प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन्।
सोमबार इलाम नगरपालिकाको नगरसभामा बोल्दै नेता आङदेम्बेले संसदभित्र प्रतिपक्षीले उठाएका विषयहरू जनताकै आवाज भएको दाबी गरे। देशभरका किसान विभिन्न समस्याबाट पीडित भइरहेका बेला राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको उनको भनाइ थियो।
‘देशमा जसरी किसानहरू प्रताडित भइरहेका छन्, यसले हाम्रो अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्याइरहेको छ। त्यसप्रति अहिले पनि राष्ट्र संवेदनशील भइरहेको छैन भन्ने अनुभूति हामीले गरिरहेका छौँ,’ आङदेम्बेले भने।
सरकार ठूलो जनमतबाट निर्वाचित भएर गठन भए पनि जनताप्रति उत्तरदायी बनाउने जिम्मेवारी प्रतिपक्षको भएको उनको भनाइ थियो। ‘संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो। सरकारलाई जनताप्रति गरिएको प्रतिबद्धतामा अझ खरो रूपमा उत्रिन सचेत गर्ने काम प्रतिपक्षीको हो र त्यो काम हामीले निरन्तर गरिरहेका छौँ,’ उनले भने।
उनले सरकारप्रति देशभरका नागरिकको असन्तुष्टि बढ्दै गएको देखिएको जिकिर गरे। मत परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ थियो।
‘पार्टी परिवर्तन नै मत परिवर्तनको अभ्यास रहेछ तर त्यसले मात्रै समस्या समाधान नहुने रहेछ भन्ने निष्कर्षमा नेपाली जनता पुग्न थालेको अनुभूति भइरहेको छु,’ आङदेम्बेले भने।
उनले विगतमा राजनीतिक दलले जनताको विश्वासको सम्मान गर्न नसक्दा नागरिक नयाँ दलतर्फ आकर्षित भएको बताए। ‘जनताले दिएको अभिमतको सम्मान गर्न नसक्दा नै जनताको आक्रोश र निराशा नयाँ पार्टीहरूतर्फ गएको हो,’ उनले भने।
कांग्रेस अहिले सरकारको विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको पनि उनको भनाइ थियो। संसदमा आफूले व्यक्त गरेका धारणा र कांग्रेस सभापति गगन थापाले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा व्यक्त गरेको सन्देश एउटै रहेको उनले सुनाए।
‘अहिलेको प्रतिपक्ष विरोधका निम्ति विरोध गर्न आएको होइन, परिणामका निम्ति साथ दिन आएको हो,’ आङदेम्बेले भने, ‘कांग्रेस परिणाम प्राप्त गर्नका निम्ति सरकारलाई विरोधीका रूपमा होइन, सहयोगीका रूपमा साथ दिन तयार छ।’
Shares

प्रतिक्रिया