अफगानिस्तानको सत्ता कब्जा गरेका तालिबानलाई चुनौती दिँदै त्यहाँका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेहले निर्वासित सरकार घोषणा गरेका छन्।
हाल स्विट्जरल्यान्डमा रहेका सालेहले यो नै अफगानिस्तानको आधिकारिक सरकार भएको दाबी पनि गरेका छन्।
राष्ट्रपति असरफ गनी तालिबानले राजधानी काबुल कब्जा गरेकै दिन देश छाडेर भागिसकेको भन्दै सालेहले आफूद्वारा गठित निर्वासित सरकारको कार्यवाहक राष्ट्रपति स्वयंलाई घोषणा गरेका छन्।
अफगानिस्तानको खामा न्युज एजेन्सीसँग कुरा गर्दै सालेहले भनेका छन्, ‘मैले निर्वासित सरकार गठन गरेको छु। यही सरकार कानुनी हिसाबले र विश्वका लागि अफगानिस्तानको सर्वमान्य सरकार हो।’
स्विट्जरल्यान्डस्थित अफगान दूतावासले पनि सालेहको यस्तै वक्तव्य जारी गरेको छ। यो संसारका समाचार एजेन्सी र दूतावासलाई फ्याक्सबाट पठाइएको छ।
वक्तव्यमा भनिएको छ– तालिबानले अफगानिस्तानमा जुन सरकार बनाएको छ, अन्तर्राष्ट्रिय कानुनअनुसार वैधानिक छैन र न उसले अफगान नागरिकको प्रतिनिधित्व नै गर्छ। निर्वासित सरकारबारे सरोकारवालाहरूसँग छलफल गरिएको छ। हाम्रो मुलुक यतिबेला बाहिरी मानिसको कब्जामा छ।
अरूको नाम उल्लेख छैन
विज्ञप्तिमा भनिएको छ– पूर्वराष्ट्रपति असरफ गनीले देश छाडेपछि उनका पहिलो उत्तराधिकारी अमरुल्लाह सालेहले देशको नेतृत्व सम्हाल्नेछन्। यसमा सक्रिय अधिकारी, न्यायिक र विधायी शक्ति भएका मानिस रहन्छन्।
तर उनको कार्यवाहक सरकारमा को को रहन्छन् भनेर अन्य कसैको नाम लेखिएको छैन। पन्जसिरमा तालिबानलाई चुनौती दिने अहमद शाह मसुदको नामसमेत उल्लेख छैन।
राजधानी काबुल तालिबानले कब्जा गरेपछि सालेह केही सहयोगीका साथ पन्जसिर उपत्यका गएका थिए। यसपछि उनी तालिबानको नियन्त्रणबाहिर छन्।
केही खबरअनुसार सालेह ताजिकिस्तानको बाटो हुँदै युरोप र त्यसपछि स्विट्जरल्यान्ड पुगेका हुन्। तालिबानले अहिलेसम्म सालेहको उक्त घोषणाबारे कुनै प्रतिक्रिया दिएको छैन।
यी पनि :
तालिबानसँग सहमति भइसकेको थियो, राष्ट्रपति गनी भागेर बर्बाद भयोः खलिलजाद
तालिबानले काबुल कब्जा गरेको त्यो दिन: राष्ट्रपति असरफ गनी भाग्नुअघि के के भए?
अनेक आशंकाबीच बरादर देखिए भिडिओमा
सम्पन्न देशका सेनासँग २० वर्षसम्म युद्ध गर्न तालिबानले कहाँबाट पायो पैसा? यी हुन् चार प्रमुख आयस्रोत
Shares

प्रतिक्रिया