राजनीति


पहिलो चरणमै देउवालाई जिताउन सिटौला यसरी निर्णायक

पहिलो चरणमै देउवालाई जिताउन सिटौला यसरी निर्णायक

सागर न्यौपाने
मंसिर २२, २०७८ बुधबार २१:१९, काठमाडौँ

एक पटक फेरि नेपाली कांग्रेसको सभापति बन्ने दौडमा रहेका शेरबहादुर देउवाले पहिलो चरणमै जित हात पार्न कृष्ण सिटौलाको मात्र साथ लिए पुग्ने देखिएको छ।

१४ औँ महाधिवेशन सुरु हुन दुई दिन बाँकी रहँदा देउवाले गरेको विश्लेषणमा उनलाई पहिलो चरणमै जितका लागि केही संख्या मात्र आवश्यक छ। जुन संख्या सिटौलासँग छ।

देउवानिकट केही नेताहरूका अनुसार उनीसँग ५० प्रतिशतभन्दा केही कम मत छ। विधानअनुसार चुनाव जित्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

पहिलो चरणबाटै सभापति बन्ने योजनामा रहेका देउवालाई आवश्यक पर्ने मत सिटौलासँग छ। बुधबारसम्म महाधिवेशनमा ४ हजार ३१९ प्रतिनिधि सहभागी हुने निश्चित भइसकेको छ। अझै प्रवास लगायतका केही स्थानबाट आउन बाँकी छ। जम्मा संख्या ४५ सयमाथि हुने कांग्रेस नेताहरु बताउँछन्। 

तीमध्ये सिटौलासँग ७ प्रतिशत मत रहेको देउवाको आकलन छ।

यही मत मिलाउन सके आफू पहिलो चरणमै विजयी हुने देउवाको विश्लेषण छ। त्यही भएर उनी सिटौलालाई सकभर मिलाएर अघि बढ्न खोजिरहेका छन्। प्रदेश १ र बागमती प्रदेशमा देउवाले सिटौलासँग मिलेर चुनाव जितेका थिए। सिटौलासँग मिल्दा अन्य नेताहरुको व्यवस्थापन पनि सहज हुने उनको बुझाइ छ।

तर, सभापति दौडमा रहेका रामचन्द्र पौडेलले पनि सिटौलासँग छलफल गरिरहेका छन्। बुधबार पनि सिटौलालाई भेट्न पौडेल उनकै निवास चण्डोल पुगेका थिए। अनुपम फुडल्यान्डमा आफूपक्षीय नेताहरुको भेला भइरहेको बेला खाना खान भन्दै निस्किएका पौडेलले सिटौलालाई भेटेर आफूलाई सघाउन आग्रह गरेका थिए।

‘मलाई सघाउनुस्’, पौडेलले सिटौलासँग भने, ‘म साझा उम्मेदवार बन्छु, मिलेर जाऊँ, यसपटक नेतृत्व परिवर्तन गरौँ।’

सिटौलाले भने आफू छलफलमै रहेकाले यस विषयमा अहिले कुनै निर्णय नदिने बताएको उनी निकट एक नेताले नेपालखबरसँग भने। 

१३ औँ महाधिवेशनमा पनि देउवालाई सहयोग गरेकैले यो पटक सभापति आफू बन्न पाउनुपर्ने सिटौलाको भनाइ थियो। तर, बुधबार बसेको पदाधिकारी बैठकमा देउवाले सभापतिमा आफ्नो विकल्प नभएको निर्णय पारित गराइसकेका छन्।

१३ औँ महाधिवेशनमा यस्तो थियो सिटौलाको भूमिका
कांग्रेसको १३ औँ महाधिवेशनमा ३ हजार १ सय ४८  प्रतिनिधि थिए। 

सभापतिका तीन उम्मेदवारले आआफ्नो प्यानल बनाएका थिए। तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिका दाबेदार थिए।

तर, कसैले पनि पचास प्रतिशत मत नघाउन सकेनन्। पौडेलले ११६० र देउवाले १५६४ ल्याउँदा सिटौलाले ३२४ मत पाए। देउवा ११ मतले पहिलो चरणमै चुनाव जित्नबाट वञ्चित भए।

त्यसपछि तेस्रो स्थानमा रहेका सिटौला देउवालाई समर्थन गर्दै प्रतिस्पर्धाबाट बाहिरिए। देउवा र पौडेलबीच दोस्रो चरणको प्रतिस्पर्धा भयो। यसपटक सिटौला पक्षले देउवालाई भोट दियो। जसकारण देउवा १८२२ मत ल्याएर विजयी भए। पौडेलले १२९६ मत मात्र ल्याए।

१३ औँ महाधिवेशनमा निर्णायक देखिएका सिटौला अहिले पनि निर्णायक रहेको देउवाको बुझाइ छ। 

‘उहाँले सिटौला दाइलाई मिलाउनुभयो भने बहुमत पुग्छ,’ देउवानिकट एक नेताले नेपालखबरसँग भने, ‘अहिले त्यही प्रयास भइरहेको छ। प्रदेश १ र बागमती प्रदेशको निर्वाचनमा सिटौला दाइको पक्षमा देखिएको माहौलले पनि त्यही कुरा पुष्टि गरेको छ।’

रामचन्द्र पौडेल पक्ष पनि बलियो छ। उनको ३५ प्रतिशत भन्दा बढी मत रहेको विश्लेषण भइरहेको छ। 

एक केन्द्रीय सदस्यका अनुसार सभापतिबाहेक सिटौलाले जुनसुकै पद मागे पनि दिने योजनामा देउवा छन्।

‘सिटौलाजीले जे माग्नुहुन्छ त्यही दिइन्छ,’ देउवा पक्षको उम्मेदवार छान्ने जिम्मा पाएका एक नेताले नेपालखबरसँग भने, ‘यदि उहाँले आफ्ना साथीहरुको व्यवस्थापन चाहनुभयो भने त्यो पनि हामी मिलाउँछौं तर, उहाँलाई हाम्रो टिमबाट बाहिर जाने वातावरण बनाउँदैनौं।’

देउवाले आकांक्षीको सूची बनाउन र छलफल गर्न सुदूरपश्चिममा एनपी साउद, कर्णालीमा पूर्णबहादुर खड्का, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बागमतीमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल र प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad