राजनीति


ल्होसारमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

ल्होसारमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

नेपालखबर
पुस १५, २०७६ मंगलबार ४:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना दिएका छन्।

मंगलबार बिहान शुभकामना सन्देश जारी गर्दै ओलीले ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

सन्देशमा तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपाली बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा व्यक्त गरिएको छ।

‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो। यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, वेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएका छौँ।’

सन्देशमा प्रधानमन्त्री ओलीले तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

‘हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रूपमा रहेका, एकता र सहिष्णुताको यो पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ, विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्, नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ।

विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको भन्दै ओलीले लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुष्ण एकता, सद्भाव र सहिष्णुतालाई राष्ट्रिय विशेषता भएको उल्लेख गरेका छन्।

‘उक्त विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी छौँ,’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad