नेपाली कांग्रेसका पाँच लाख १५ हजार ८९६ जना क्रियाशील सदस्यहरूले सदस्यता नवीकरणका लागि आवेदन दिएका छन्।
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सोमबार अपरान्हसम्म उक्त संख्यामा सदस्यता नवीकरणको प्रक्रियामा गएको जानकारी दिएको हो।
‘नेपाली कांग्रेसको डिजिटल प्रणालीमा मिति २०८३ जेठ २५ गते ५:०० बजे सम्म अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २ सय ९ क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजार ७ सय ५३ जनाले एनसीआईडी प्राप्त गरिसकेको र ९८ हजार १ सय ४३ जनाले स्वयं अद्यावधिक फारम पेश गरी अद्यावधिक प्रकृयामा रहेको जानकारी गराइन्छ’ मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आज बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि थप गरिएको मिति यही २०८३ जेठ २८ गतेसम्मको समयसीमालाई नै अन्तिम म्याद कायम गरेको छ।
कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाइने र पार्टीको डिजिटल प्रणालीमार्फत अद्यावधिक गरेका पार्टी सदस्यहरूको विशिष्ट पहिचान सृजना गरी पार्टीका प्रत्येक क्रियाशील सदस्यलाई एनसीआईडी (NCID) उपलब्ध गराइने जनाएको छ। महाधिवेशनमा सहभागी हुन क्रियाशील सदस्यले प्राप्त गरेको एनसीआईडी नै प्रमुख आधार हुने भएकोले नेपाली कांग्रेसका सबै क्रियाशील सदस्यहरुले अनिवार्य रुपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न अनुरोध गरेको छ।
यस्तै कांग्रेसले नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था र प्रक्रियाबमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकलाई नयाँ क्रियाशील सदस्यता उपलब्ध गराउने कार्यलाई निर्वाध रूपमा अघि बढाउन पार्टीका सबै तहलाई निर्देशन पनि गरेको छ।
Shares

प्रतिक्रिया