राजनीति


२९ वर्षमै एमाले केन्द्रीय सदस्य बनेका रौनित साह: ‘बा’ दाहिना हुँदा फलिफापै फलिफाप

२९ वर्षमै एमाले केन्द्रीय सदस्य बनेका रौनित साह: ‘बा’ दाहिना हुँदा फलिफापै फलिफाप

जनार्दन पोखरेल
पुस २, २०८२ बुधबार १३:१, काठमाडौँ

काठमाडौँमा जारी एमालेको एघारौँ महाधिवेशनमा मधेसी युवाबाट सर्लाहीका रौनित साह र महोत्तरीका अमरकुमार यादव पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। 

एमाले विधानमा भएको नयाँ व्यवस्थाअनुसार केन्द्रीय कमिटीमा ४० वर्षमुनिका १५ युवा समेटिँदैछन्। त्यसमा साह र यादव निर्विरोध चयन भएका हुन्। अन्य १३ पदमा भने आज निर्वाचन हुँदैछ। 

२९ वर्षकै उमेरमा एमाले केन्द्रीय सदस्य भएका सर्लाही सदरमुकाम मलंगवा-३ निवासी रौनित साह एमाले सर्लाही जिल्ला कमिटीका अध्यक्ष राजनारायण साहका छोरा हुन्। 

गएको मंसिर १४ गते सर्लाहीबाट रौनित महाधिवेशनको प्रतिनिधि छनोट हुँदै गर्दा जिल्ला पार्टीमा व्यापक असन्तुष्टि देखिएको थियो। 

त्यतिबेला सर्लाहीबाट महाधिवेशन प्रतिनिधि छनोटको जिम्मा पाएका राजनारायणसहितका पाँचजना नेताले पार्टी निर्माणमा वर्षौदेखि योगदान गर्दै आएका जिल्लाका स्थापित नेता-कार्यकर्तालाई पाखा लगाएर आफ्ना परिवारका सदस्यलाई प्रतिनिधि छनोट गरेका थिए। 

‘पार्टीमा बिना योगदान रौनित पनि बुवाकै कृपाले प्रतिनिधि छानिएर यतिबेला एमाले केन्द्रीय सदस्य बन्न सफल भएका छन्,’ एमाले सर्लाहीका एक नेताले नेपालखबरसँग भने, ‘अध्यक्ष राजनारायणले आफ्ना छोरालाई महाधिवेशन प्रतिनिधि छनोट गर्दा पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आएका समिमबाबु पठान जस्ता सक्रिय युवालाई पाखा लगाइएको थियो।’

महाधिवेशन प्रतिनिधि छनोट गर्दा मात्रै होइन, अध्यक्ष साहले पार्टीले पाएका हरेक अवसरमा सर्लाहीबाट हमेसा आफ्नै छोरालाई अघि सार्दै आएका छन्। गत वर्ष पनि उनले छोरा रौनितलाई भूमि आयोग सर्लाहीको सदस्य बनाएका थिए। जसले त्यतिबेला पार्टीमा साहप्रति असन्तुष्टि चुलिएको थियो। 

हाल एमाले निकट अनेरास्ववियुका केन्द्रीय सचिव र प्रवक्तासमेत रहेका पठान पनि मलंगवा-६ का स्थायी बासिन्दा हुन्। सर्लाहीबाट एमाले महाधिवेशन प्रतिनिधि छनोटमा भएको अनियमितताप्रति उनले पनि असन्तुष्टि व्यक्त गरेका छन्। 

‘म ०६७ देखि नै निरन्तर रुपमा विद्यार्थी आन्दोलनमार्फत एमालेमा क्रियाशील छु। विद्यार्थीको जिल्ला अध्यक्ष, दुई कार्यकाल अनेरास्ववियुको केन्द्रीय सदस्य र हाल अखिलको निर्वाचित केन्द्रीय सचिवको भूमिकामा छु,’ उनले नेपालखबरसँग भने, ‘तर, इच्छा हुँदाहुँदै पनि महाधिवेशन प्रतिनिधि बन्न पाइएन।’

त्यतिबेला सर्लाहीबाट प्रतिनिधि छनोट हुँदा परिवारवाद देखिएकोमा धेरैले गुनासो गरेको उनले बताए। ‘प्रतिनिधि छनोटको त्यो निर्णयप्रति अझै पनि धेरैजना असन्तुष्ट छन्। तर, अब असन्तुष्टि जनाएर पनि काम छैन भनेर म चुप बसेको छु। तर, अब हामी पार्टीले गरेका गलत निर्णयको विरोध गर्दै जानेछौँ।’

एमालेको केन्द्रीय सदस्य बनेका रौनितले भने आफू बुवाको निगाहमा पार्टी केन्द्रीय सदस्य नबनेको दाबी गरे। 

‘म विगत १२ वर्षदेखि पार्टी संगठनमा क्रियाशील छु। नौ वर्षदेखि पार्टीको जिल्ला कमिटी सदस्य छु। म भूमि आयोग सर्लाहीको सदस्य पनि हो,’ उनले भने, ‘क्षेत्रबाट समिमबाबु पठानसहितका युवाहरूले नै मलाई प्रतिनिधिमा सिफारिस गरेका हुन्। समिमबाबु केन्द्रबाट प्रतिनिधि छनोट भएर आएको भए हुन्थ्यो। उहाँ भूगोलबाट आउँन खोज्दा प्रतिनिधिमा पर्नु भएन। यसमा मेरो के दोष छ र?’ 

आफूले भारतको बैंग्लोरबाट बीबीए गरेको भन्दै उनले यतिबेला भने पूर्णरुपमा पार्टीमै मात्र क्रियाशील रहेको बताए। ‘मेरो त्यस्तो पेशा व्यवसाय केही छैन, पूर्णरूपमा पार्टीमै सक्रिय छु,’ उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad