परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतका रक्षा सचिव जोन हिली तथा भेटेरान्स एवं नागरिक रक्षा मन्त्री लुइस स्यान्डर-जोन्सबीच आज (सोमबार) एक भर्चुअल बैठक गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा मुख्यरूपमा बेलायती गोर्खाहरूको समान पेन्सनसहितका विषयमा छलफल भएको छ। नेपाल-ब्रिटेन सम्बन्धमा गोर्खाहरूको महत्त्वलाई उजागर गर्दै मन्त्री खनालले बेलायती गोर्खाहरूका गुनासोहरूलाई यथाशीघ्र आपसी सहमतिमा समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरूलाई सम्बोधन गर्न बेलायत सरकारलाई अनुरोध गरेका छन्।
रक्षा सचिव जोन हिलीका तर्फबाट भेटेरान्स एवं नागरिक मन्त्री लुइस स्यान्डर-जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका समस्या समाधानका लागि नेपाली पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्याए।
बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूको उपस्थिति थियो। बेलायती पक्षबाट एलेक्स बेकर सांसद एवं नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष र बेलायती रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए। भर्चुअल बैठकमा बेलायती गोर्खा संगठनका प्रतिनिधिहरूको पनि सहभागिता थियो।
यसअघि आजै (सोमबार) मन्त्री खनालले यूकेमा रहेका बेलायती गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरूसँग भर्चुअल अन्तर्क्रिया गरेका थिए।उक्त बैठकको समन्वय र सहजीकरण लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले गरेका थिए।
Shares

प्रतिक्रिया