विपक्षी सांसदले आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रस सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिउपर रुलिङ नगरेको भन्दै सभामुख अर्यालमाथि नै प्रश्न गरेका थिए।
‘स्वयम सभामुख महोदयसँग एउटा प्रश्न छ,’ सभामा यादवले भने, ‘सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो। के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो, यहाँको त्यो सँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो?’
यादवको यो अभिव्यक्तिलाई लिएर सभामा रास्वपाका रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरेका थिए।
प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ मा सभामुखले पद अनुकुलको आचरण गरेको छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान रहेको कार्कीले बताए।
त्यसपछि सभामुख अर्यालले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका हुन्।
‘आजै माननीय सदस्य चन्द्रमोहन यादवले बोल्ने क्रममा बोलिएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। माननीय सदस्यलाई हाम्रो नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँदछु,’ उनले भने।
प्रतिनिधिसभा नियमावलीको नियम २१ मा सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न हुँदैन भनिएको छ।
Shares

प्रतिक्रिया