सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई किर्ते काम गरेको भनी लगाएको आरोपको खण्डन गरेका छन्।
प्रधानमन्त्रीले सभामुख सापकोटाले संसद विघटन भइसकेपछि केहि सांसदहरुले हस्ताक्षर गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भनी साढे ३ बजे प्रस्ताव दर्ता गर्न गएकोमा १०ः४० मै आएको भनी दर्ता गराएको आरोप लगाएका थिए।
‘सभामुखले किर्ते सनाखत गर्नुभयो। सभामुख जस्तो मर्यादित पदबाट साढे ३ बजे गएको प्रस्तावलाई साढे १० बजे गएको भनियो,’ ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँग गरेको भर्चुअल अन्तरक्रियामा भनेका थिए।
उनले संसद विघटन भइसकेपछि अविश्वास प्रस्तावको कुनै अर्थ नहुँदा नहुँदै पनि सभामुखले सो प्रस्तावलाई बैधानिकता दिने प्रयास गरेको बताए।
प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिश गरेकै दिन पुस ५ गते ९० जना सदस्यले संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
सभामुखको सचिवालयले सो विषयमा सभामुखलाई अनावश्यक रुपमा विवादमा तान्ने प्रयास गरेको बताएको छ।
‘सो दिन सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो,’ सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले भनेका छन्, ‘तत् पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन। तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु।’
अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद सचिवालयका प्रवक्ताले यसअघि नै प्रेस विज्ञप्तीमार्फत स्पष्ट गरिसकिएको समेत उनले स्मरण गराएका छन्।
पुस ८ गते संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले एक विज्ञप्ति जारी गरी सो अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता गरिएको स्पष्ट पारेका थिए।

यो पनि :
प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन, मैले अदालतमा यही उत्तर दिँदैछु : सभामुख (भिडियो)

प्रतिक्रिया