राजनीति


पार्टी कार्यालयको झल्को दिनेगरी कांग्रेस देउवा–शेखर पक्षले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय

साढे तीन लाख मासिक भाडा भएको घरमा हुँदैछ रङ–रोगन
पार्टी कार्यालयको झल्को दिनेगरी कांग्रेस देउवा–शेखर पक्षले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय

फोटो/भिडिओ : सरोज नेपाल


लोकेन्द्र भट्ट
असार १६, २०८३ मंगलबार २१:२९, काठमाडौँ

नेपाली कांग्रेस संस्थापन इतर पक्षले महाराजगन्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय खोलेको छ। पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको इतर पक्षले ‘पार्टी कार्यालय’कै झल्को दिने गरी चुनदेवीमा सम्पर्क कार्यालय खोलेको हो।

नेपाली कांग्रेस रामेछापका निलम्बित सभापति कान्छाराम (पूर्णबहादुर) तामाङको अग्रसरतामा चुनदेवीमा दुई तले घरमा कार्यालय खोलिएको छ। नयाँ बानेश्वरमा हेरिएको घरको वास्तु नमिलेको भन्दै चुनदेवीको घरलाई सम्पर्क कार्यालय बनाउने नेताहरूले निधो गरेका थिए। 

चुनदेवीको घरको वास्तु राम्रो रहेको उनीहरूको भनाइ छ। सो कार्यालयको औपचारिक उद्घाटन हुने छ। साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको घरको भाडा मासिक साढे तीन लाख रूपैयाँ छ। उक्त घरमा १२ वटा कोठा, दुई वटा हल छन् भने कम्पाउन्डमा १५–२० वटा गाडी पार्किङ गर्न मिल्ने ठाउँ छ। 

‘पार्टी कार्यालय होइन। सम्पर्क कार्यालय हो। अहिले बन्दै छ,’ तामाङले नेपालखबरसँग भने, ‘महाधिवेशन आउँदै छ। त्यसको तयारीका लागि सम्पर्क कार्यालय खोलेका हौँ।’

गत साता इतर पक्षका शीर्ष नेताहरूकै उपस्थितिमा सम्पर्क कार्यालयको टुंगो लागेको थियो। नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, एनपी साउद, रमेश लेखक लगायत सहभागी थिए। कांग्रेस नेता मीन विश्वकर्माले संस्थापन पक्षसँग सहमति भए एकता महाधिवेशन र नभए छुट्टै महाधिवेशनको प्रयोजनका लागि सम्पर्क कार्यालयका खोलिएको बताए। 

‘नियमित महाधिवेशन पक्षधर सबै नेताहरूले १५ औँ महाधिवेशनसम्बन्धी छलफल र बैठक गर्नका लागि सम्पर्क कार्यालय खोलिएको हो। चुनदेवीमा पहिलो चरणको छलफल भएको थियो। अहिले मर्मत भइरहेको छ। केही दिनमा नियमित रूपमा सम्पर्क कार्यालय सञ्चालनमा आउँछ,’ उनले भने।

पछिल्लो तीन दिनदेखि सम्पर्क कार्यालयमा सुरक्षा गार्ड पनि राखिएको छ। मंगलबार दिउँसो कांग्रेसको इतर पक्षले खोलेको सम्पर्क कार्यालय पुग्दा एक सुरक्षा गार्ड र पेन्टरहरू मात्र थिए।

सुरक्षा गार्डले आफूले तीन दिनदेखि उक्त घरको सुरक्षा दिरहेको बताए। यस्तै पेन्टरहरूले पनि एक सातादेखि काम गरिरहेको भन्दै सबै काम सक्न अझै एक साता लाग्ने बताए। घरको सरसफाइ र रङ–रोगनको काम पनि तामाङकै निगरानीमा भइरहेको छ। 

‘कान्छाराम दाइ सधैँ आउनुहुन्छ। आज बाहिर हुनुभएकाले नआउनु भएको हो,’ पेन्टरहरूले भने, ‘सबै कामको ठेक्का पनि हामीले उहाँबाट लिएका हौँ।’

नेता विश्वकर्माले भने सम्पर्क कार्यालय खोल्न सबै नेताहरूको सहयोग रहेको बताए। 

‘पार्टीका पूर्वपदाधिकारी र पूर्व केन्द्रीय सदस्यहरूले रकम उठाएर सम्पर्क कार्यालय खोलिएको हो। कसैको धेरै कसैको थोरै होला। तर, सहयोग सबैको छ,’ उनले भने। 

काठमाडौँमा बोलाइने राष्ट्रिय भेलाको तयारीका लागि सम्पर्क कार्यालय खोलेको नेताहरू बताउँछन्। सातै प्रदेशमा भेला सम्पन्न गरेको इतर पक्ष राष्ट्रिय भेला बोलाउने तयारीमा छ। संस्थापन पक्षसँगको वार्ताबाट पार्टीमा देखिएको विवादको निकास ननिस्किँदा इतर पक्ष काठमाडौँमा राष्ट्रिय भेला राखेर छुट्टै महाधिवेशनको तयारी गरिराखेको छ। 

इतर पक्षका नेता निधिले भने, ‘अहिलेसम्म हाम्रो कुरा १५ औँ महाधिवेशन साझा गरौँ भन्ने हो। त्यो भएन भने हामी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको छुट्टै तयारी गर्छौँ।’

मंगलबार लुम्बिनी प्रदेशस्तरीय भेला गरेको इतर पक्षमा साता–पन्ध्र दिनमै राष्ट्रिय भेला बोलाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ। 

‘प्रदेशस्तरीय भेला सकिएपछि राष्ट्रिय भेला गर्छौँ। त्यही भेलाबाट १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा हुन्छ,’ उनले भने, ‘नयाँ ढंगले अगाडि बढ्छौँ।’

नेता पूर्णबहादुर खड्काले पनि आफूनिकट नेताहरूसँग संस्थापन पक्षसँग सहमति हुन नसके १५ औँ महाधिवेशनका लागि फाइनल गरिएको ९ लाख १३ हजार क्रियाशील सदस्यबाटै छुट्टै महाधिवेशनमा जाने बताइरहेका छन्।

संस्थापन इतर पक्षमा नेता शशांक कोइरालाको पनि सक्रियता बढेको छ। सोमबार आफ्नो निवासमा दही–चिउरा कार्यक्रम राखेका शशांक इतर पक्षको नेतृत्व लिने गरी अगाडि बढेको नेताहरू बताउँछन्। 

यद्यपि कोइरालाले भनेका थिए, ‘म सधैँ सिंगो कांग्रेसको पक्षमा छु, कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु पार्टीलाई एकताबद्ध बनाएर जानुको विकल्प छैन।’ 

महामन्त्री घिमिरेको दौडधुप
कांग्रेसको संस्थापन पक्षबाट पछिल्लो समय महामन्त्री गुरुराज घिमिरेले इतर पक्षका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्। असार १२ मा विराटनरमा नेता शेखर कोइरालालाई भेटेका महामन्त्री घिमिरेले काठमाडौँ आएर नेताहरू पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरेका छन्। 

‘पार्टीका आन्तरिक विषयलाई कसरी समाधान गर्ने, महाधिवेशनमा सबै सहभागी हुने वातावरण कसरी बनाउने, दुवै पक्षका प्रस्तावमाथि छलफल गरेर कहिलेसम्म टुंग्याउने भन्ने विषयमा कुराकानी भएको छ,’ घिमिरेले भने।

नेताहरूसँगको भेटघाट सकारात्मक रहेको उनको भनाइ छ। गत वैशाख ४ मा सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई वैधता दिएपछि सभापति गगन थापाले संवाद थालेका थिए। त्यसपछि उपसभापति शर्माले खड्का र सिटौलासँग संवाद गरेका थिए। शर्मासँगको संवादबाट सहमति नभएपछि अहिले इतर पक्ष छुट्टै महाधिवेशनको गृहकार्यमा लागेको नेताहरू बताउँछन्। 

संस्थापन पक्ष पनि इतर पक्षसँग एक पटक निर्णायक वार्ता गरेर वारपारको तयारीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad