाएको छ।
यस्तै कारमा लेभल २ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ। जसमा एडेप्टिभ क्रुज कन्ट्रोल (एसीसी), लेन डिपार्जर वार्निङ र असिस्ट (एलडीडब्लु एन्ड एलडीए), ट्राफिक जाम असिस्ट (टीजेए), अटो इमर्जेन्सी ब्रेकिङ (एईबी), इन्टेलिजेन्ट स्पिड लिमिट कन्ट्रोल (आईएसएलसी) र राडार सेन्सरसहितको ३६० डिग्री भ्यु मोनिटरलगायत फिचर उपलब्ध छ।
कम्पनीका अनुसार प्यासेन्जरको सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ट्रायाक्सन कन्ट्रोल (टीसीएस), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र आईसोफिकस एंकरलगायत सेफ्टी फिचर उपलब्ध छ।
सिंगल चार्जमा ४२५ किलोमिटर रेन्ज प्रदान गर्ने एट्टो ३ मा ६०.४८ किलोवाट आवरको ब्याट्री छ। १०० किलोवाट मोटरपावरले ३१० एनएम टर्क प्रदान गर्छ। एट्टो ३ ले ९.७ सेकेन्डमा ० देखि १०० किलोमिटरको गति लिन सक्षम छ।
Shares

प्रतिक्रिया