राजनीति


रवि र बालेन एउटै रिसोर्टमा

रवि र बालेन एउटै रिसोर्टमा

नेपालखबर
असार ७, २०८३ आइतबार २१:२७, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एउटै रिसोर्टमा बसेका छन्।

भरतपुर महानगरपालिकाबाट १८-१९ किलोमिटर टाढा रहेको लटौली सेन्चुरी रिसोर्टमा दुवै जना परिवारसहित बसेका हुन्।

यद्यपि रविका लागि अर्को होटेल पनि बुक गरिएको छ। अहिले रवि र बालेन छलफलमै रहेको सुरक्षा स्रोतले जनाएको छ।

केही दिन अघिमात्र सञ्चालनमा आएको सो रिसोर्टमा जम्मा १३ वटा कोठा बुकिङ गरिएको छ। गृहमन्त्री सुदन गुरुङ पनि सोही रिसोर्टमा बसेका छन्। 

चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरेका अनुसार सो रिसोर्टमा बुकिङ नगरी प्रवेश पाइँदैन। विदेशी पाहुनाका लागि प्रतिकोठा २५० डलर राखिएको छ। 

रास्वपाको पहिलो महाधिवेशन उद्घाटन समारोह सकिएलगत्तै सभापति लामिछाने र प्रधानमन्त्री बालेन रिसोर्टतिर लागेका थिए।

‘सभापतिज्यू र सम्माननीय प्रधानमन्त्री एउटै रिसोर्टमा बस्नु भएको छ,’ रवि निकट एक पदाधिकारीले भने।

श्रीमती सबिना र छोरीसहित आएका प्रधानमन्त्री बालेन आइतबार बिहान महाधिवेशनका लागि चितवन ओर्लिएर सिधै रिसोर्ट हान्निएका थिए।

सभापति रवि लामछिाने भने शनिबार बिहान चितवन आइपुगेका हुन्।

शनिबार २ बजेदेखि बेलुका साढे ७ सम्म अन्तिम केन्द्रीय समिति बैठक राखेर संशोधित विधान अनुमोदन गरेका थिए। 

आज (आइतबार) दिउँसो २ बजे सुरु हुने भनिएको महाधिवेशनको उद्घाटन समारोह डेढ घण्टापछि सुरु भएको थियो।

सभापति र प्रधानमन्त्री एउटै गाडीमा महाधिवेशन उद्घाटनस्थल पुगेका थिए। गाडी प्रधानमन्त्री बालेन आफैँले हाँकेका थिए।

रास्वपाको सोमबारबाट बन्दसत्र सुरु हुँदैछ। बिहान सभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

बन्दसत्र सुरु हुनुअघि सभापति र प्रधानमन्त्री एउटै रिसोर्टमा बसेका हुन। सभापतिमा रवि र वरिष्ठ नेतामा बालेन सर्वसम्मत चयन हुने निश्चित छ।

तर केन्द्रीय समितिमा आकांक्षी धेरै छन्। मन्त्री र सांसद तथा प्रतिनिधिहरू केन्द्रीय सदस्यको दाबेदार देखिएपछि चुनाव गर्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad