नेपाली सिनेमा जगतका ‘लेजेन्ड’ निर्देशक भन्ने बित्तिकै तुलसी घिमिरेको नाम याद आउँछ। ‘कुसुमे रुमाल’, ‘चिनो’ र ‘दर्पण छायाँ’ जस्ता दजर्नौं कालजयी सिनेमा दिएका घिमिरेले अहिले नयाँ अनुहारलाई पर्दामा ल्याउँदै छन्। उनकै निर्देशनमा बनेको फिल्म ‘पहाड’बाट पञ्चमी घिमिरेले अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्। उनी घिमिरेकै कान्छी छोरी हुन्।
अभिनेत्रीको रूपमा नयाँ भए पनि सिनेमा जगत पञ्चमीका लागि नौलो दुनियाँ भने होइन। उनको परिचय ‘स्टार किड’मा सीमित छैन। बरु मुम्बईको व्यावसायिक ग्ल्यामर र पर्दापछाडिको कडा मेहनत पनि छ। त्यसै अनुभवले उनी अहिले अभिनेत्रीका रूपमा ‘पहाड’ उक्लिने तयारीमा छिन्।
‘यतिखेर एकदमै खुसी लागिरहेको छ। जहिले पनि क्यामेराको पछाडि काम गरिरहेको मान्छे पहिलोचोटि क्यामेराअघि आउँदा अलग्गै अनुभव भयो। डेब्यु फिल्मको लागि एकदमै उत्साहित छु,’ उनले भनिन्।

बाल्यकालदेखि नै सिनेमासँग संगत
बुवा निर्देशक भएकाले पञ्चमीको सिनेमासँगको संगत बाल्यकालमै भएको थियो। पञ्चमीका अनुसार बुवा तुलसी घिमिरे घरमा एक कथावाचक थिए। जो हरेक राति सुत्नुअघि कथा सुनाउँथे। जुन सुन्दा पञ्चमीलाई सिनेमा हेरेझै लाग्थ्यो।
‘बुवाले सानो छँदा हामीलाई धेरै कथाहरू सुनाउनुहुन्थ्यो। उहाँले कथा सुनाउँदा हामी त्यसैमा हराउँथ्यौँ। उहाँको कथा सुनाउने शैली नै यति जीवन्त हुन्थ्यो कि हामीलाई सिनेमा हेरिरहेको जस्तै महसुस हुन्थ्यो। सानामा सुनेका ती कथाहरू र बुवाको त्यो स्टोरीटेलिङको प्रभावले नै ममा सिनेमा र सिर्जनात्मकताप्रति रुचि जगाएको हो। मलाई फिल्म मनपर्ने दुनियाँ हो। जे गर्छु, यसै क्षेत्रमा गर्छु भन्ने सानैदेखि लागेको थियो,’ उनले नेपालखबरसँग भनिन्।
मुम्बईमा जन्मेकी पञ्चमीको हुर्काइ दार्जिलिङमा भयो। स्कुल बिदा हुने बित्तिकै पञ्चमी परिवारसँगै काठमाडौं आउँथिन्। र, बुवाका फिल्मका सुटिङमा पुग्थिन्। जहाँ पर्दाका ठूला कलाकारहरूलाई देख्दा दंग पर्थिन्। उत्तम प्रधान, दिलिप रायमाझी, मिथिला शर्मा, तृप्ति नाडकर, नन्दिता केसी, निरुता सिंह लगायत उनलाई मनपर्ने कलाकार हुन्। उनीहरूको अभिनय देखेर प्रभावित भएको उनको भनाइ छ।
‘म दार्जिलिङ पढ्थेँ। जब स्कुलमा बिदा हुन्थ्यो, म सिधै काठमाडौँ दौडिन्थेँ। बुवा सधैँ सुटिङमा व्यस्त हुनुहुन्थ्यो, त्यसैले मेरो छुट्टीको धेरैजसो समय सुटिङ सेटमै बित्थ्यो,’ उनले सम्झिइन्।
सुटिङ हेर्न मात्रै होइन, उनले बुवाका धेरैजसो फिल्ममा बालकलाकार बनेर खेल्ने मौका समेत पाएकी छिन्। उनले सानो छँदा खेलेको पहिलो फिल्म भने ‘साइत’ हो। ती अनुभवले उनको सिकाइमा निकै योगदान गरे।
तुलसी घिमिरे छोरीलाई सधैँ भन्थे: कलाकारहरू धेरै छन्। फिल्म क्षेत्रलाई कलाकार होइन, मेकर चाहिएको छ।
यही कुरा आत्मसात गर्दै पञ्चमी सिनेमाको प्राविधिक र सिर्जनात्मक पक्षलाई नजिकबाट बुझ्न थालिन्। ‘मास मिडिया’ मा स्नातक सकेसँगै बुवासँगै पञ्चमी ९ वर्षअघि नेपाल आइन्। बुवाकै फिल्म ‘दर्पण छाँया २’ मा सहायक निर्देशक भएर काम गरिन्। त्यो फिल्म बक्सअफिसमा भने चल्न सकेन।
लगत्तै पञ्चमीले भारतको मुम्बईलाई आफ्नो कर्मथलो बनाइन्। मुम्बईमा रहँदा उनले चर्चित भारतीय टेलिसिरियल ‘कुमकुम भाग्य’ मा ‘क्रिएटिभ डिरेक्टर’ का रूपमा काम गरिन्। यसका साथै विभिन्न ब्रान्डका विज्ञापनहरूमा पनि काम गरिन्।
‘मुम्बईमा विज्ञापन र सिरियलहरूमा क्रिएटिभ डिरेक्टरका रूपमा काम गर्दा मैले समयको महत्त्व र प्रोफेसनलिज्म बुझेँ। पर्दापछाडि बसेर काम गर्दा एउटा कलाकारले कति मिहिनेत गर्नुपर्छ भन्ने कुरा मैले नजिकबाट अनुभूत गरेँ,’ उनले भनिन्।

आमालाई सुनाएकी थिइन् हिरोइन बन्ने रहर
प्राविधिक कर्मतिर भए पनि पञ्चमीलाई अभिनयको भोक थियो। त्यसैले अडिसन लिँदा उनलाई यस्तो अभिनय त म पनि गर्न सक्छु भन्ने लाग्थ्यो। हिरोइन बन्ने रहर पञ्चमीले आमालाई सुनाएकी थिइन्।
‘फिल्मको सेटमा कलाकारहरूलाई देख्दा मलाई लाग्थ्यो, म पनि एकदिन यसरी नै पर्दामा आउन पाए हुन्थ्यो। आमालाई मैले आफ्नो मनको कुरा सधैँ सुनाउँथेँ र उहाँले मलाई सधैँ गाइड गर्नुभयो। कलाकार बन्न धेरै मेहनत गर्नुपर्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्।
‘दर्पण छाँया’ रिलिजको सात वर्षपछि तुलसी घिमिरे आफ्नो पुरानो स्क्रिप्टमा फिल्म ‘पहाड’ बनाउने तयारीमा थिए। फिल्म बनाउँदा घिमिरे श्रीमती भारती घिमिरेसँग सल्लाह लिन्छन्। कुराकानीकै क्रममा भारतीले पञ्चमीलाई फिल्म खेल्न रहर भएको कुरा सुनाइन्। त्यसपछि तुलसीले छोरीलाई भने: यो स्क्रिप्ट पढ, कथा कस्तो लाग्छ!
डेब्युबारे उनले भनिन्, ‘मलाई कथा एकदमै मन पर्यो। तर बुवाले मलाई सिधै फिल्ममा राखिदिनुभएको होइन। उहाँ त मलाई मेकरको रूपमा हेर्न चाहनुहुन्थ्यो। पछि निर्माण टिमसँग कुरा हुँदै जाँदा मेरो लुक्स र अभिनयको सम्भावना देखेपछि मलाई यो रोलको लागि लिनुभएको हो।’
पञ्चमीको भरमा बुवाको ड्रिम प्रोजेक्ट
पञ्चमीका अनुसार ‘पहाड’ उनका बुवाको ड्रिम प्रोजेक्ट हो। जसले पहाडी भेगको रित्तिँदै गएका बस्ती र बसाइँसराइको कथा भन्छ। डेब्यु फिल्ममै उनले मदनकृष्ण श्रेष्ठ, सुनिल थापा र विपिन कार्की जस्ता कलाकारसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी छिन्। चलचित्रमा उनको जोडी अरुण क्षेत्रीसँग बाँधिएको छ। नयाँ भए पनि काम गर्न निकै सहज भएको सुनाउँछिन् उनी।
भन्छन्, ‘विपिन दाइको काम गर्ने शैली अनौठो छ। उहाँ आफ्नो क्यारेक्टरमा यति डुब्नुहुन्छ कि हामीले धेरै कुरा सिक्न बाँकी छ जस्तो लाग्छ। मदन दाइ र सुनिल अंकलसँगको सहकार्य मेरा लागि एउटा ठूलो पाठशाला हो। उहाँहरूबाट धेरै कुरा सिक्ने मौका पाएँ। त्यस्तै, अरुण र रेनुसँग नि काम गर्न मजा आयो।’
फिल्मी परिवारमा जन्मिनुको आफ्नै फाइदा र चुनौती हुन्छन्। तर, पञ्चमीले भने आफूलाई घाटाभन्दा फाइदा धेरै भएको दाबी गरिन्।
‘तुलसी घिमिरेकी छोरी हुनु ठूलो आशीर्वाद हो। बुवालाई यो उद्योगले एकदमै माया गर्छ। त्यो महसुस भइरहेको छ। बुवाहरूको यतिवर्षको मेहनतको फल मैले पाइरहेको छु। जसले निकै भाग्यमानी महसुस गरिरहेकी छु,’ उनले भनिन्।

डेब्यु सहज भए पनि अभिनय क्षेत्रमा टिकिरहन क्षमता नै चाहिने उनको धारणा छ।
‘बुवाको नामले मलाई अवसरको ढोकासम्म त पुर्यायो होला, तर त्यो ढोकाभित्र टिकिरहन त मेरो आफ्नै क्षमता चाहिन्छ। क्यामेराको अगाडि उभिएपछि म केबल एउटा कलाकार हुँ। त्यहाँ म कसकी छोरी हुँ भन्ने कुराले मेरो अभिनयलाई बचाउन सक्दैन। यसपछिको मेरो जुन जर्नी छ, मैले मेहनेत गर्ने हो, अडियन्सहरूले हेरेर निर्धारण गर्ने हो।’
डेब्यु फिल्म पञ्चमीका लागि जति विशेष छ। त्यति नै उनलाई आफ्नो बुवाको लिगेसी बचाउनुपर्ने चुनौती पनि छ।
‘बुवाको लिगेसी बचाउनु ठूलो कुरा हो। त्यो सोचेर पाइला चाल्दा मलाई काम गर्न निकै गाह्रो हुन्छ। बुवाले यो उद्योगलाई आफ्नो लाइफ नै दिनु भएको छ। त्यस्तो सोच्नुभन्दा पनि आफ्नो तर्फबाट के नयाँ दिन सक्छु। कसरी निरन्तरता दिन सक्छु त्यो विचार छ,’ उनले भनिन्, ‘यदि मैले बुवाले गर्नुभएको कामको २ प्रतिशत मात्रै पनि गर्न सकेँ भने त्यो मेरो लागि ठूलो उपलब्धि हुनेछ। म उहाँको बिँडो सम्हाल्न तयार छु।’
Shares

प्रतिक्रिया