राजनीति


रास्वपा महामन्त्रीमा मनीष र विपिनको दाबी

रास्वपा महामन्त्रीमा मनीष र विपिनको दाबी

लोकेन्द्र भट्ट
असार ८, २०८३ सोमबार १४:३५, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा मनीष झा र विपिन आचार्यले दाबी गरेका छन्। केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका दुवै जनाले ‘महामन्त्री बन्ने’ भन्दै मत मागिरहेका छन्। 

भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा रास्वपाको बन्दसत्र तय गरिएको छ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधि प्रदर्शनी केन्द्रमा छन्। 

रास्वपा पदाधिकारीका आकांक्षी नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर मत मागिरहेका छन्। रास्वपामा केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था छ। पहिले केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। 

केन्द्रीय सदस्यको उम्मेदवार बनेका झा र आचार्यले आफूलाई महामन्त्रीको उम्मेदवारका रुपमा उभ्याएका छन्। अहिले झा प्रवक्ता छन् भने आचार्य सहमहामन्त्री छन्। 

दुवै जना महामन्त्रीको बनाउनका लागि ‘केन्द्रीय सदस्य जिताइदिनुहोस्’ भनेर भोट मागिरहेका छन्। रास्वपा विधानअनुसार, पदाधिकारीको उम्मेदवार हुनका लागि पहिला केन्द्रीय सदस्य निर्वाचित हुनुपर्छ। 

रास्वपा प्रवक्ता झाले आफू महामन्त्रीको स्वभाविक दावेदार भएको बताए। ‘आम कार्यकर्ताले यसअघि मलाई मन्त्रीको रुपमा देख्न चाहनुभएको थियो। मन्त्री बन्नुभएन अब महामन्त्री बन्नुपर्छ भन्नुभएको छ,’ झाले नेपालखबरसँग भने, ‘म त्यसैको तयारीमा छु। मेरो महामन्त्रीको दाबी स्वाभाविक हो।’

त्यस्तै, आचार्यले पनि आफू स्वाभाविक रुपमा महामन्त्रीको दावेदार भएको बताए। ‘म महामन्त्रीको स्वाभाविक दावेदार हुँ, कार्यकर्ताले पनि दबाब दिइरहेका छन्,’ उनले भने।

केन्द्रीय सदस्यका लागि मत माग्दै जाँदा प्रतिनिधिले पनि महामन्त्रीको उम्मेदवार बन्न आग्रह गरिरहेको देखिन्छ। उनले प्रतिनिधिसँग भने, ‘अहिले केन्द्रीय समितिमा मलाई जिताउनुहोस्। मलाई महामन्त्रीको रुपमा देख्ने कि कहाँ देख्ने तपाइँहरूको हातमा छ।’

रास्वपा महाधिवेशनको दोस्रो दिन सोमबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका थियो। तर, दिउँसोसम्म सुरु भएको छैन। 

तथापि, रास्वाप नेताहरू महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन्। महाधिवेशन प्रतिनिधिको निर्क्योल गर्न हम्मेहम्मे भइरहेको छ। प्रतिनिधिको परिचयपत्र वितरण जारी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad