प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमाबारे संसदमा बोलेको विवाद सेलाउन नपाउँदै उनको भारत भ्रमणको चर्चा सुरु भएको छ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको असार २३ को बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाललाई बोलाइएको थियो। भारत, चीन भ्रमण साथै अरु समसामयिक अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल गर्न उनलाई डाकिएको थियो।
बैठकमा पत्रकारलाई प्रवेश दिइएन।
नेपालखबरले पछि ३ जना समिति सदस्य सांसदहरुसँग कुरा गर्दा उनीहरुले एउटै कुरा सुनाएका थिए— औपचारिक ब्रिफिङ गर्नुभयो।
तीन मध्ये एक जना सांसद थिए, अभिषेक प्रताप शाह। उनले केही थप कुरा पनि भने।
‘भारतीय विदेश मन्त्रालयका एक जना सहायक सचिव तहका अधिकारीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल नेपाल आउँदै छ। त्यो प्रतिनिधिमण्डलसँग नेपाली पक्षले दुई पक्षीय मुद्दाहरुमा छलफल गर्नेछ भनेर जानकारी दिनुभयो’, शाहले नेपालखबरसँग भने।
परराष्ट्रमन्त्रीले सांसदलाई यो जानकारी दिएको एक हप्ता पनि बित्न नपाउँदै यतिबेला प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको चर्चा सुरु भएको छ।
यो चर्चा भारतीय न्यूज एजेन्सी र सञ्चारमाध्यममा भइरहेको हो।
भारतीय समाचार संस्था एशिया न्यूज इन्टरनेशनल (एएनआई) ले प्रधानमन्त्री शाहको भारत भ्रमण ‘छिटै’ हुने भनेर समाचार लेखेको छ। दुवै पक्ष भ्रमणको तालिका मिलाउन काम गरिरहेको उसले जनाएको छ।
हुन त नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका बेला परराष्ट्रमन्त्री शिशिर खनालले अप्रिल ११ मा भारतीय अनलाइन डब्ल्यूआईओएन (विअन) सँगको कुराकानीमा प्रधानमन्त्री बालेन्द्र शाहले भ्रमणको निमन्त्रणा पाइसकेको उल्लेख गरेका थिए। त्यसको ठिक तीन महिनापछि फेरि भारतीय मिडियामा बालेनको भारत भ्रमण चर्चा सुरु भएको हो।
भारतीय अनलाइन फर्स्टपोष्टले हिजो शनिबार बालेन्द्र शाहले छिटै भारत भ्रमण गर्ने जनाएको थियो। भारतीय स्रोतलाई उल्लेख गर्दै उसले लेखेको थियो, ‘भ्रमणको कार्यसूचीबारे छलफल जारी छ।’
गत जुनमा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणमा भारत भ्रमण गरेका थिए। भ्रमण क्रममा दुवै पक्षले विकास सहयोग, व्यापार तथा पारवाहन, केनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा नागरिक तहको सम्बन्धसहितका विषयमा छलफल गरेका थिए।
त्यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमण गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका उनको भ्रमणलाई राजकीय महत्व दिइएको थियो।
Shares

प्रतिक्रिया