राजनीति


चिया पसल गएर चिया पिउन भ्याउने प्रधानमन्त्रीलाई चिया किसानका समस्या सम्बोधन गर्न फुर्सद छैन: निस्कल राई

चिया पसल गएर चिया पिउन भ्याउने प्रधानमन्त्रीलाई चिया किसानका समस्या सम्बोधन गर्न फुर्सद छैन: निस्कल राई

नेपालखबर
असार ३, २०८३ बुधबार १२:५८, काठमाडौँ

नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि तेस्रो देशमा निर्यातका लागि पहल गर्नुपर्ने बताएका हुन्। ‘दीर्घकालीन समस्या समाधान गरियोस। चिया टेस्टिङ ल्याब निर्माण गरियोस्। त्यस्तै गरेर तेस्रो देशमा निर्यातका लागि बजार सुनिश्चित गरियोस्,’ उनलेभने। 

भारतले चिया निर्यातमा रोक लगाएपछि इलामका चिया उद्योग बन्द हुँदा श्रमिकको बेहाल भएको स्मरण गराए। ‘गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या गरेको इलाममा चिया उद्योग र किसानले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब तीन दिन भयो,’ राईले भने, ‘भारतीय चियाँ बोर्डले एसओपी नामक नयाँ मापदण्ड लिएको छ। उनीहरूको मापदण्डभित्र नपरे चियाँ नष्ट गर्नुपर्नेसम्मको प्रावधान छ। जसका कारण इलाममा ८३ वटा भन्दा बढी चिया उद्योग बन्द गरिएका छन्।’

सरकारले यस समस्या समाधानका लागि पहल नगरेको उनको गुनासो थियो। ‘यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन। यो योसँग सातौँ पटक भयो,’ उनले भने

प्रधानमन्त्री वालेन्द्र शाहलाई चिया पिउन चिया पसल धाउने फुर्सद भए पनि चिया किसानका समस्या समाधान गर्ने फुर्सद नभएको गुनासो गरे। ‘सम्माननीय प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुभयो। तर वार्षिक तीन करोड तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाउनुभएको देखिएको छैन।’

चिया उद्योग बन्द हुँदा व्यवसायीसँगै श्रमिक पनि मर्कामा परेको उनले उल्लेख गरे। ‘चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र त्यसका काम गर्ने श्रमिकको रोजगारी गएको छ। उद्योगले बैकबाट लिएको लोनको ब्याज तिर्न सक्ने अवस्था छैन। बालबालिकाका शिक्षा, त्यहाँका मानिसहरुको रोजीरोटी त्यहीमा आश्रित छ। तर सरकार गम्भिर हुन सकिरहेको छैन,’ उनले भने। 

यस विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले वास्ता नगरेको उनको भनाइ थियो। ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई औपचारिक, अनौपचारिक भेटेर पनि भनेको छु। सँगैमा परराष्ट्रमन्त्री, ऊर्जामन्त्रीज्यूलाई पनि मैले भेटेर भनेको छु। तर हालसम्म सम्बोधन हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले तत्काल सभामुख महोदयमार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन जीटुजी पहल गरियोस्। चिया निर्यातमा डेभ्लोम्याटिक इक्सरसाईज अगाडि बढाइयोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad