राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र चितवनको भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी हलमा जारी छ। आइतबार उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज बिहानदेखि भइरहेको हो।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले केन्द्रीय समितिका आकांक्षीहरू यतिबेला उम्मेदवारी घोषणा गर्दै मत माग्न व्यस्त देखिएका छन्।
केन्द्रीय सदस्यका लागि २१ वर्षका जेनजीदेखि ७० वर्षका ज्येष्ठ नागरिकसम्मले उम्मेदवारी दिने तयारी गरिरहेका छन्।
डोल्पाको ठुलोभेरी नगरपालिका–६ का ७० वर्षीय चन्द्रबहादुर रोकायाले केन्द्रीय सदस्य पदमा मत मागिरहेका छन्। कर्णाली प्रदेशबाट महाधिवेशन प्रतिनिधि बनेका उनी महाधिवेशनस्थलमा बिहानैदेखि मत माग्न व्यस्त भएका हुन्।
अपांगता कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको उनले बताए।
‘लामो समय अरू पार्टीमा रहेर काम गरेँ। जब रास्वपा पार्टी बन्यो, तबदेखि पार्टीमा सक्रिय भएर काम गरिरहेको छु, रोकायाले नेपालखबरसँग भने, ‘हुन त हाम्रो पार्टी युवा आउनपर्छ भन्ने पार्टी हो। तर म पनि पार्टी निर्माणमा योग्य छु भनेर उम्मेदवार भन्ने घोषणा गरेको हुँ।’
यस्तै २१ वर्षीय विराज पौडेल पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छन्।
यसअघि रास्वपाका कुनै पनि समितिमा नरहेका उनले युवाको रोजाइका कारण उम्मेदवारी दिन आवश्यक ठानेको बताए।
मेरो उम्मेदवारी जेनजी युवाको मागका कारण हो, लोकतन्त्रमा व्यक्तिभन्दा पनि प्रक्रिया बलियो हुन्छ, उनले नेपालखबरसँग भने, यहाँ प्रतिनिधि छनोट भएर आउनुभएकाहरू शिक्षित हुनुहुन्छ। त्यसैले युवाको आवश्यकता, जोस, जाँगर र क्षमताको कदर गर्नुहुन्छ भन्नेमा म ढुक्क छु। म यो पार्टीलाई लोकतन्त्रको नमुना पार्टी हो भन्नेमा पनि प्रमाणित गर्न चाहान्छु। त्यसैले मेरो उम्मेदवारी रहन्छ।’
उनी दाङको घोराही उपमहानगरपलिकाबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट भएर चितवन आएका हुन्। उनले खुला सदस्यमा उम्मेदवारी दिने र सदस्यमा निर्वाचित भए दोस्रो चरणको निर्वाचनमा पदाधिकारीमा समेत दाबी गर्ने तयारी रहेको बताए।
यस्तै लुम्बिनी प्रदेशबाट प्रतिनिधि छनोट भएर आएकी २९ वर्षकी सन्धिका ढकाल पनि महिला सदस्यमा उम्मेदवारी दिने तयारीमा छिन्। उनले जेनजी आन्दोलनका बेला लुम्बिनीमा नेतृत्व गरेकी थिइन्।
‘उमेर कम छ, अनुभव कम भनेर हामीलाई माथि जान दिइएन भने रास्वपा पनि अरू पार्टीजस्तै भइहाल्छ नि, उनले भनिन्, ‘अनुभव त पार्टीको समितिमा बसेर काम गरेपछि जानिने कुरा हो। सोही कारण महिला सदस्यमा उम्मेदवारी दिन लागेकी हुँ।’
बाराको पर्सौनी गाउँपालिका-५ बाट प्रतिनिधि छनोट भएर आएका २९ वर्षका दिलपाल शाह पनि केन्द्रीय सदस्य पदको आकांक्षी हुन्।
रास्वपाले नयाँ कार्यसमिति समावेशी बनाउने योजना बनाएकाले ढुक्कले उम्मेदवारी दिने तयारी गरिएको उनले बताए।
‘म मधेसबाट आएको प्रतिनिधि हुँ। हाम्रो पार्टी यसै पनि युवा र समावेशीताको विषयमा गम्भीर भएको पार्टी हो, उनले भने, ‘यो कारण पनि म मधेसी छोरालाई देशभरबाट आउनुभएका प्रतिनिधिले जिताउनुहुन्छ भन्ने लागेर नै उम्मेदवारी दिने तयारी गरेको हुँ।’
यी त रास्वपा महाधिवेशनमा भेटिएका केही प्रतिनिधि पात्र मात्र हुन्। यतिबेला महाधिवेशनमा उपस्थित ४ हजारभन्दा बढी प्रतिनिधि उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन्। जसमा २०/२२ वर्षका युवादेखि ७०/७२ वर्षका ज्येष्ठ नागरिकसम्म छन्।
बन्दसत्रअन्तर्गत प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम भइरहेको छ।

प्रतिक्रिया