उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको छ।
यसअघि नेपाली सेनाको छाउनीस्थित कार्यालयमा रहेको सीसीएमसीको सचिवालयमा बस्ने गरेकोमा केहि मन्त्रीले छाउनीमा जान अस्वीकार गरेपछि शुक्रबारको बैठक सिंहदरबारमै राखिएको हो।
‘पहिले छाउनीमा हुने गरेको थियो, तर केहि मन्त्रीले उता जान अस्वीकार गरेपछि आजको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमै राखिएको हो,’ स्रोतले नेपालखबरलाई बतायो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा सीसीएमसीमा चारजना मन्त्री थप गरी त्यसको पुनर्गठन गरिएको थियो।
स्रोतका अनुसार समितिमा थपिएका मन्त्रिहरुले बैठक सिंहदरबारमै बस्नुपर्ने बताएपछि त्यसो गरिएको बताए।
केहि मन्त्रिले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम काम पनि प्रभावकारी हुन नसकेको र सीसीएमसीको बैठक समेत सेनाको अड्डामा गरेको भनी बुधबारको मन्त्रिपरिषद् बैठकमैं कुरा उठाएका थिए।
त्यसपछि सोहि बैठकले पोखरेल नेतृत्वको सीसीएमसीमा कृषि मन्त्री घनश्याम भुसाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन र पर्यटन मन्त्री योगेश भटराईलाई थपिएको थियो।
यसअघि स्वास्थ्य लगायत बिभिन्न मन्त्रालयका प्रतिनिधिले सीसीएमसीको बैठक लगायत कोरोना नियन्त्रण सम्बन्धी बिभिन्न गतिबिधिमा सेना बढि हावी भएको भनी गुनासो हुँदै आएको थियो।
Shares

प्रतिक्रिया