रास्वपा महामन्त्रीका उम्मेदवार मनीष झाले समूहगत अभ्यास गरेर सभापति रवि लामिछानेको नाम बदनाम गरिरहेको आरोप लगाएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले समूहगत अभ्यास पार्टी सभापतिको निर्देशनविपरीत भएको बताएका हुन्।
‘केही साथीहरूले समूहगत अभ्यास गर्नुभयो। हाम्रो नेताको अभिव्यक्तिको विपरीतको कार्य हो,’ उनले भने, ‘रवि दाइले त यहाँ आएर राजनीतिक अभ्यासहरू नगर्नु है भन्नुभएको थियो। उहाँकै छायामा कसैले गर्दै हुनुहन्छ भन्ने सभापति ज्यूलाई थाहा छैन। उहाँको नाम बदनाम गरिरहेको छ कसैले।’
झाले समूहगत अभ्यासको विरोध गर्नुपर्ने पनि बताए। उनले आफूलाई बिहीबार राति मिलेर जानुपर्छ भनेर भनिएको पनि बताए।
‘सहमति भनेको जहिले पनि त्याग होइन, सहमति भनेको कहिलेकाहीँ प्राप्ति पनि हो। मैले गर्ने राजनीतिक सहमति सधैँ किन त्याग मात्रै भइदिन्छ,’ उनले भने, ‘सभापति र उपसभापतिलाई के पनि भनेँ भने मन्त्रालयगत लोभ छैन, पार्टी सुधार्नु छ, ५ वर्षसम्म अन्य कुनै पनि दाबी गदिनँ।’
Shares

प्रतिक्रिया