समाज


बेनी-जोमसोम सडकमा चार दिनपछि यातायात सञ्चालन

बेनी-जोमसोम सडकमा चार दिनपछि यातायात सञ्चालन

नेपालखबर
पुस १५, २०७६ मंगलबार ४:३,

हिमाली पारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो।

पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन हुन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले जानकारी दिए।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो। गुइँठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक सडक बनाउने प्रयास गरे पनि सफल भएको थिएन।

बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सीमा प्रहरी चौकी भुरुङ्ग–तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताए।

पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगतरूपमा पाँच हजार पुरस्कार दिएका छन्।

सडक अवरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका थिए।

यातायात व्यवसायीले गाडी बदली गरेर यात्रुलाई गन्तव्यमा पु¥याउने व्यवस्था मिलाए पनि ढुवानीका साधनको आवतजावत ठप्प भएको थियो।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइँठेभिर खण्ड जोखिमयुक्त मानिन्छ। यो ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ। जसको कारण स्थानीयवासी, मुुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटकहरु प्रभावित हुँदै आएका छन्।

यसैबीच बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी रोकिने भएको छ। स्तरोन्नतिका लागि सवारी रोकेर सडक विस्तारको काम गर्न लागिएको हो।

बिहान ७.३० देखि ११ र दिउँसो २.३० देखि साँझ ६ बजेसम्म सवारी रोकिने आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए।

सवारी साधनको चाप कम हुने समयमा कामलाई गति दिन समयतालिका बनाइएको उनले बताए।

बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ। म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्मको प्याकेज एकमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने तथा ग्रेड मिलाउने काम भइरहेको छ।

प्याकेज २, ३ र ४ खण्डमा पहाड काट्ने, फराकिलो बनाउने र पर्खाल निर्माण भइरहेको छ।

विसं २०७४ मा भएको ठेक्का सम्झौताको म्याद मङ्सिरमा सकिएको छ। आउँदो जेठसम्म म्याद थपको तयारी भएको आयोजनाले जनाएको छ।

उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट जोमसोम खण्डको ५० प्रतिशत र जोमसोमबाट कोरला खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ।

सात प्याकेजमा सञ्चालित ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको अन्तिमपटक थप भएको म्याद आगामी असारमा सकिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad