राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का तीनजना पूर्वअध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकतामा जोड दिएका छन्।
राप्रपाको आउँदो महाधिवेशनले विश्वास जगाउने स्पष्ट वैचारिक मार्गदर्शन, सुदृढ संगठनात्मक दृष्टि र व्यवहारिक कार्ययोजना पेस पेस गर्ने दाबी गर्दै उनीहरूले पार्टी छोडेकालाई फर्किन पनि आग्रह गरेका छन्।
पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।
शनिबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो।
तीनजना पूर्वअध्यक्षले महाधिवेशन गर्ने निर्णय स्वागतयोग्य रहेको पनि बताएका छन्। यसअघि उनीहरुराप्रपाको केन्द्रीय समितिको बैठक भने बहिष्कार गरेका थिए।
‘राप्रपा तथा यसको विचार, आदर्श र लक्ष्यप्रतिको हाम्रो प्रतिबद्धता सधैँ अटल र अविचल छ,’ तीनजना पूर्वअध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशन समयमै नहुने वा निष्पक्ष रूपमा सम्पन्न नहुने आशङ्काका कारण केही साथीहरूले पार्टी परित्याग गरिसकेका छन् भने अन्य कतिपयमा पनि निराशा बढिरहेको छ । यस्तो परिस्थितिको समाधानका लागि पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरूसमेत रहनेगरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी ९मार्गदर्शन समिति० गठन गर्नु उपयुक्त हुनेछ भन्ने हाम्रो सुझाव हो । दुर्भाग्यवश, यस्ता रचनात्मक सुझावहरूलाई आत्मसात् गर्नुको सट्टा पार्टी निर्माण र सुदृढीकरणका लागि जीवनको महत्त्वपूर्ण समय, रगत र पसिना समर्पित गरेका पूर्वअध्यक्षहरूमाथि नै लक्षित गरी जिम्मेवार व्यक्तिहरूबाट लाञ्छना र आरोप लगाउने प्रवृत्ति देखिनु अत्यन्त दुःखद र अस्वीकार्य छ।’
महामन्त्री धवलशमशेर राणाले पार्टी छोडेपछि उनीहरू अध्यक्ष राजेन्द्र लिङ्देनसँग तीन पूर्व अध्यक्ष थप आक्रोशित भएका थिए। त्यही कारण उनीहरूले केन्द्रीय समितिको बैठक पनि बहिष्कार गरेका थिए। तर, बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेपछि उनीहरूले संयुक्त विज्ञप्ति निकालेर महाधिवेशनमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका हुन्।
विज्ञप्तिमा पार्टी कमजोर बन्दै गएको र कार्यकर्तामा निराशा बढिरहेको अवस्थामा आफूहरू मूकदर्शक बनेर बस्न नसक्ने उल्लेख गर्दै उनीहरुले कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटगत राजनीति नगर्ने दाबी गरेका छन्।
‘पार्टी कमजोर बन्दै गएको र कार्यकर्तामा निराशा बढिरहेको वर्तमान अवस्थामा हामी मूकदर्शक बनेर बस्न वा पलायन हुन सक्दैनौँ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा पूर्वाग्रह छैनस हामी कुनै गुट वा समूहको राजनीतिमा पनि संलग्न छैनौँ।’


Shares

प्रतिक्रिया