म्यानमारमा जारी हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाजले यूएन हाउस पुल्चोक अगाडि सोमबार प्रदर्शन गरेको हो। प्रदर्शनमा, म्यानमारमा भइरहेको हत्या र दमन रोक्न प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई र म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराधलाई अन्त्य गर्न समस्त विश्व एक भएर सामुहिक कदम चाल्न आग्रह गरिएको थियो।
प्रदर्शनमा म्यानमारः सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो।
प्रदर्शनपश्चात शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघको कार्यालय मार्फत बुझाइएको थियो।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, समाजका सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईसहित ५५ भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया