समाज


मौसम विभागले भन्यो: आज रातिदेखि यी प्रदेशमा अति भारी वर्षा हुन्छ, सावधानी अपनाउनू

मौसम विभागले भन्यो: आज रातिदेखि यी प्रदेशमा अति भारी वर्षा हुन्छ, सावधानी अपनाउनू

नेपालखबर
असार २८, २०८३ आइतबार १८:४२, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) रातिदेखि मनसुन सक्रिय भई देशका विभिन्न स्थानमा अति भारी वर्षा हुने सम्भावना देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएको छ। 

मौसम विभागले आज चेतावनी जारी गरी आज राति र भोलि सोमबार पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो। 

यसैगरी सो अवधिमा मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

मौसम विभागले सचेत गराउँदै अगाडि भनेको छ, ‘मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध छ।’

हेर्नुहोस् सूचना

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

आज २३ जिल्लामा बाढीको जोखिम, काठमाडौँ उपत्यकामा ‘अरेन्ज अलर्ट’

बाढी पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका २३ जिल्ला र त्यसआसपासका खाेला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। 

बाढी महाशाखाले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलाई सुन्तला रङ दिँदै आज यी जिल्ला र आसपास बाढीको उच्च जोखिम रहेको जनाएको छ। 

यस्तै आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ। 

बाढी महाशाखाले सचेत गराउँदै भनेको छ, ‘उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’

हरियो रङ जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत हो भने पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिमको संकेत गर्छ। अनि सुन्तला रङले जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ। रातो रङले चाहिँ नदीको जलसतहले खतरा तह पार गर्ने र बाढीको उच्च जोखिम हुने संकेत गर्छ। 

हेर्नुहोस् मंगलबारसम्मको वर्षा सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad