सत्तारूढ नेकपाका स्थायी समिती सदस्यहरूले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गराउने अडानबाट पछि नहट्न सुझाव दिएका छन।
बिहीबार खुमलटारस्थित प्रचण्ड निवास पुगेर स्थायी समिती सदस्यहरु भिम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, मातृका यादव, हरिबोल गजुरेल र केही केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा सम्बन्धी शर्तबाट दायाँबायाँ नगर्न सुझाव दिएका हुन्।
बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका बहुमत सदस्यले प्रधानमन्त्री ओलीले राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए।
प्रधानमन्त्री ओलीले आफूले राजीनामा गर्नै परे कोरोना संकट टरेपछि गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए।
ओलीले भैसेपाटी गठबन्धन भत्काउने र स्थायी समितिको बैठक टार्ने षडयन्त्र अनुसार सो प्रस्ताव ल्याएको भन्दै छलफलमा सहभागी नेताहरुले प्रचण्डलाई शनिबार बस्ने बैठकमा अझै अडानसहित प्रस्तुत हुन सुझाव दिएको सहभागी एक स्थायी समिती सदस्यले बताए।
‘भिम रावलजी र सुरेन्द्र पाण्डेजीले प्रष्टसँग अडान राख्न भन्नुभयो,’ सहभागी स्थायी समिती सदस्यले नेपालखबरसंग भने, ‘अरु साथीहरुले पनि स्थायी समितिको बैठक २० गतेकै सचिवालय बैठकले नै तोक्नुपर्नेमा जाेड दिनुभयो।’
ती सदस्यका अनुसार सबै नेताले गठबन्धनलाई थप मजबुत बनाउन जोड दिएका थिए।
अध्यक्ष प्रचण्डले सचिवालय बैठकको बारेमा जानकारी दिएका थिए। त्यहाँ सहभागी नेतालाई प्रचण्डले गठबन्धनको एकता नखल्बलिने भनी आश्वस्त पारेका थिए।
‘गठबन्धनमा कुनै समस्या छैन, वामदेवजीलाइ प्रधानमन्त्री बनाउने प्रधानमन्त्री आफैंले प्रस्ताव गरेका छन् यो गठबन्धन टुटाउने खेल हो, सजग रहनुपर्छ,’ प्रचण्डले भनेका थिए।
प्रचण्डलाई भेट गरेर स्थायी समिती सदस्य पाण्डे उपाध्यक्ष गौतमलाई भेट्न भैसेपाटी पुगेका थिए।
उता बिहीबार नै प्रचण्ड–नेपाल–गौतम समुहका केही नेताहरू एकान्तकुनामा रहेको एक घरमा बसेका थिए।
प्रधानमन्त्रीले गौतमलाई साँच्चिकै प्रधानमन्त्री बनाउन चाहेकाे भए उनलाई तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न लगाउनुपर्ने सुझाव दिएकाे एक नेताले बताए।
बिहीवार नै प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए।
नेपालले प्रधानमन्त्रीले सारेको तेस्रो अध्यक्ष स्वीकार नगर्ने बताउँदै राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको नेपाल निकट स्रोतले जनाएको छ।
बिहीवार नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच पनि छलफल भएको छ।

प्रतिक्रिया