नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्लाहीबाट प्रतिनिधि छनोट गर्दा ‘हाइकमाण्ड’मा रहेका नेताहरूले मनोमानी गरेको खुलेको छ।
प्रतिनिधि छनोटको डाडुपन्यु हातमा लिएका नेताहरूले आफूसहित आफ्नो परिवारका सदस्यलाई प्रतिनिधि बनाउँदा पार्टी निर्माणमा वर्षौदेखि त्याग-तपस्या गर्दै आएका जिल्लाका स्थापित धेरै नेता छुटेका छन्।
यसप्रति एमाले जिल्ला पार्टीमा तिव्र असन्तुष्टि देखिएको छ।
एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले आफूसहित आफ्ना छोरा रौनित साहलाई पनि एमालेको महाधिवेशन प्रतिनिधि बनाएका छन्।
साहले यसअघि छोरा रौनितलाई भूमि आयोग सर्लाहीको सदस्य पनि बनाएका थिए। जसको त्यतिबेला पार्टीमा व्यापक आलोचना भएको थियो।
त्यसैगरि एमालेका केन्द्रीय सदस्यसमेत रहेका पूर्वरक्षामन्त्री हरि उप्रेतीले बहिनी शारदा कुमारी उप्रेतीलाई प्रतिनिधि बनाएका छन्। शारदा हरिकी काकाकी छोरी हुन्। ०७९ काे निर्वाचनमा सर्लाहीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका उप्रेती प्रतिनिधि छनोट गर्ने हाइकमाण्डमा थिए।
सर्लाहीमा एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्ने जिम्मा पार्टी केन्द्रीय सदस्यत्रय उप्रेती, कमलादेवी महतो र रञ्जना सरकार, जिल्ला अध्यक्ष राजनारायण साह, महिला नेतृ एवं बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालले पाएका थिए।
खुलाबाट प्रतिनिधि छनोट हुने माधव सरकार प्रतिनिधि छनोटको हाइकमाण्डमा रहेकी रन्जना सरकारका सहोदर दाजु हुन्।
प्रनिनिधि बन्नबाट बञ्चित एमाले सर्लाहीका स्थापित नेता डिल्ली उप्रेतीले प्रतिनिधि छनोटमा भएको मनोमानीबाट आफूलाई दिक्क लागेको बताए। उनले प्रतिनिधि छनोटको जिम्मेवारी पाएकाहरूलाई ‘कसाई’ को संज्ञा दिए।
‘काटिने तयारीमा रहेको बोकाले कसाईको अगाडि अनुनय विनय गरेर न्याय पाउँदैन,’ नेता उप्रेतीले भने, ‘प्रतिनिधिको लिस्ट पूर्वाग्रही ढंगले बनेको छ। कार्यकर्ताबाट भोटिङ भएर हारेको भए पनि चित्त बुझ्थ्यो। तर, चुनाव हुँदा म हार्दिनथेँ भन्नेमा दृढ छु,’ उप्रेतीले नेपालखबरसँग भने, ‘उनीहरूले गरेको निर्णयमा मेरो चित्त बुझेको छैन। तर, अब केही समय चुप लागेरै बस्छु। यहाँ सधैँ यिनीहरूकै साम्राज्य त नहोला नि।’
हाइकमाण्डमा रहेका नेताहरूले आफूखुसी प्रतिनिधि छान्दा एमालेका स्थापित र प्रभावशाली धेरै नेता छुटेका छन्।
नेताहरू मानबहादुर खड्का, प्रकाश पाख्रिन, गोविन्द अधिकारी, गोविन्द महत, नवराज मिश्र, चुडामणि वाग्ले, सरस्वती सुब्बा, पार्वती विश्वकर्मा, समिरबाबु खानसहितका नेता प्रतिनिधि बन्नबाट बञ्चित भएका छन्।
खान अनेरास्ववियुको केन्द्रीय सचिव एवं प्रवक्तासमेत हुन्। सर्लाहीबाट महाधिवेश प्रतिनिधि बन्ने उनको अपेक्षामा नेताहरूमा परिवारवाद हाबी हुँदा धक्का लागेको छ।
Shares

प्रतिक्रिया