राजनीति


सांस्कृतिक सद्भाव बटुल्दै बालेन

यस्तो छ सांसदको शपथ ग्रहण गर्दा सिः लाम साक्मा लगाउनुको अर्थ
सांस्कृतिक सद्भाव बटुल्दै बालेन

नेपालखबर
चैत १२, २०८२ बिहिबार १७:१९, काठमाडौँ

प्रधानमन्त्री बन्न लागेका बालेन्द्र साह (बालेन)ले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणका क्रममा छातिमा पहिरिएको एक 'सिम्बोल'को सर्वत्र चर्चा छ। उनले मुख्यतः पूर्वी पहाडि क्षेत्रतिर आम रूपमा प्रचालित ‘सिःलाम साक्मा’ पहिरिएका थिए। त्यसो त उनले प्रधानमन्त्रीको शपथ लिने क्रममा अपनाइने विधिको बारेमा पनि अहिले उत्तिकै चर्चा छ। प्रधानमन्त्री हुँदा उनले हिन्दु र बौद्ध परम्परा अनुसारका विधि अपनाउने कार्यक्रम सार्वजनिक भएको छ।
 
बालेनले चुनावी अभियानको क्रममा पनि विभिन्न समुदाय तथा क्षेत्रको भावनात्मक समर्थन जुटाउनेगरी यस्ता साँस्कृतिक र आञ्चलिक मनोविज्ञान जोडिएका विषयहरू उठाएका थिए। 

के हो सिःलाम साक्मा? 
लिम्बू भाषा तथा सँस्कृतिका अध्ययता उपप्राध्यापक अमर तुम्याहाङका अनुसार सिःलाम साक्मा किराती समुदायमा प्रचलित एक साँस्कृतिक संकेत हो। ‘सिः’ भन्नाले लिम्बू भाषामा मृत्यु भन्ने अर्थ बुझिन्छ। त्यसैगरी ‘लाम’ भन्नाले बाटो र साक्मा भन्नाले ‘छेक्नु’ भन्ने अर्थ बुझिन्छ। यसको अर्थ सिःलाम साक्मा भन्नाले ‘मृत्युको बाटो छेक्नु’ भन्ने अर्थ बुझिन्छ। लिम्बू समुदायमा यो अत्यान्तै प्रचलित साँस्कृतिक सिम्बोल हो। 

लिम्बूहरूले हरेक साँस्कृतिक कार्यक्रमहरूमा यसको प्रयोग गर्ने गर्छन्। तुम्याहाङका अनुसार उनीहरूको घर, ढोका वा अन्य विभिन्न महत्वपूर्ण स्थानहरूमा यस्तो आकृतिको प्रयोग गर्नेगर्छन्। यो चिह्नको प्रयोग गरे मृत्युलाई समेत छेक्न सकिने, विभिन्न बाधा अड्चन तथा अप्ठ्याराहरूको सामना गर्न सकिने विश्वास रहेको पाइन्छ। यसलाई छाँतिमा भिरेर हिंड्दा मानिसहरूको आयू बढ्ने तथा शत्रुको आक्रमणबाट बच्न सकिने विश्वास रहेको पाइन्छ।   

लिम्बूबाहेक पूर्वमा किराती भनेर आफूलाई चिनाउने राई, याख्खा र सुनुवार समुदायमा पनि यसको प्रचलन रहेको छ। उनीहरूले यो आकृति वा चिह्नलाई आ–आफ्नो भाषा अनुसार फरक फरक नाम दिने गर्छन्। यी मध्ये पनि राई समुदायमा थरगत भाषा अनुसार यसको नाम फरक फरक रहेको छ। चम्लिङ भाषाका जानकार तथा चाम्लिङ भाषाका पत्रिका सितमि मासिकका सम्पादक तिलक चाम्लिङका अनुसार चाम्लिङ भाषामा सिःलाम दोमा, त्यस्तै बान्तवा भाषाका पत्रिका बुङ्वाखाका सम्पादक पदम राईका अनुसार बान्तावा भाषामा सित्मङ लाम छेक्खा, भने सुनुवार भाषाका जानकार समि मुखियाका अनुसार सुनुवार भाषामा यसलाई बाँःगे भन्ने गरिन्छ। 

यीबाहेक अन्य भाषामा पनि यसको आ—आक्नै नाम छ। नाम जे भए पनि यो साँस्कृतिक चिह्नको महत्व भने किराती समुदायमा निक्कै ठूलो रहेको छ। उनीहरू यो चिह्नलाई मर्दापर्दा वा विभिन्न साँस्कृतिक अनुष्ठानमा सम्माननीय स्थानमा राखेर प्रयोग गर्छन्।

बालेनले प्रयोग गर्नुको अर्थ 

सांसदको शपथ खान जाँदा बालेनले सिःलाम साक्मा प्रयोग निक्कै चलाखिपूर्ण प्रयोग मान्न सकिन्छ। प्रत्यक्ष र समानुपातिक गरि कुल १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा एक जना पनि किराती समुदायको सांसद नभएपछि ती समुदायबाट रास्वपाको तीब्र आलोचना भइरहेको छ।

त्यसमाथि प्रधानमन्त्री बन्दै गरेका बालेनले देशको सबभन्दा ठूलो जनसंख्याको प्रतिनिधित्व गर्ने हिन्दु र बौद्ध परम्परागत विविध अनुसार शपथ लिँदासमेत उनीहरूले आफ्नो साँस्कृतिक सहभागितालाई महत्व नदिइएको टिप्पणी गरिरहेका छन्। यस्तोमा बालेनले आफूले सबै समुदाय र सँस्कृतिलाई समान ब्यवहार गर्ने देखाउन स्थान, परिस्थति र अनुकुलताको आधारमा विभिन्न साँस्कृतिक सिम्बोलहरू प्रयोग गरिरहेको देखिन्छ। यो धेरै हदसम्म सफल पनि भएको देखिन्छ। किनकी बालेनले सिःलाम साक्मा लगाएको समाचार र तस्बिर शेयर गर्दै ती किराती समुदायका मासिनहरू खुसी मानिरहेको देखिन्छ।   

यो किन पनि भन्न सकिन्छ भने बालेनले चुनाव प्रचार प्रसार गर्दा पनि साँस्कृतिक रूपमा मतदाताको मनोविज्ञान जित्ने प्रयत्न गरेका थिए। उनले पूर्व जाँदा लिम्बू समुदायले मुकुमलुङ भन्ने पाथिभरा, राई तथा किराती समुदायले साँस्कृति रूपमा निक्कै महत्व दिने ‘खुवालुङ’को भ्रमण गरेर त्यसको महत्व बढाउनेगरी अभिव्यक्ति दिएका थिए। 

सुदुर पश्चिम जाँदा ‘सुदुर अब दुर नही, झिकै झिकै मया तमिलाई’ भन्ने स्ट्याटस लेख्दै त्यहीँको बाटोमा खिचेको आक्नो तस्बिर पोष्ट गरेका थिए। यता मधेशमा त्याँहीको स्थानीय भाषा बोलेर समुदायको मन जित्ने प्रयत्न गरेका थिए।

बालेनले परिस्थिति विचार गरेर फरक फरक अवस्थामा फरक फरक समुदायको साँस्कृतिक चिह्नहरू प्रयोग गर्दा सम्बन्धित समुदायले सामाजिक सञ्जालमार्फत खुसी ब्यक्त गरेको देखिन्छ। यस अर्थमा बालेनले नेपालको साँस्कृतिक विविधतालाई सम्मान गर्दै सबैका सद्भाव बटुल्न खोजेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad