NepalKhabar NepalKhabar

विचार


चीन–नेपाल सहकार्यका चार तत्व

चीन–नेपाल सहकार्यका चार तत्व

वाङ यानचोङ र ली चिङवेइ


वाङ यानचोङ र ली चिङवेइ
माघ १ , काठमाडौँ

८ डिसेम्बर २०२० मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको उचाइ ८८४८.८६ मिटर रहेको घोषणा गरे। यो संयुक्त घोषणा दुई छिमेकीबीचको शताब्दीयौँ पुरानो सम्बन्ध रणनीतिक साझेदारीको नयाँ चरणमा प्रवेश गरेको संकेत हो।

नेपाल र चीनलाई हिमाल र नदीहरुका अलावा लामो मित्रताले पनि गाँसेको छ। चीन र नेपालबीचको प्राकृतिक सिमानाका रुपमा रहेको हिमालयले पनि दुई मुलुकबीचको अन्तर्क्रियालाई रोक्न सकेको छैन। नेपालको उत्तरी क्षेत्रका जनताले चीनको दक्षिणी क्षेत्रका जनतासँग व्यापार गरेको इतिहास छ। दुवै मुलुकमा आपसी सहकार्यका लागि उच्च उत्साह पाइन्छ। आपसी विश्वासकै कारण यी दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध कायम भएको छ। खासगरी बेल्ट एन्ड रोड इनिसियटिभ कार्यान्वयनपछि दुई देशका नेताहरुबीच भ्रमण आदानप्रदान भएको छ। चीन र नेपालले व्यापारदेखि पूर्वाधार विकाससम्म अनेकौँ विषयमा सहकार्य गरेका छन्। 

१९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता चीन र नेपालले पञ्चशील र शान्तिपूर्ण सहअस्तित्वको नीति पालना गरेका छन्। मित्रवत् सम्बन्धको परम्परा कायम राख्न उनीहरुले एकअर्कालाई समान हैसियतामा व्यवहार गर्दै आएका छन्। १९६१ मा चीनको सहयोगमा नेपालले अरनिको राजमार्ग निर्माण गर्यो। काठमाडौँलाई उत्तरी नेपालसँग जोड्ने यो महत्वपूर्ण मार्ग हो। 

एक्काइसौँ शताब्दीमा चीन र नेपालबीचको सहकार्यमा अनेकौँ ‘ब्रेकथ्रु’ भएका छन्। २०१९ मा दुवै देशका नेताहरुबीच भ्रमण आदानप्रदान भयो। अप्रिल २०१९ मा चिनियाँ राष्ट्रपति सीको निमन्त्रणामा नेपालकी राष्ट्रपति भण्डारीले चीनको राजकीय भ्रमण गरिन्। उनी बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनको दोस्रो संस्करणमा पनि सहभागी भइन्। अक्टोबर २०१९ मा राष्ट्रपति सीले पहिलो पटक नेपाल भ्रमण गरे। त्यसपछि दुवै पक्षले चीन–नेपाल सम्बन्धको स्तरोन्नतिको घोषणा पनि गरे। 

भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध नयाँ दिशातर्फ विकसित हुँदै गएको छ। हिमालयपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत सुख्खा बन्दरगाह र पूर्वाधार निर्माण अघि बढिरहेको छ। नेपाल सरकारको आग्रहमा चीन सरकारले अरनिको राजमार्गदेखि तातोपानी बन्दरगाहसम्मको बाटो स्तरोन्नति र मर्मत परियोजना सुरु गर्यो। जसलाई २०१५ को भूकम्पले क्षतिग्रस्त तुल्याएको थियो। मे २०१९ मा झाङ्मु (तातोपानी) बन्दरगाह सञ्चालनमा आयो। त्यस्तै सिगात्सेदेखि केरुङसम्मको रेलमार्ग निर्माण सुरु भएको छ। जुन भविष्यमा काठमाडौँसम्म पुग्नेछ। 

चीन र नेपालबीचको अन्तर्क्रियामा जुन सघनता छ, त्यसका कारण दुई मुलुकका जनताले समुदाय, संस्कृति र सभ्याताको स्तरमा एकअर्कालाई पहिलेभन्दा राम्ररी बुझ्न थालेका छन्। नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन एक्काइसौँ शताब्दीको सुरुमै चिनियाँ भाषामा प्रकाशित भएको थियो। चीनमा अत्यन्त लोकप्रिय टीभी सिरिज ‘जर्नी टु दि वेस्ट’ नेपालीमा प्रसारण भएको छ। आजभोलि नेपालीहरु काठमाडौँमै कन्फ्युसियस इन्स्टिच्युट र अन्य भाषा सिकाइ केन्द्रबाट चिनियाँ भाषा सिक्न सक्छन्। 

आज चीन र नेपाल दुवै विकासको नयाँ दृष्टिकोणको खोजीमा छन्। चीन चिनियाँ विशेषतासहितको समाजवादको यात्रामा छ भने नेपालले भर्खरै राजनीतिक परिवर्तन पुरा गरेको छ। चीन अहिले ऐतिहासिक चौबाटोमा छ र दुई वटा शताब्दी लक्ष्य प्राप्त गर्न प्रयासरत छ। मध्यम स्तरको समृद्ध समाज निर्माण गर्नु चीनको पहिलो लक्ष्य हो। चीन र नेपालबीच सुरुवाती चरणमा केही परियोजनामा भएका सहकार्य र आदानप्रदानले राम्रो नतिजा दिएका छन्। आन्तरिक वातावरण शान्तिपूर्ण र स्थिर रहेकाले यी दुई मुलुकले साझा विकासका लागि थप अवसर पाउनेछन्। तर, उचित नीति, योजना र रणनीतिले मात्रै नतिजा, दुई देशबीचको साझेदारीको प्रकृति र गुणस्तर निर्धारण गर्नेछ। 

चीन र नेपालबीचको सहकार्यको सन्दर्भमा ध्यान दिनुपर्ने पहिलो तत्व हो– चीनले अपनाएको ‘डुअल सर्कुलेसन’ को नीतिले ल्याएका परिवर्तन। १४ मे २०२० मा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो स्ट्यान्डिङ कमिटी बैठकले पहिलो पटक आपूर्ति पक्षको संरचनागत सुधार बढाउने प्रस्ताव गर्यो। चीनको विशाल घरेलु बजार र घरेलु मागको फाइदा उठाउँदै विकासको नयाँ ढाँचा निर्माण गर्ने उदेश्यले सो प्रस्ताव ल्याइएको थियो। विश्वको आर्थिक परिस्थिति अनिश्चित हुँदै जाँदा र घरेलु माग बढ्दै जाँदा यो नीति आएको थियो। घरेलु सर्कुलेसनलाई प्राथमिकता दिन चीनले नवप्रवर्तनलाई जोड दिनेछ। जसले खुलापनको नीतिलाई अझ बलियो बनाउनुका साथै घरेलु आर्थिक विकासलाई एकीकृत तुल्याउनेछ।

‘डुअल सर्कुलेसन’को नीति चीन–नेपाल सम्बन्धका लागि पनि फाइदाजनक हुनेछ। पहिलो कुरा त यी दुई देश भौगोलिक रुपले निकट भएकाले चीनको औद्योगिक शृंखलाको क्षेत्रीयकरणले नेपालमा थप विकासका अवसर ल्याउनेछ। चीनको सीमा क्षेत्र र पश्चिमी भूगोलको विकासले सहरीकरण र औद्योगिकीकरण बढाउनेछ। जसले स्थानीय र वरिपरिका बासिन्दाका लागि रोजगारीको अवसर सिर्जना गर्नेछ। दीर्घकालीन रुपमा यी क्षेत्रको विकासले शिक्षा, स्वास्थ्यजस्ता सार्वजनिक सेवामा पहुँच बढाउनेछ। घरेलु सर्कुलेसनमा जोड दिँदा चिनियाँ उद्यमहरुले आफ्नो उत्पादनको गुणस्तर सुधार गर्ने छन्। अन्तर्राष्ट्रिय व्यापार साझेदारका लागि यसको अर्थ हो– चिनियाँ सामान पनि अन्तर्राष्ट्रिय गुणस्तरको हुनु। चीनमा निर्मित गुणस्तरीय सामग्री सस्तोमा निर्यात हुन थाल्छ, जसले नेपाली व्यवसाय र उपभोक्ता दुवैलाई फाइदा पुग्छ।

नीति कार्यान्वयनको सवालमा घरेलु माग बढाउन चिनियाँ कम्पनीहरुले माग र आपूर्ति पक्षसँग सहकार्य बढाउनेछन्। जसले चीनको वैदेशिक व्यापारको अन्तर्राष्ट्रियकरण र गुणस्तर वृद्धिलाई प्रबद्र्धन गर्नेछ। त्यसकारण चीन र नेपालबीच भविष्यमा हुने सहकार्य अझ स्थिर घरेलु आर्थिक विकास र अझ उच्च स्तरको अन्तर्राष्ट्रिकरणमा आधारित हुनेछ।

दोस्रो तत्व हो– बेल्ट एन्ड रोड इनिसियटिभको कार्यान्वयन। २०१७ मा चीन र नेपालबीच बीआरआईको सहमतिपत्रमा हस्ताक्षर भयो। त्यही वर्ष बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनमा सहभागी हुन नेपाल सरकारले प्रतिनिधिमण्डल पठायो।

बीआरआईको उदेश्य दुवै पक्षलाई हित हुने नतिजा निकाल्नु हो। राजमार्गहरुलाई जोड्ने पूर्वाधार निर्माणले सो मार्गमा पर्ने मुलुक र क्षेत्रमा विकासका नयाँ अवसर मात्र ल्याउँदैन, बरु आर्थिक तथा सामाजिक विकासमा हाल भोगिरहेको चुनौती र अड्चनहरुलाई सहकार्यका आधारमा समाधान गर्न पनि मुलुकहरुलाई प्रेरित गर्छ। यसले राष्ट्रिय स्वतन्त्रता, समृद्धि र शक्तिलाई बलियो सहयोग पुर्याउँछ। 

नेपाली नागरिकहरुमा सामान्यतः चिनियाँ रेलमार्गप्रति ठूलो आशा छ। किनभने रेलमार्ग निर्माणले स्थानीय विकास मात्र होइन, नेपालको अद्भूत सौन्दर्य हेर्न चीन र विश्वभरबाट पर्यटकहरु भित्र्याउन पनि मद्दत गर्नेछ। २०१३ मा नेपाल आएका चिनियाँ पर्यटकको संख्या एक लाख नाघेको थियो। जसका कारण चीन नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बनेको थियो। २०१७ मा त्यो संख्या १ लाख ३० हजार पुग्यो। चीन र नेपालबीचका पूर्वाधारमा सुधार हुँदै जाँदा यो संख्या निरन्तर बढ्दै जाने अपेक्षा छ। 

तेस्रो तत्व हो– कोभिड–१९ महामारीको प्रभाव। २०२० को सुरुमा महामारीको रुप लिएको कोभिड–१९ ले ठूलो क्षति गरेको छ। महामारी सुरु भएयता नाकाहरुको व्यवस्थापन र नियमनमा चीन र नेपालले एकअर्कालाई सहयोग गर्दै आएका छन्। जसका कारण सामान र मानिसहरुसँगै संक्रमण फैलिने जोखिम कम भएको छ। मार्च २०२१ मा चीनले नेपाललाई सहयोगस्वरुप प्रदान गरेको खोप नेपाली प्रधानमन्त्रीको निवासमा हस्तान्तरण समारोह आयोजना गरियो। यी खोपले नेपाललाई महामारीसँग जुध्न सहयोग गर्नेछ र दुई मुलुकबीचको मित्रतालाई अझ गहिरो तुल्याउनेछ। 

तर, महामारी नियन्त्रणको संघर्ष सकिएको छैन। मानिस ओहोरदोहोर र सामान ओसारपसारमा प्रतिबन्ध अझै केही समय कायम रहनेछ। महामारीले दुई मुलुकका नागरिकबीचको आदानप्रदानलाई नराम्ररी प्रभावित तुल्याए पनि सञ्चारका नयाँ तरिका सुरु भएका छन्। चीनमा ई–कमर्स, खाना डेलिभरी, अनलाइन मनोरञ्जनजस्ता क्षेत्रले विकासको नयाँ अवसर पाएका छन्। दुवै मुलुकका जनता भाइरसलाई पराजित गर्ने आशामा छन्। खोप आइसकेकाले दुई मुलुकबीचको नाका नियमित हुन लामो समय लाग्ने छैन। त्यसपछि चीन र नेपालले संयुक्त विकासको खाकालाई विस्तारै ब्युँताउन सक्नेछन्। 

त्यस्तौ, चौथो तत्व हो– बाह्य प्रभावलाई कम गर्नु। चीन र नेपालको बीचमा सहकार्यको सम्भावना एकदमै उज्ज्वल छ। तर, बाह्य मामिलालाई हेर्ने सवालमा यी दुई मुलुकबीच फरक छ। जसले चीन–नेपाल विकास र द्विपक्षीय सम्बन्धमा हस्तक्षेप गर्न सक्छ। 

चीन र भारतको बीचमा रहेको भूपरिवेष्ठित मुलुक भएकाले दुई देशलाई गाँस्ने पुल बन्ने लाभ नेपाललाई छ। तर, सँगसँगै यो तनावको स्रोत पनि बन्न सक्छ। अमेरिका, बेलायत र अन्य पश्चिमा मुलुकले चीनको विकासलाई रोक्न र बीआरआईमा हस्तक्षेप गर्न भारतलाई प्रयोग गरिरहेका छन्। त्यसैले चीन र नेपालले द्विपक्षीय सहकार्यमा आइपर्ने घरेलु मुद्दा समाधानमा मात्र होइन, बरु विकास साझेदारीमा हस्तक्षेप गर्ने बाह्य जोखिम र चुनौतीलाई सम्बोधन गर्न पनि मिलेर काम गर्नुपर्छ।

(त्रिवि अन्तर्गतको थिंकट्यांक सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) जर्नलबाट अनुवाद। वाङ यानचोङ चाइनिज एकेडेमी अफ सोसल साइन्स अन्तर्गत इन्स्टिच्युट अफ इथ्नोलोजी एन्ड एन्थ्रोपोलोजीका प्रोफेसर तथा डिरेक्टर जेनरल हुन्। ली चिङवेइ सिचुवान युनिभर्सिटि अन्तर्गत स्कुल अफ इन्टरनेशनल स्टजिजका एसोसिएट प्रोफेसर हुन्।) 

माघ १, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.