नेपाली कांग्रेसले नयाँ गठन हुन लागेको सरकारका लागि भ्रष्टाचार नियन्त्रण र राजनीतिक शुद्धीकरणको स्पष्ट ‘प्रेस्क्रिप्सन’ (मार्गचित्र) अघि सारेको छ। बिहीबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले आगामी सरकारले न्यायिक निरुपणमार्फत पुराना सबै भ्रष्टाचारका काण्डहरूलाई तार्किक निष्कर्षमा पुर्याएर ‘क्लोज’ गर्नुपर्ने बताएका हुन्।
सरकार गठनको पूर्वसन्ध्यामा कांग्रेसले भ्रष्टाचारको मुद्दालाई राजनीतिक दाउपेचभन्दा माथि राख्नुपर्नेमा जोड दिएको हो। ‘यो सरकारले भ्रष्टाचारलाई दृढतापूर्वक पहिलो प्राथमिकता दिएर आजसम्म जे जति काण्ड सुनिएका छन्, त्यसलाई क्लोज गर्नुपर्छ,’ प्रवक्ता चालिसेले भने, ‘कारबाही गर्ने, आयोग बनाउने, न्यायिक निरुपण गर्ने जे जति गर्नुपर्ने हो सबै कुराहरू गर्नुपर्छ।’
प्रवक्ता चालिसेले भ्रष्टाचार अब केवल राजनीतिक बहस वा आरोप–प्रत्यारोपको विषय मात्र बनेर रहन नहुने तर्क गरे। राजनीति सफा नभई राज्यका अन्य निकाय शुद्ध हुन नसक्ने उल्लेख गर्दै उनले थपे, ‘भ्रष्टाचार राजनीतिक बहसको विषय, पार्टीसँग जोड्ने विषय, जनमत प्रभावित पार्ने विषय बन्नु हुँदैन। राजनीतिलाई शुद्ध नबनाएसम्म बाँकी कुराहरू शुद्ध नहुने भयो।’
Shares

प्रतिक्रिया