राजनीति


उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव: रविले ककसलाई बनाउँदैछन् पदाधिकारी

उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव: रविले ककसलाई बनाउँदैछन् पदाधिकारी

सागर न्यौपाने
असार १७, २०८३ बुधबार १३:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट सभापतिसहित ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। ९९ जना केन्द्रीय सदस्यबाट प्रत्यक्षतर्फका ६ जना पदाधिकारी पनि चुनिइसकेका छन्। उनीहरूले आज असार १७ गते शपथसमेत खाइसकेका छन्। 

तर, रास्वपाको केन्द्रीय समितिले अझै पूर्णता पाइसकेको छैन। किनकि अझै वरिष्ठ नेतासहित ११ जना पदाधिकारी, ३१ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ।

पूर्वसहमतिअनुसार प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेता बन्ने निश्चित छ। त्यसबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्री र प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष कसलाई बनाइन्छ, रास्वपाभित्र जिज्ञासा छ। 

चितवनको भरतपुरमा असार ७ देखि १२ सम्म चलेको महाधिवेशनबाट २ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री निर्वाचित भइसकेका छन्। जो सभापति रवि लामिछानेनिकट हुन्। बालेन समूहबाट १ सहमहामन्त्री मात्र असीम शाह निर्वाचित भएका छन्। त्यस हिसाबमा पनि मनोनय गर्न बाँकी रहेका पदाधिकारीमा कस्ता नेता पर्लान् भनेर रास्वपा नेताहरू प्रतीक्षामा छन्। 

रास्वपाको विधानमा सभापतिलाई शक्तिशाली बनाइएको छ। पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार उनैलाई छ। यसबारे रविले गृहकार्य थालिसकेको निकट नेताहरू बताउँछन्।

एकता, समायोजनबाट आएका नेताहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले सबैसँग सल्लाह गरेर मनोनयन गर्ने तयारी रहेको रविनिकट नेताहरूको भनाइ छ। एकताको सन्देश दिँदै सकभर एक व्यक्ति, एक जिम्मेवारी होस् भन्ने सभापतिको धारणा रहेको उनीहरू दाबी गर्छन्। सकभर केन्द्रीय सदस्यमा चुनाव नलडेका नेताहरूलाई पदाधिकारी बनाउने योजनामा रवि देखिन्छन्।
त्यसो हुँदा उपसभापति पद बालेन समूहलाई दिन सक्ने सम्भावना देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहका निकट एक नेताले त्यसको पुष्टि गरे। उनका अनुसार उपसभापति पूर्वाधारमन्त्री सुनिल लम्सालले पाउने सम्भावना उच्च छ। त्यसो त गृहमन्त्री सुधन गुरुङले समेत उपसभापति नै ताकेका छन्।  तर बालेनको रोजाइ पनि लम्साल नै हुन्। किनकि ‘देश बनाउने टिम’का महत्त्वपूर्ण सदस्यमध्ये पूर्वाधारमन्त्री पनि हुन्।

लम्साल र गुरुङ दुवैले रास्वपा केन्द्रीय सदस्यको प्रत्यक्षतर्फ चुनाव लडेका थिएनन्।

पुस १३ गते रास्वपासँग एकता गर्दा लम्साललाई नै महामन्त्री बनाउने सहमति भएको थियो। तथापि महानगरपालिकामा हुँदा आफ्ना स्वकीय रहेका भूपदेव शाहलाई महामन्त्री बनाइएको थियो। 

‘उपसभापतिमा सुनिल लम्साल नै हुन्छन् होला,’ बालेनका ती विश्वासपात्रले नेपालखबरसँग भने, ‘मनोनीतको कन्सेप्ट नै के हो भने नआएका साथीहरूलाई राख्ने, त्यसो गर्दा प्रतिस्पर्धी भावना पनि बन्द होस् र पछाडिका अनुहार पनि देखिऊन् भन्ने हो। त्यसो गर्दा एकता र समायोजन प्रक्रियाबाट आएकाहरू नै समेटिन्छन्।’

त्यसो त महामन्त्रीका दाबेदार रहेर अन्तिममा नाम फिर्ता लिएकाले कविन्द्र बुर्लाकोटीलाई उपसभापति बनाउने चर्चा नभएको होइन। उनी पनि रविका विश्वासपात्र हुन्। तर उनी हाल रास्वपाको प्रमुख सचेतक भएकाले संसद्कै काममा केन्द्रित हुन रविले भनेको उनीनिकट एक मन्त्रीले बताए। रास्वपाभित्र एकता प्रक्रियाबाट आएकाले समीक्षा बास्कोटालाई पनि उपसभापतिको दाबेदारका रूपमा हेरिएको छ। महाधिवेशनका बेला उपसभापतिमा उम्मेदवारी दिएर फिर्ता लिँदै उनले सोबिता गौतमलाई समर्थन गरेकी थिइन्। तर बास्कोटाको सम्भावना नरहेको दाबी रविनिकट एक पदाधिकारीले गरे। 

‘हाम्रा पूर्वाधारमन्त्री र गृहमन्त्रीमध्ये एकजना उपसभापति हुने सम्भावना बढी देखेको छु। किनकि उहाँहरूको नाम व्यापक चर्चामा छ’, ती पदाधिकारीले भने। 

रास्वपामा अर्को शक्तिशाली पद हो- महामन्त्री। दुई महामन्त्रीमध्ये एकमा रविका विश्वासपात्र विपिन आचार्य निर्वाचित भइसकेका छन्। अब अर्का महामन्त्री भने बालेन समूहले पाउने नेताहरू बताउँछन्। ‘महामन्त्रीमा भूपदेवजी नै आउने देखिन्छ। अहिलेसम्म ९९ प्रतिशत हो। एक प्रतिशत तलमाथि भए अर्कै कुरा हो’, सभापतिका विश्वासपात्रले नेपालखबरसँग भने।

बालेन समूहका अर्का नेताले पनि भूपदेवको सम्भावना बढी देखिएको बताए। तर उपसभापति पनि आफ्नै पक्षले पाउँदा अर्को महत्त्वपूर्ण पद पाउने, नपाउने ठोकुवा गर्न नसकिने उनी बताउँछन्। 

‘महामन्त्रीमा भूपदेवकै बलियो सम्भावना छ। तर उपसभापतिमा लम्साल आएपछि महामन्त्री एउटै समूहलाई नदिन पनि सक्छन्,’ ती नेताले भने।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली एकता र समायोजनबाट आएका नेताहरूको व्यवस्थापन गर्ने गरी पदाधिकारी चयन हुने बताउँछन्। 

त्यसबाहेक पदाधिकारीमा खसआर्य समुदायको बाहुल्य भएको देखिएपछि मनोनीत गर्दा त्यसलाई पनि मिलाउनुपर्ने दायित्व सभापतिमा रहेको पराजुलीले बताए।

रास्वपामा अर्को प्रभावशाली मानिने पद प्रवक्ता हो। यसपटक पनि रवि आफ्ना विश्वासपात्रलाई प्रवक्ता बनाउने योजनामा छन्। मनिष झाले महामन्त्रीमा चुनाव लडेर विपिन आचार्यसँग पराजित भएपछि प्रवक्ता नबस्ने घोषणा गरिसकेकाले रविको नजर प्रमोद न्यौपानेतिर छ।

सिन्धुपाल्चोकका न्यौपानेले रविलाई पछिल्ला दुई वर्ष दर्बिलो साथ दिएका छन्। उनी सांसद पनि छैनन्। समानुपातिकतर्फबाट सांसद बन्ने सूचीमा हुँदा पनि उनी अन्य समूहलाई मिलाउनुपर्दा परेका थिएनन्।

त्यही भएर रविले यसपटक उनलाई जिम्मेवारी दिने सम्भावना रहेको अर्का पदाधिकारीले बताए। प्रमोद चितवन महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। महामन्त्रीको उम्मेदवारी दिएर पछि फिर्ता लिई उनले विपिन आचार्यलाई सहयोग गरेका थिए।

‘प्रवक्तामा प्रमोद न्यौपानेलाई ल्याउन सक्ने देखिन्छ,’ ती पदाधिकारीले भने, ‘हामीले जिम्मेवारी दिनुपर्ने व्यक्ति हो। फेरि प्रवक्ता र कोषाध्यक्ष सभापतिको विश्वासपात्रलाई नै बनाउने भनेर हामीले यसअघि नै एक किसिमले समझदारी बनाइसकेका छौँ।’

रास्वपाको विधानअनुसार एक प्रवक्ता रहन्छन्। यस्तै ३ जना सहप्रवक्ता रहन्छन्।

यसैगरी रास्वपामा पाँच जना सहमहामन्त्री रहन्छन्। ३ जना प्रत्यक्ष चुनावबाट आइसकेकाले अब २ जना मनोनयन गर्न बाँकी छ। जसबारे रविले कुनै संकेत दिएका छैनन्।

‘सहमहामन्त्रीमा नाम सुनिएको छैन। सरप्राइज दिने हो कि!’ अर्का नेताले भने, ‘मनोनीत केन्द्रीय सदस्यबाट बनाउने गर्ने भएकाले जो पनि आउन सक्ने देखिन्छ।’

यसैगरी रास्वपामा कोषाध्यक्ष पद पनि छ। यसअघि चार वर्ष लिमा अधिकारी सो जिम्मेवारीमा थिइन्। तर, यसपटक उनले राजनीतिक पद लिने चाहना राखेकी छन्। यद्यपि, रविले लिमालाई नै कोषाध्यक्ष बनाउनुपर्ने धारणा राखेका छन्। त्यसो हुँदा लीमा नै दोहोरिन सक्ने पनि देखिन्छ।

रविलाई दिइएको अधिकार
महाधिवेशन गर्नुभन्दा अगाडि नै मनोनीत गर्ने विषयमा नवनिर्वाचित सभापतिलाई पूर्ण अधिकार दिइसकिएकोले रविले इच्छा लागेको व्यक्तिलाई मनोनीत गर्न सक्छन्।

‘उहाँको एकल अधिकार रहन्छ। हामीले सभापतिलाई एकदमै शक्ति दिएका छौँ, उहाँलाई एकल निर्णय गर्ने अधिकार दिएका छौँ,’ ती नेताले थपे।

मन्त्री भएकालाई सकभर जिम्मेवारी नदिने तर सचिवालय सदस्यमा राख्ने रविको तयारी छ। त्यसो हुँदा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भूमि व्यवस्था मन्त्री प्रतिभा रावललगायत सचिवालय सदस्य बन्नेछन्। यसमा जिम्मेवारी दिँदा प्रत्यक्ष निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी र मनोनीत सबैलाई मिलाउने योजनामा रवि छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad