राजनीति


कांग्रेसको १४औं महाधिवेशन आजदेखि

कांग्रेसको १४औं महाधिवेशन आजदेखि

कांग्रेस महाधिवेशन उद्घाटनका लागि भृकृटीमण्डपमा बिहीबार दिउँसो मञ्च तयारी गर्दै गरेको अवस्थाको तस्बिर। अहिले तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ।


नेपालखबर
मंसिर २४, २०७८ शुक्रबार ४:५०, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज (शुक्रबार) काठमाडौंमा सुरु हुँदै छ। नयाँ नेतृत्व चयनका लागि सुरु हुने महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा हुँदै छ।

आजदेखि २७ सम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट कांग्रेसका नेता–कार्यकर्ताहरु संघीय राजधानी काठमाडौं आइपुगिसकेका छन्। यस्तै महाधिवेशनका लागि आमन्त्रण गरिएका विदेशी पाहुनाहरु पनि काठमाडौं आइसकेकाे कांग्रेसले जनाएको छ। 

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि, निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित  महाधिवेशन प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र मनोनीत महाधिवेशन प्रतिनिधि नेतृत्व चयनका लागि मतदानमा सहभागी हुनेछन्। 

कांग्रेसले महाधिवेशनका लागि गठन गरेको केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरबाट ४ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाएको छ। 

महाधिवेशनको उद्घाटन समारोहका लागि कांग्रेसले भृकुटीमण्डपलाई दुलही झै सिंगारेको छ।

दिउँसो १ बजे हुन लागेको उद्घाटन समारोह अघि नै निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशित गर्ने तयारी गरेको छ। 

महाधिवेशनका लागि शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, ५ देखि ७ बजेसम्म मनोनयन उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णयको समयावधि समितिले निर्धारण गरेको छ। 

निर्वाचन समितिले आइतबार मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने जनाएको छ। मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रियसभा गृहमा मतदान केन्द्र बनाइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। 

उनका अनुसार मतदान ‘ब्यालेट पेपर’ मा हुनेछ। कांग्रेसले ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ (ईभीएम) प्रयोगका लागि पहल गरे पनि शीर्ष नेताबीचमा सहमति नजुटेपछि ‘ब्यालेट पेपर’ नै प्रयोग गरिन लागिएको कांग्रेस स्रोतले जनाएको छ। 

महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री चयन गर्नेछ। यस्तै महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस-आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रतर्फ गरी सहमहामन्त्री आठ सहमहामन्त्री पनि चयन गर्नेछ। 

केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउने कांग्रेसले विधानमा व्यवस्था गरेको छ। 

केन्द्रीय महाधिवेशनका प्रतिनिधिले प्रत्यक्षतर्फ ३५, महिलातर्फ ९, प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जना गरी २१ सदस्य प्रत्यक्ष  चुन्नेछन्। 

यस्तै दलिततर्फ ४ महिलासहित ९ जना, आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना, मधेशीतर्फ ४ महिलासहित ९ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रतर्फ १ जनासहित ५४ जना सदस्य पनि चुनिनेछन्।​​

अल्पसङ्ख्यक महाधिवेशन प्रतिनिधि मध्येबाट १ र अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना गरी २ जना केन्द्रीय सदस्य पनि महाधिवेशनबाट निर्वाचित हुने छन्। 

कांग्रेसको विधानमा सभापतिले केन्द्रीय कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था गरेको छ। 

बिहीबार तयारी गर्दै गरेका बेला - ​यसरी बनाइँदैछ कांग्रेस महाधिवेशन उद्घाटनस्थल (फोटो फिचर)

यी पनि : 

यी हुन् अहिलेसम्म छनोट भएका कांग्रेसका ४, ३१९ जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

–​यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका (सूचीसहित)

–​पहिलो चरणमै देउवालाई जिताउन सिटौला यसरी निर्णायक

–​म जहाँ रहन्छु, कांग्रेस त्यहीँ रहन्छ : कृष्ण सिटौला

–​प्रकाशमानले शनिबार सभापतिमा उम्मेदवारी घोषणा गर्ने

–​कांग्रेस महाधिवेशन : सबैभन्दा पहिले सभापति पदको मतगणना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .