राजनीति


एमालेमा ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने

एमालेमा ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने

नेपालखबर
साउन १, २०८२ बिहिबार ९:२, काठमाडौँ

पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद नै खारेज हुने भएको छ। 

आज बस्ने एमालेको केन्द्रीय सचिवालयको बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने गरि विधानमा संशोधनको निर्णय गर्न लागेको हो। 

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ। 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने निर्णय गर्न लागेको एमालेका एक नेताले बताए।। 

‘वरिष्ठ उपाध्यक्ष पद हटाएर पार्टीको विधान संशोधन गर्न लागिएको छ। त्यो निर्णय आजको सचिवालय बैठकबाट हुन्छ,’ एमालेको विधान संशोधनबारे भइरहेको छलफलका जानकार ती नेताले भने, ‘यो व्यवस्थासहितको विधान आगामी महाधिवेशनपछि लागू हुन्छ।’

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। एमालेमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ।

आजको सचिवालय बैठकमा विधानमा हुने संशोधनका विषयमा छलफल हुने एजेण्डा छ। नयाँ संशोधित विधान आजको सचिवालय बैठकले पारित गर्ने तयारी छ।

एमालेले यस्तो निर्णय गरे आगामी महाधिवेशनबाट ईश्वर पोखरेल एमालेको राजनीतिबाट पाखा लाग्नुपर्ने अवस्था सिर्जना हुनेछ।

विधान महाधिवेशनपछि लागू हुने भएकाले पोखरेल त्यसबेलासम्म वरिष्ठ उपाध्यक्ष पदमा रहनेछन्। तर महाधिवेशनमा उनी वा अरु कोही यो पदमा उठ्न सक्ने छैनन्। वरिष्ठ उपाध्यक्ष पद नै खारेज भएपछि पोखरेल कि त अध्यक्षमा उठ्नु पर्नेछ नत्र उनले पार्टीको यो उच्च तहको सक्रिय राजनीतिबाटै विदा लिनु पर्ने हुन सक्छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad