राजनीति


गणेश नेपाली आत्मदाह घटनामा छानबिन समिति गठन गरिने, यी हुन् सहमतिका ९ बुँदा

गणेश नेपाली आत्मदाह घटनामा छानबिन समिति गठन गरिने, यी हुन् सहमतिका ९ बुँदा

नेपालखबर
असार २८, २०८३ आइतबार १८:३३, काठमाडौँ

गणेश नेपाली आत्मदाह घटनामा सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्ने भएको छ।

आज (आइतबार) संघीय सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न समिति गठन गर्ने सहमति भएको हो। सो समिति गठन भएको ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ।

सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएको हो।

सरकार पक्षबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सहमतिपत्रका हस्ताक्षर गरेका छन्।

सहमतिपत्रमा पीडित परिवार र वार्ता समितिका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुबा चिने नेपाली, आमा सौरी नेपाली, बहिनी सुन्दरी नेपाली, वार्ता समिति सदस्यहरू भक्तबहादुर रावत, धर्मराज शाही, मन नेपाली, प्रवलकुमार चौलागाई, नवराज न्यौपाने, पदम नेपाली, आशीष देवकोटा र सर्जन बरालले हस्ताक्षर गरेका छन्।

उनीहरूबीच मृतककी श्रीमतीलाई उनको योग्यता तथा क्षमताका आधारमा रोजगारी दिने, छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने, मृतकको आश्रित परिवारलाई राहतस्वरुप यथोचित् रकम उपलब्ध गराइने, मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था र काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइनेलगायतका सहमति भएको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मोटरसाइकल पार्किङका विषयमा महानगर प्रहरीसँग विवादपछि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मुगुका २५ वर्षीय नेपालीको मृत्यु भएको थियो।

सहमतिका बुँदाहरूः
१. यस घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ।

२. स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ।

३. घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौँ महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट लेखी पठाउने।

४. काठमाडौँ महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइनेछ। यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन्।

५. काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ।

६. मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइनेछ।

७. पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ।

८. मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवम् काठमाडौंमा काजक्रिया अवधिभर रहँदा-बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।

९. पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य विमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad