राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशन एक दिन लम्बिने भएको छ।
आइतबार सुरु भएको महाधिवेशन मंगलबारसम्म सकिने मिति तय भएको थियो। तर, बन्दसत्रमा ढिलाइ हुँदा लम्बिने भएको हो। रास्वपा प्रवक्ता मनिष झाले महाधिवेशन एक दिन लम्बिएको जानकारी दिए।
यससँगै महाधिवेशन प्रतिनिधिको संख्या पनि बढ्दै गएको छ। प्रतिनिधिको संख्या चार हजार पाँच सय पुग्ने अनुमान गरिएको उनको प्रवक्ता झाको भनाइ छ।

‘सुरुमा तीन हजार प्रतिनिधि हुनुहोला भन्ने थियो, तर धेरै प्रतिनिधि आउनुभयो। आकलनभन्दा उत्साहजन सहभागिता नकार्न सकिन्न,’ उनले भने।
महाधिवेशन व्यवस्थापनमा पनि समस्या देखिएको छ। व्यवस्थापन भद्रगोल हुँदा प्रतिनिधिको संख्या बढ्नेदेखि महाधिवेशन लम्बिने भएको हो।

‘केही कमजोरी भएको छ। हाम्रो व्यवस्थापनमा कमजोरी भयो’, प्रवक्ता झाले भने, ‘यसले महाधिवेशन लम्बिने भएको छ।’
सोमबार बिहान साढे ८ बजे सुरु हुने भनिएको बन्दसत्र अझै चलेको छैन। बन्दसत्र नै कतिबेला सुरु हुने अनिश्चित छ।
बन्दसत्रस्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह अहिलेसम्म आएका छैनन्। प्रतिनिधिहरू मत मागिरहेका छन्।


Shares

प्रतिक्रिया