राजनीति


बालेनको शासन शैलीमा रविको सहीछाप, सरकार अझै आक्रामक हुने संकेत

बालेनको शासन शैलीमा रविको सहीछाप, सरकार अझै आक्रामक हुने संकेत

लोकेन्द्र भट्ट
असार ७, २०८३ आइतबार २२:२४, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहको शासन शैलीका पक्षमा दृढतापूर्वक उभिएका छन्। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति लामिछानेले सरकार चलाउने जिम्मा प्रधानमन्त्री शाहको भएको बताउँदै सत्ता सञ्चालनमा आफ्नो रुचि नभएको प्रस्ट पारे।

बालेन सरकारको शासन शैलीमाथि महाधिवेशनमा शुभकामना दिन आएका अन्य नेताहरूले उठाएको प्रश्न र आशंकाबारे पनि लामिछानेले प्रस्ट्याएका थिए।

‘सरकार सञ्चालन गर्न चुनावअगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ उनले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।’

लामिछानेले अगाडि भने, ‘यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु।’

यस्तै प्रधानमन्त्री शाहले आफ्नो सरकार लोकल रुटको गाडी नभई एक्सप्रेस वेमा चलिरहेको गाडी भएकाले गन्तव्यमा नपुगी ब्रेक नलाग्ने बताए। त्यसअघि एमाले नेता प्रदीप ज्ञवालीले ब्रेक नथिचे सरकारको गाडी दुर्घटना हुनसक्ने चेताएका थिए।

‘सरकार भनेको त गाडी जस्तो हो। गाडीमा त ब्रेक पनि हुन्छ। ब्रेक पनि लगाउनु पर्छ भनेर चिन्ता व्यक्त गरेका छन्,’ जवाफमा बालेनले भने, ‘त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा सिधा गइरहेको गाडीमा अरू आए भने ब्रेक लगाउनु पर्ने हुन्छ। तर हाम्रो गाडी लोकल रुटमा हिँडेको गाडी होइन एक्सप्रेस रुटमा हिँडेको गाडी, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन।’

प्रधानमन्त्री शाहले रास्वपा कुन धारको पार्टी हो भन्ने प्रश्नको जवाफ पनि दिएका छन्। रास्वपा विकासवादी पार्टी भएको उनको भनाइ छ। 

‘हाम्रो पार्टीको बारेमा यो कस्तो हो राइट हो कि लेफ्ट हो भनेर चिन्ता गर्नेहरू पनि छन्। हाम्रो पार्टी विकासवादी पार्टी हो। विकास गर्ने पार्टी हो। हाम्रो पार्टी अघि बढ्ने पार्टी हो, प्रतिशोध साध्ने पार्टी होइन। पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने पार्टी होइन,’ उनले भने।

निहुँ खोज्नै पर्ने घटनामा भने निहुँ पनि खोजेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठेको विषयमा प्रधानमन्त्री शाह आक्रामक रूपमा प्रस्तुत भए।
 
‘सरकारी जमिन दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौँ। यसरी निहुँ खोज्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्ने भए गर्छौं। ५ घण्टा मात्रै होइन आवश्यक परे ५ वर्ष पनि गर्छौं। यसो गर्दा नियम कानुन मिच्दैनौँ, नियम कानुनमै बसेर गर्छौं। सामाजिक सञ्जालमा देख्दा नियन्त्रण बाहिर गयो कि भनेजस्तो लागेको मात्रै हो, त्यसो होइन, सबै नियन्त्रणमै छ। चिन्ता कुनै विषयमा लिनु पर्दैन,’ उनले भने।

यस्तै सभापति लामिछानेले रास्वपा प्रतिशोध र दम्भभन्दा माथि उठेर नागरिक जिम्मेवारी पूरा गर्ने अदम्य जनमतका साथ उपस्थित भएको बताए। 

‘म मञ्चमा आसीन नेपाली राजनीतिका शीर्ष नेतृत्वहरूलाई साक्षी राखेर भन्न चाहन्छु— निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा सुरक्षित छ,’ उनले भने।

लोकतन्त्रका स्थायी मान्यता, शक्ति पृथकीकरणको सिद्धान्त, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकार र समावेशी समाजका उपहारहरू पुराना नेतृत्वले दिएको उनले बताए।

उनले भने, ‘हामी यी उपलब्धिहरूको जगेर्ना गर्नेछौँ र यसको परिधिभन्दा बाहिर जाने छैनौँ। यसअघिका आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा छैन र त्यस्तो कदम हामी कदापि चाल्ने छैनौँ।’

सभापति लामिछानेको अभिव्यक्तिबाट सरकारप्रति उनको दृढ विश्वास व्यक्त भएको रास्वपा नेताहरूको भनाइ छ। यसले सरकार थप आक्रामक रुपमा अघि बढ्ने संकेत देखिएको विश्लेषकहरू बताउँछन्।

रास्वपाका सांसद गणेश कार्कीले प्रधानमन्त्री शाह र सभापति लामिछानेको अभिव्यक्ति अर्थपूर्ण भएको बताए।

‘सरकार र पार्टी एकताबद्ध बनाउने विषयमा प्रधानमन्त्री र सभापतिले सबै आशंका, टिकाटिप्पणीको निवारण गरिदिनुभएछ। पार्टी एकताबारे प्रधानमन्त्री र सरकारबारे सभापतिले अर्थपूर्ण सम्बोधन गर्नुभएछ। यो आवश्यक पनि थियो,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad