छापा खबर


कोरोनाको प्रभाव : विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

कोरोनाको प्रभाव : विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार २३:५६,

संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ।

महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवर र नारायण सिवाकोटीले लेखेका छन्।

महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । आइएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् ।

उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पुर्‍याएको छ । अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आय गर्ने अन्य माध्यम नहुने भएकाले ती कामदार र तिनमा आश्रित परिवारको बाँच्ने आधार नै गुमेको हो ।

रोजगारीमा परेको कोरोनाको प्रभाव निकै दूरगामी, व्यापक र अपूर्व रहेको आइएलओको ठहर छ । विश्वमा अहिले पारिश्रमिक न्यून हुने र रोजगारीको कुनै सुरक्षा नभएका होलसेल र रिटेल व्यापारको क्षेत्रमा ४८ करोड २० लाख मानिस काम गर्छन् ।

त्यसैगरी, म्यानुफ्याक्चरिङमा ४६ करोड ३० लाख कामदार छन् भने यातायात, स्टोरेज र सञ्चार उद्योगमा काम गर्नेको संख्या २० करोड ४० लाख छ ।

अनौपचारिक क्षेत्रका दुई अर्ब कामदारमध्ये अधिकांश उदीयमान एवं विकासशील मुलुकका हुन् । भारत, नाइजेरिया र ब्राजिलजस्ता विकासशील मुलुकको रोजगारी, आय एवं जनजीविकामा अनौपचारिक क्षेत्रको भूमिका महत्वपूर्ण छ।

भारतको श्रमबजारमा अनौपचारिक क्षेत्रको हिस्सेदारी ९० प्रतिशतभन्दा धेरै छ । आइएलओले अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई यो संकटले गरिबीमा धकेल्न सक्ने खतरा औँल्याएको छ।

आइएलओले साना उद्यम एवं अनौपचारिक क्षेत्रका कामदारलाई तत्कालै सहयोग गर्नु आवश्यक रहेको जनाउँदै सहयोगका लागि सम्बन्धित मुलुकलाई आह्वान पनि गरेको छ। उसले सबल रोजगार नीति एवं प्रभावकारी सामाजिक सुरक्षा प्रणाली ल्याउन पनि सुझाब दिएको छ।

‘करोडौँ मानिसका लागि काम नहुनुको अर्थ खानेकुरा, सुरक्षा एवं भविष्य केही पनि नहुनु हो । उनीहरूसँग कुनै बचत हुँदैन र कर्जामा पनि पहुँच हुँदैन । विश्वको वास्तविक मुहार यही हो । उनीहरूलाई हामीले अहिले सहयोग नगर्ने हो भने उनीहरू मर्नेछन्,’ आइएलओले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad