फिफा विश्वकप २०२६ को समूह चरणको खेल सकिइसकेको छ। तर चर्चा भने सेलाइसकेको छैन।
नकआउट चरणमा पुग्न नसकेका केही प्रशिक्षकहरुले पदबाट दिएको राजीनामाले चर्चा पाएको हो।
समूह चरणबाट नै टोली बाहिरिएपछि केही प्रशिक्षकले त्यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन् भने केहीलाई सम्बन्धित फुटबल संघले नै हटाएको छ। विश्वकपको समूह चरणबाट बाहिरिएपछि चेक रिपब्लिकका मुख्य प्रशिक्षक मिरोस्लाभ कुबेकले पदबाट राजीनामा दिएका छन्।
विश्वकप आयोजक मेक्सिकोसहित दक्षिण अफ्रिका, दक्षिण कोरिया रहेको समूह ‘ए’मा रहेको चेक रिपब्लिक अंक तालिकाको पुछारमा रहेर बाहिरिएको थियो। समूह चरणमा चेक रिपब्लिकले एक अंक मात्र जोड्न सक्यो।
७४ वर्षीय कुबेकले टोलीलाई २० वर्षपछि विश्वकपमा फर्काएका थिए। पछिल्लो पटक सन् २००६ मा विश्वकप खेलेको चेक रिपब्लिक २० वर्षपछि फर्किँदा समूह चरणबाटै बाहिरिएको हो।
चेक रिपब्लिकको फुटबल संघका अध्यक्ष डेभिड टुन्डाले व्यक्तिगत भेटघाटमा कुबेकले पद छाड्ने निर्णय गरेको र आफूले त्यसलाई स्वीकार गरेको बताए।
यस्तै विश्वकपको समूह चरणबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक होङ म्युङ–बोले पनि राजीनामा दिएका छन्। दक्षिण कोरियाका राष्ट्रपतिले प्रशिक्षकलाई अक्षम भन्दै राष्ट्रिय टोलीको प्रदर्शनको अनुसन्धान गर्न आदेश दिएको बताइएको छ।
५७ वर्षीय होङले मेक्सिकोको शिविर छाड्नुअघि कोरियाली समर्थकसँग माफी माग्दै राजीनामा घोषणा गरेका थिए। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि होङ प्रशिक्षक थिए। सो समयमा पनि दक्षिण कोरिया समूह चरण पार गर्न असफल भएको थियो।
यस्तै विश्वकपको समूह चरणबाटै बाहिरिएपछि स्कटल्यान्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले पनि पद छोडेका छन्।
प्रशिक्षक क्लार्कले यसअघि नै टोली नकआउटका लागि छनोट नभएमा छाड्ने योजनामा रहेको बताएका थिए। ६२ वर्षीय क्लार्कले ब्राजिल, मोरक्को र हाइटी भएको समूहबाट नकआउटमा पुग्न नसकेपछि टोली छाडेको बताएका थिए। उनले ७ वर्ष स्कटल्यान्डको टोली हेरेका थिए।
प्रशिक्षक क्लार्कले युरो २०२८ र २०३० को विश्वकप हेर्ने गरेर चार वर्षको सम्झौतामा हस्ताक्षर गरेको एक महिनापछि नै टोलीबाट हट्ने निर्णय गरेका हुन्।
विश्वकपको समूह चरणमा नै नेदरल्यान्ड्ससँग ३–१ को हार व्यहोरेपछि ट्युनिसियाका प्रशिक्षक हर्भे रेनार्डले टोली छाड्नुपरेको थियो। त्यसअघि स्विडेनसँग ५–१ को हारपछि साब्री लामोचीलाई टोलीले बर्खास्त गरेको थियो।
Shares

प्रतिक्रिया