राजनीति


रवि-बालेन प्यानलदेखि १ मतको हारजितसम्म: रास्वपाको जिल्ला अधिवेशनमा देखिएका ५ दृश्य

रवि-बालेन प्यानलदेखि १ मतको हारजितसम्म: रास्वपाको जिल्ला अधिवेशनमा देखिएका ५ दृश्य

सागर न्यौपाने
जेठ २५, २०८३ सोमबार २०:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७–९ गतेसम्म गर्न लागेको प्रथम महाधिवेशनअघि जिल्ला अधिवेशन गरिरहेको छ। जेठ २३ र २४ गते जिल्ला अधिवेशनको मिति तोकिए पनि ५६ वटा जिल्लामा मात्र अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चुनिएको छ। अझै १२ जिल्लामा अधिवेशन गर्न बाँकी छ। 

मधेस प्रदेशमा नेतृत्व चयनका लागि चुनाव नै गर्ने भनिएपछि त्यो प्रक्रिया अघि बढिसकेको छैन। केन्द्रले नै २६ र २७ गतेसम्मको समय दिएको छ।

उता, सिन्धुपाल्चोकमा अधिवेशन स्थगित गरिएको छ। रुकुम पूर्व, हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा केन्द्रीय निर्वाचन आयोगले अधिवेशन प्रक्रिया रोकेको छ।

पहिलो पटक अधिवेशन गरेर देशभर संगठन बनाउन लागेको रास्वपाको जिल्ला अधिवेशनमा कतै सर्वसम्मति त कतै चुनावद्वारा नेतृत्व चुनिँदा केही जिल्लामा पनि विवाद चर्किएको छ।

प्यानलै बन्यो
बालेन शाह समूहसँग एकता र विवेकशील साझा, मधेस, थारु लगायतलाई पार्टीमा समायोजन गरेर फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावमा होमिएको थियो रास्वपा। वालेन्द्रलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा गएको रास्वपाले झण्डै दुई तिहाइ सिट जित्यो।

सहमतिअनुसार वालेन्द्रले सरकारको नेतृत्व गरे। मन्त्री बनाउँदा पनि सभापति लामिछाने पक्ष र शाह समूह मिलाइएको थियो। यद्यपि, भागबण्डा नभएको दाबी नेताहरूले गरेका थिए। 

जिल्ला अधिवेशनमा गुटगत प्यानल बन्न नदिन केन्द्रले निर्देशन जारी गरेको थियो। 

तर, केन्द्रको निर्देशन पालना भएन। गोरखामा सांसद सुधन गुरुङले सभापतिमा ध्रुव अधिकारी, उपसभापति भेषबहादुर खड्का, सहसचिव राजेश्वर अम्गाईं लगायतको प्यानलै उठाए। तर, सभापति लामिछाने पक्षका सुवर्ण रोकाहा क्षेत्री सभापति निर्वाचित भए। यस्तै, उपसभापति पनि उनी पक्षीय सुकबहादुर तामाङ चुनिए। सचिवमा मिलन राना निर्विरोध भए। सहसचिवमा पनि रवि पक्षका योगेन्द्रजंग बस्नेत निर्वाचित भए। 

यस्तै, प्युठानमा पनि रवि र बालेन समूह बन्यो। रवि पक्षका  विकास पोखरेल सभापतिमा निर्वाचित भए।

पोखरेलले १५३ मत प्राप्त गर्दै बालेन्द्र शाह समूहका उम्मेदवार बमबहादुर सुनारलाई पराजित गरे। सुनारले ४४ मत पाए।

महिला सभापति
अहिलेसम्म अधिवेशन सकिएका जिल्लामध्ये बर्दियाको नेतृत्व शान्ता बुढा क्षेत्रीले पाएकी छन्। उनी तदर्थ कमिटीको कार्यबाहक सभापति थिइन।

जेठ २३ गते भएको अधिवेशनमा उदयबहादुर खत्रीलाई पराजित गर्दै पाँच वर्षे कार्यकालका लागि उनी निर्वाचित भएकी हुन्। यस्तै, अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन्। दिनेश सुनार र महेन्द्र कुँवरलाई पराजित गर्दै पराजुली विजयी भएकी हुन्। उनले ९१ मत पाउँदा सुनारले ७५ र कुँवरले ३३ मत पाए। 

सांसद बनेर जिल्ला सभापति
रास्वपाको जिल्ला अधिवेशनमा देखिएको अर्काे रोचक दृश्य सांसद पनि जिल्ला सभापति निर्वाचित हुनु हो। 

ललितपुर जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव जितेका बुद्धरत्न महर्जन ललितपुर जिल्ला सभापति चुनिएका छन्।

आइतबार भएको मतदानबाट उनले विदुर थापालाई जम्मा ११ मतले पराजित गर्दै महर्जन सभापति निर्वाचित भएका हुन्। उनले १४१ मत ल्याउँदा थापाले १३० पाए।

यति मात्र होइन, रास्वपाको केन्द्रीय संगठन विभाग सदस्य रहेका ओमनाथ भण्डारी पनि जिल्ला झरेका छन्। उनी झापा जिल्लाको सभापति बनेका छन्।

रास्वपामा केन्द्रीय तहमा रहेका नेता जिल्ला सभापतिमा फर्किने उनी पहिलो नेता हुन्। 

जेठ २३ र २४ गते भएको अधिवेशनबाट रवि लामिछाने पक्षीय भण्डारीले लक्ष्मण बस्नेत र अर्जुन मैनालीलाई हराएर सभापति निर्वाचित भए। भण्डारीले ३४१ मत पाएर चुनिँदा बस्नेतले २४७ र मैनालीले २५ मत मात्र पाए। 

उता, बागमती प्रदेश समितिमा रहेका राजन अर्याल धादिङ जिल्ला समितिको सभापति चुनिएका छन्।

रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की पार्टीको कार्यकारी पदमा केन्द्रीय नेताहरूको चासो बढ्न थालेको बताउँछन्।

एक मतको जित–हार
रास्वपाको अधिवेशन सम्पन्न भएका जिल्लामध्ये केहीको चुनावी नतिजा रोचक आयो।

कास्कीमा एक मतको जित–हार भयो। जहाँ यदुनाथ अधिकारीले जम्मा १ मतले सभापति जिते। 

जेठ २३ गते भएको अधिवेशनको चुनावमा सभापतिका अर्का उम्मेदवार एकराज न्यौपानेलाई अधिकारीले १ मतले पराजित गरेका हुन्।सभापतिमा निर्वाचित अधिकारीले ११५ मत पाएर जित्दा न्यौपानेले ११४ मत पाए।

अधिकारी यसअघि पनि रास्वपा कास्कीको तदर्थ समितिको सभापति थिए भने न्यौपाने प्रदेश समितिको जनसम्पर्क विभाग प्रमुख थिए। 

अन्य पार्टीबाट गएर सभापति
रास्वपाको अर्घाखाँची सभापति निर्वाचित सीता पराजुलीले लामो समय नेपाली कांग्रेसमा राजनीति गरेकी हुन्।  

कांग्रेसको जिल्ला सदस्य रहेकै बेला उनी रास्वपा प्रवेश गरेकी हुन्। नेविसंघ, तरुण दल र नेपाल महिला संघको जिल्ला सदस्य भएर उनले काम गरेकी थिइन्।

विवाद र नाराजुलुस
रास्वपाको जिल्ला अधिवेशन अझै सकिएको छैन। प्रवक्ता मनिष झाका अनुसार अझै १२ जिल्लामा अधिवेशन गर्न बाँकी छ। मधेस प्रदेशका ८ जिल्लासहित कोसीको उदयपुर, गण्डकीको नवलपुर छन्। झाले यी जिल्लामा निर्वाचन हुने बताए।

बाग्लुङमा उजुरी परेर रोकिएको छ। सिन्धुपाल्चोकमा अधिवेशनको उद्घाटन सत्र सकिएर नेतृत्व चयनका क्रममा विवाद भएपछि स्थगित गरिएको छ।

कर्णालीको सुर्खेत, जाजरकोट र दैलेख तथा सुदूरपश्चिमका डोटी र बाजुरामा निर्वाचन प्रक्रिया जारी रहेको प्रवक्ता झाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad