राजनीति


विद्युतमा लगाएको ५ प्रतिशत कर फिर्ता लिन कांग्रेसको माग

विद्युतमा लगाएको ५ प्रतिशत कर फिर्ता लिन कांग्रेसको माग

नेपालखबर
साउन ५, २०८३ मंगलबार १९:३२, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विद्युतमा लगाएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै आङदेम्बेले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि लगाइएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिन सरकारसँग माग गरेका छन्।

‘नेपाल सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क तत्कालका लागि लागू नगर्ने निर्णय गरेर जनभावनाको सम्मान गरेको छ। सरकारको यो कदम स्वागतयोग्य छ,’ आङदेम्बेले भनेका छन्, ‘अब सरकारले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तोकिएकोमा त्यो फिर्ता लिनुपर्छ।’

उनले विद्युत् अहिलेको समयमा विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति नै परस्पर विरोधाभासी देखिएको बताए। ‘विद्युत् आजको समयमा विलासिताको वस्तु होइन, आधारभूत आवश्यकता हो। खाना पकाउनेदेखि अध्ययन, सूचना–प्रविधि, साना उद्योग र विद्युतीय सवारीसाधनसम्म सबै क्षेत्र विध्युतमै निर्भर छन्,’ उनले भनेका छन्, ‘एकातिर सरकारले एलपी ग्यास र पेट्रोलियम पदार्थको विकल्पका रूपमा विद्युतको प्रयोग बढाउन आग्रह गर्ने, अर्कोतर्फ विद्युत् उपभोगमै कर थप्ने नीति भने परस्पर विरोधाभासी देखिन्छ।’

सरकारले स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने भन्दै उनले विद्युत् उपभोगमा थपिएको कर तत्काल फिर्ता लिनुपर्नेमा जोड दिए। ‘त्यसैले ५० युनिट बढी विद्युत खपत गर्ने उपभोक्ताबाट ५ प्रतिशत कर असुल्ने कदम सरकारले फिर्ता लिनुपर्छ,’ उनले भनेका छन्। 

प्रधानमन्त्री बालेनले मंगलबार शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क लागू नगर्ने बताएका थिए। यसपछि नेता आङदेम्बेले विद्युतमा लगाएको कर पनि फिर्ताको माग गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad