फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहानसम्म ६ वटा समूहका दोस्रो चरणका खेल सकिएका छन्।
६ समूहका २४ टोलीमध्ये विश्वकप आयोजकहरू मेक्सिको र अमेरिकासँगै जर्मनीले समूहको अन्तिम खेलपहिले नै नकआउटमा स्थान बनाइसकेका छन्।
दोस्रो चरणमा नै लगातार हार भोग्दै समूह ‘सी’को हाइटी, ‘डी’को टर्की र समूह ‘एफ’को ट्युनिसिया समूह चरणबाटै बाहिरिएका छन्।
आइतबार बिहानको अन्तिम खेलमा एसियाली टोली जापानसँग ४–० को फराकिलो हार भोग्दै ट्युनिसिया समूह चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो।
बिहान भएको अर्को खेलमा इक्वेडर र कुराकाओले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। पहिलो पटक विश्वकप खेलेको कुराकाओ पहिलो खेलमा जर्मनीसँग ७–१ को फराकिलो अन्तरले पराजित भएको थियो।
दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको कुराकाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै विश्वकपमा पहिलो अंक जोडेको हो।
यसअघि समूह ‘सी’मा पाँच पटकको च्याम्पियन ब्राजिलसँग पराजित हुँदै हाइटी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ।
समूह ‘डी’को अर्को खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की पनि नकआउटमा पुग्न असफल भयो।
समूह ‘ई’बाट आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको जर्मनीले नकआउटमा स्थान बनाएको छ। खेलको पहिलो हाफमा भने जर्मनी १–० ले पछि थियो। वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका डेनिज उन्डभले २ गोल गरेपछि जर्मनीले १२ वर्षपछि नकआउटको ढोका खोलेको छ। अर्को खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि ५–१ को फराकिलो जित दर्ता गर्यो।
समूह ‘एफ’बाट नेदरल्यान्ड्स र जापानले समान ४ अंक जोडेका छन्। एक खेलमा जित हात पारेको स्विडेन ३ अंकसहित तालिकामा तेस्रो स्थानमा छ। बाँकी टोलीको नकआउट चरण पुग्ने वा समूहचरणबाटै बाहिरिने भन्ने तेस्रो चरणका खेलपछि मात्रै तय हुनेछ।
हरेक समूहबाट दुई दुई टोली सिधै नकआउटमा पुग्नेछन्। तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टोलीले पनि नकआउटमा स्थान बनाउनेछन्।
अब तीन दिनमा ६ समूहका दोस्रो चरणका खेल भइसक्नेछन्। आइतबार राति र सोमबार बिहान समूह ‘जी’ र ‘एच’का खेल हुनेछन्।
विश्वकपको पहिलो राउन्ड सकिँदा यी दुवै समूहका ८ टोलीसँग समान एक अंक छ। त्यसैले नकआउट चरणमा स्थान बनाउन सबै टोलीलाई स्पष्ट जितको आवश्यक छ।
दोस्रो चरणको खेलमा हार भोग्ने टोलीलाई विश्वकपको अघिल्लो चरणको यात्रा थप कठिन बन्नेछ। त्यसैले नकआउटमा स्थान बनाउन समूह ‘जी’ र ‘एच’का टोलीसामु समान अवसर छ।
दोस्रो चरणको खेलपछि यी टोलीको नकआउट पुग्ने यात्रा थप रोमाञ्चक बन्नेछ।
समूह ‘एच’को पहिलो खेलमा आइतबार राति पौने १० बजे स्पेन र साउदी अरेबिया भिड्नेछन्।
समूह ‘जी’को खेलमा पौने १ बजे बेल्जियम र इरान खेल्नेछन्। सोमबार बिहान पौने ४ बजे समूह ‘एच’को उरुग्वे र केप भर्डे तथा पौने ७ बजे समूह ‘जी’को न्युजिल्यान्ड र इजिप्ट खेल्ने तालिका छ।
पहिलो चरणको खेलमा समूह ‘जी’को बेल्जियमले इजिप्टसँग १–१ को बराबरी खेल्यो। अर्को खेलमा इरान र न्युजिल्यान्डले २–२ को बराबरी गर्दै अंक बाँडेका थिए।
समूह ‘एच’को केप भर्डेले भने स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो। जुन खेलले पहिलो पटक विश्वकप खेलेको केप भर्डेको चर्चा चुलिएको छ। यही समूहको साउदी अरेबिया र उरुग्वेले भने १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए।
यो पनि–
Shares

प्रतिक्रिया