एकछिनलाई मानौँ– विद्या भण्डारी एमाले उपाध्यक्षको जिम्मेवारीमै छिन्, केपी ओली अध्यक्ष नै छन्। भण्डारीलाई लाग्यो, ‘होइन, पार्टी कमिटीमा उमेर हद लागू हुनुपर्छ। पार्टी कमिटीमा रहने कुनै पनि व्यक्ति ७० वर्ष पुगेपछि स्वतः अवकाश हुने पूर्ववत् व्यवस्था गर्नुपर्छ।’
यदि एमाले उपाध्यक्षको जिम्मेवारीमै छिन् भने भण्डारीले सार्वजनिक मञ्चबाट यो विषय उठाउन पाउँछिन् कि पाउँदिनन्?
एमाले सम्बद्ध अनेरास्ववियुको २४ औँ महाधिवेशनको उद्घाटनका क्रममा ओलीले आइतबार (२५ जेठ) उमेर हदको विषय उठाए। ७४ वर्ष पुगिसके पनि आफू एमालेको अध्यक्ष रहेको उल्लेख गरे। र, आफू अध्यक्ष भएकाले उमेरहदको विषय गलत भएको तर्क गरे।
उनको भनाइबाट के बुझिन्छ भने उमेर हदको बहस एमालेमा वर्जित छ। त्यसैले, एमालेका अन्य नेता–कार्यकर्ताले मात्र होइन, राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरिसकेकी भण्डारीले समेत उमेर हदको पक्षमा बोल्ने छुट पाउने छैनन्।
राजनीतिमा प्रतिस्पर्धी वा विरोधी हरेकका हुन्छन्। ओलीकै कुरा गरौँ– अहिल सत्ता सहकार्य गर्नुपरे पनि भोलि प्रतिस्पर्धा गर्नुपर्ने नेपाली कांग्रेससँगै हो। माओवादी वा पुष्पकमल दाहाल (प्रचण्ड) त झन् विरोधी दलका नेता भइहाले। तर पछिल्ला अभिव्यक्ति सुन्दा लाग्छ, ओलीको प्रतिस्पर्धी वा विरोधी देउवा वा प्रचण्ड होइनन्, विद्या भण्डारी हुन्। त्यहीकारण भण्डारी उनको निसानामा पर्न थालेकी छन्।
ओलीको ‘स्याडो बक्सिङ’
६८ वर्ष (आगामी आर्थिक वर्षदेखि ७० वर्ष) पुगेपछि हरेक नेपालीले वृद्धभत्ता प्राप्त गर्छन्। चुनावमा एमाले पंक्तिले ‘वृद्धभत्ता एमालेकै पालामा सुरु भएको हो’ भन्दै भोट माग्छ। तर, नेकपा स्थापनाको ७६ औँ वर्षगाँठका अवसरमा ९ वैशाख (२०८२) मा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ७४ वर्षीय ओलीले ‘म त २०–२५ वर्षपछि मात्र बुढो हुन्छु’ भन्ने दाबी गरे।
ओलीले कार्यकर्तालाई हँसाउन त्यसदिन ‘म २०–२५ वर्षपछि मात्र बुढो हुन्छु’ भनेका होइनन्। बरु त्यो अभिव्यक्ति निवर्तमान राष्ट्रपति विद्या भण्डारीतर्फ लक्षित थियो, जसले नेपालखबरसँगको अन्तर्वार्तामा एमाले नेतृत्वको उमेर वा स्वास्थ्यका कारण नेतृत्व लिनुपर्ने स्थिति आइपरे आफू तयार रहेको उल्लेख गरेकी थिइन्। २०–२५ वर्षयता पार्टी नेतृत्वमा आँखा नलगाउन ‘सफ्ट वार्निङ’ स्वरूप ओलीले उपरोक्त अभिव्यक्ति दिएका थिए।
ओलीको आइतबारको अभिव्यक्ति पनि पूर्वराष्ट्रपति भण्डारीलक्षित नै छ। यो अभिव्यक्तिको पृष्ठभूमिमा झापामा २४ जेठमा आयोजित एउटा कार्यक्रममा भण्डारीको उपस्थिति थियो। पूर्वराष्ट्रपति भण्डारी २४ जेठमा ओलीको गृहजिल्ला झापाको विर्तामोडस्थित देवी माविले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रदर्शनी उद्घाटनका लागि पुगेकी थिइन्।
त्यसअघि उनी विराटनगरमा आयोजित स्थानीय तहका उपमेयर–उपाध्यक्षहरूको भेलामा थिइन्। विराटनगर (मोरङ) एमालेमा संस्थापन पक्ष र इतरपक्षको शक्ति प्रदर्शनस्थल बनेको छ। त्यही विराटनगरमा आयोजित स्थानीय तहका उपप्रमुखहरूको भेला उद्घाटन गरेर भण्डारी झापा पुगेकी थिइन्। आफ्नो गृहथलोमा भण्डारीको यो सक्रियतालाई ओलीले आफू (विरुद्ध) लक्षित ठानेका हुन सक्छन्।
हो, ओलीले भनेजस्तै एमाले महाधिवेशनको मिति घोषणा भएको छैन। त्यसो भए ओली आफैले चाहिँ अखिलको महाधिवेशनमा गएर त्यो सन्दर्भ किन झिके? ओलीले किन भन्नुपरेको, ‘को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष बन्नेबारे पार्टीमा छलफल भएको छैन, महाधिवेशन (मिति) समेत घोषणा भएको छैन। बाहिर–बाहिर हल्ला चलाएर, पार्टीलाई कमजोर पार्न खोज्ने? पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने?’
भीम रावल एमालेबाट निस्कासित भइसकेका छन्। एमालेमै रहेको भए रावल आगामी महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी हुन्थे होलान्। रावलको निस्कासनपछि आउँदो महाधिवेशनमा ओलीलाई हाइसञ्चो हुने ठानिएको थियो। तर, पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतासँगै आगामी महाधिवेशनमा उनी एमाले नेतृत्वमा आउने चर्चा पो चल्न थाल्यो। अरुलाई ‘म’ समेत उच्चारण गर्न प्रतिबन्ध लगाएर ओलीले ‘महाधिवेशन’ को चर्चा गरेको यही कारणले हो।
‘मेरो आवश्यकता परे’, ‘परिस्थितिले माग गरे’, ‘सर्वसम्मति जुटे’ मात्र पार्टी नेतृत्वमा आउने पूर्वराष्ट्रपति भण्डारीले बताउने गरेकी छन्। सक्रिय राजनीतिमा उनको पदार्पणप्रति बरु ओलीपछिको पुस्ताका नेताहरूले खतरा देख्नुपर्ने हो। तर, खतरा ओलीले देखिरहेका छन् र सार्वजनिक रूपमा नै भण्डारीविरुद्ध ‘स्याडो बक्सिङ’ (काल्पनिक दुस्मनविरुद्ध प्रहार गरिने मुक्का) हानिरहेका छन्।
बुझ्नुपर्ने कुरा के हो भने, जुनसुकै खालको होस्, ‘बक्सिङ’ अलिक बलियोविरुद्ध प्रहार गरिन्छ। ओलीले सुरु गरेको ‘स्याडो बक्सिङ’ भण्डारीको बढ्दो शक्तिकै कारणले हो।
भण्डारीबिनाका ओली
‘स्याडो बक्सिङ’ थालनीपूर्व भण्डारीलाई ‘निगाहकी पात्र’ बनाउने गरिन्थ्यो। सार्वजनिक कार्यक्रमहरूमा ओली भण्डारीलाई ‘पार्टीले राष्ट्रपति बनाएको हो’ त भन्थे। तर, निकटस्थहरूसँग भण्डारी राष्ट्रपति बन्नुमा आफ्नो भूमिका रहेको बताउँथे। अहिले पनि ओलीका अभिव्यक्ति हेर्दा ‘आफूले दिएकै ठाउँमा भण्डारी पनि थान्को लागेर बस्नुपर्छ’ भन्ने मानसिकता जो झल्किन्छ।
एमालेको गुटगत राजनीति उत्कर्षमा पुगेका बेला भण्डारी दुईपटक राष्ट्रपति बनिन्। झलनाथ खनाल, माधव नेपालजस्ता शीर्ष नेताहरू समेत राष्ट्रपति पदका आकांक्षी थिए। तर, ओली शक्तिको उत्कर्षमा थिए। यस्तो बेला एमालेको उपाध्यक्ष रहेकी भण्डारी ओलीको छनोटमा परिन्।
यस हिसाबले भण्डारीले सर्वाेच्च राजकीय जिम्मेवारी प्राप्त गर्नुमा ओलीको भूमिका निर्णायक अवश्य थियो। यही ‘गुन’ का कारण होला, भण्डारी अहिले पनि ओलीप्रति कठोर देखिन्नन्।
तर, ओलीको प्रस्तावमा भण्डारी राष्ट्रपति बन्नु सिक्काको एउटा पाटो मात्र हो। ओलीसँग चिनजान हुनुभन्दा धेरैअघि उनी मालेको राजनीतिमा सक्रिय थिइन्। ओलीलाई बरु रामनाथ दाहालजस्ता परिपक्व नेताको संगत प्राप्त थियो। पुरुष हुनुको सामाजिक अनुकूलतामा पनि उनी थिए। तर, महिला, हुनेखाने र व्यवस्था पधक्षर परिवार आदिका कारण कम्युनिस्ट राजनीति ‘ज्वइन’ गर्नु भण्डारीका लागि कता हो कता ठूलो कुरा थियो।
तर पनि उनी कम्युनिस्ट राजनीतिमा आबद्ध भइन्। मदन भण्डारीसँग बिहेपछि भण्डारीको राजनीतिक जीवन सफल बनाउन उनले आफ्नो राजनीतिक सक्रियता कम गरिन्। दासढुङ्गा दुर्घटनाअघि मदन भण्डारी जुन उत्कर्ष र सफलतामा थिए– त्यसमा विद्या भण्डारीको योगदानसँग ओलीको तुलना नै हुन सक्दैन।
खासगरी काठमाडौँ–१ मा २०५० पुसमा भएको उपनिर्वाचनमा, स्वर्गीय मदन भण्डारीले झैँ कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि विद्या भण्डारीको राजनीतिक चर्चा चुलियो, राजनीतिक हैसियत पनि बढ्यो।
संसदीय निर्वाचनमा विद्या भण्डारीले प्राप्त गरेको त्यो विजयमा भूमिका खेल्ने पात्रहरू खोज्दा मनमोहन अधिकारी र माधव नेपाल अवश्य भेटिन्छन्, सीपी मैनाली पनि भेटिएलान्। ओली चाहिँ कत्तिको भेटिन्छन्?
जसरी एमाले नेतृत्वमा ओली हुँदैनथे भने राष्ट्रपति बन्ने अवसर विद्यालाई प्राप्त हुँदैनथ्यो, त्यसैगरी विद्या भण्डारीको साथ नपाएको भए विद्यालाई राष्ट्रपति बनाउने हैसियतमा ओली पनि पुग्दैनथे। भण्डारीको साथकै कारण एमालेका अरु दिग्गज नेताभन्दा ओलीलाई बढी ‘जबज’ पन्थीजस्तो देखिन सजिलो भयो र ओली सर्वशक्तिमान बन्न सफल भए।
यदि ‘निगाह’कै भरमा मात्र भण्डारी सर्वाेच्च पदमा पुगेकी थिइन् भने ओलीजस्ता शक्तिशाली (पार्टी र सरकारको कार्यकारी अधिकारसहितको) व्यक्ति अहिले कुनै राजकीय जिम्मेवारी र पार्टीको सदस्यसमेत नरहेकी भण्डारीसँग भयभीत हुनुपर्ने थिएन।
आच्छु–आच्छु पार्ने ‘लिगेसी’
नेपाली राजनीतिमा बोल्नेको पिठो बिक्छ। राजनीतिक सफलताका लागि निर्ममता आवश्यक पर्छ। भण्डारी वाक्पटु छैनन्। निर्ममता र छक्कापञ्जा पनि उनमा देखिँदैन।
बेला–बेला काठमाडौँबाहिर जान्छिन्। तर, कुनै ‘अभियान’ लिएर होइन। जाने पनि यदाकदा मात्र हो। तर पनि उनीसँग ओली यतिविधि डराइरहेका छन्। किन होला? जबकि अहिलेको राजनीतिमा ‘सफल हुन’ अत्यावश्यक मानिने निर्ममता, छक्कापञ्जा, वाकपटुता सबैमा ओली नै परिपूर्ण छन्।
ओली भण्डारीसँग यति भयभीत हुनुका दुई कारण छन्।
पहिलो कारण ‘एमाले जोगाउनुपर्छ’ भन्ने कार्यकर्ताहरूको भावना हो। एमालेको नवौँ महाधिवेशन (२०७१) मा ओली अध्यक्षमा विजयी त भए, तर झिनो मतले मात्र। ओली १ हजार ४७ मतका साथ विजयी हुँदा माधव नेपालको पक्षमा १ हजार ३ मत पर्यो।
अर्थात् पराजित नेपालले विजयी ओली हाराहारीकै मत प्राप्त गरे।
तिनै नेपालले २०७८ मा झलनाथ खनालका साथ एमालेबाट अलग भई एकीकृत समाजवादी गठन गरे। नवौँ महाधिवेशनमा नेपालको पक्षमा रहेका अधिकांश नेता–कार्यकर्ताले नेपाल–खनाललाई साथ दिएनन्। ‘सबल एमाले’ को वकालत गर्दै उनीहरू मूल पार्टीमै रहे।
तर ओलीले न नेकपा जोगाउन सके, न त एमाले नै। २०७४ को आमनिर्वाचनमा दुई तिहाइनजिक पुगेको पार्टी २०७९ का तीनवटै निर्वाचन (स्थानीय तह, प्रदेश र संघ) मा दोस्रो स्थानमा पुग्यो। रास्वपा लगायत नयाँ दल उदाए। जोसँग प्रतिस्पर्धा गर्नुपर्ने हो, त्यही नेपाली कांग्रेसको वैशाखी चढेर ओली सरकारमा छन्।
दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा समेत जनतामा आशाको कुनै सञ्चार छैन। ओलीको ‘करिस्मा’ ध्वस्त भएको छ। पहिलेजस्तो उनी आशाको होइन, हाँसोको पात्र बनेका छन्। स्थानीय तहदेखि केन्द्रसम्म एमाले नेता–कार्यकर्ताहरू इतिहासमै सबैभन्दा बढी प्रतिरक्षात्मक स्थितिमा छन्। सत्तामा भएकाले शक्ति त छ तर जनमत रसातलमा छ।
नेता–कार्यकर्ता पंक्ति यो स्थितिबारे जानकार छ। विकल्प दिनसक्ने ठानिएका कतिपय ‘म पनि झोले हो’ शीर्षकको फेसबुक स्टिकर बनाएर छाला जोगाउन लागेका छन्। कतिपय मौन छन्।
यो स्थितिका बीच एमालेको ठूलो पंक्ति त्यस्तो पाइलटको अपेक्षामा छ, जसले जहाजलाई थप दुर्घटनाबाट जोगाओस्। तिनीहरूले भण्डारीको सक्रियतालाई उचित विकल्प मानेका छन्।
दोस्रो हो, मदन भण्डारीको ‘लिगेसी’। जुन विद्या भण्डारीसँग छ। त्यो लिगेसीको शक्ति ओलीले बुझेका छन्। भण्डारी निर्णायक रूपले अघि बढ्दा एमालेभित्रको पासा कतातिर पल्टिन्छ भन्ने कुराको हेक्का ओलीलाई छ। यसर्थ कि, विद्या भण्डारीसँग जोडिएको त्यही ‘लिगेसी’को मूल–सहारामा ओली यहाँसम्म आइपुगेका हुन्।
भण्डारीको प्रतिवाद गर्न ओलीसँग कुनै अस्त्र बाँकी छैन। त्यसैले, महाधिवेशनको सन्दर्भ आफै झिकेका छन्, उमेर हदको प्रसङ्ग पनि आफै निकालेका छन्।
Shares

प्रतिक्रिया