नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राज्यका निकायको नालायकी र असंवेदनशील व्यवहारका कारण गणेश नेपालीको दुःखद निधन भएको बताएको छ।
मुगु जिल्लाको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा महानगरीय प्रहरीसँगको विवादपछि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका थिए।
नेकपाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी ‘लोकतान्त्रिक मुलुकमा यस्ता घटना हुनु हाम्रो लोकतान्त्रिक अभ्यास र राज्यको चरित्रमाथि गम्भीर प्रश्न उठाउने विषय हुन्’ भनेको छ।
विज्ञप्तिमा घटनाको निन्दा गर्दै राज्यले आत्मदाहको प्रयासपछि पनि उनीमाथि असंवेदनशील व्यवहार गरेको आरोप लगाएको छ।
‘आत्मदाहको प्रयासपछि पनि उनको जीवन रक्षा र घटनाको संवेदनशीलता बुझेर मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायहरूबाटै उनिमाथि बल प्रयोग गर्ने, जरिवानाको दबाब दिने, धम्क्याउने र घिसारेर हिँडाउने जस्ता अमानवीय व्यवहार गरिनु र निधन भइसकेपछि पनि वास्तविकता सार्वजनिक नगर्नुले यो घटना अझ हृदयविदारक बन्न पुगेको छ’ विज्ञप्तिमा भनिएको छ।
‘राज्य र आम नागरिकबीच अपनत्वको सम्बन्ध कमजोर बन्दै जानु तथा राज्यले भुँइतहका नागरिकको पीडा, संवेदना र आवाज नसुन्नुका कारण एकातिर गणेश नेपालीजस्ता नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न विवश भएका छन्’ नेकपाले भनेको छ, ‘अर्कोतर्फ हजारौँ सुकुम्बासी, भूमिहीन, श्रमिक तथा विपन्न नागरिक मर्नु न बाच्नुको अवस्थामा जीवन बिताउन बाध्य बनेका छन्।’
लोकतन्त्रको आधार भनेको नागरिकको सम्मान, सुरक्षा, गरिमापूर्ण जीवन बाँच्न पाउने अधिकार, काम र रोजगारीको ग्यारेण्टी संविधानले परिकल्पना गरेको राज्यका आधारभूत दायित्व हुन् भन्दै यिनै अधिकारको सुनिश्चितताका लागि हजारौ नेपाली जनताले बलिदान दिएको स्पष्ट पारिएको छ।
‘विकास र व्यवस्थापनका नाममा नागरिकलाई अपमानित, विस्थापित र निराश बनाउने होइन, संविधानको मर्मअनुसार सबै नागरिकको सम्मान, अधिकार र न्याय सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो’ नेकपाले भनेको छ, ‘नेपाली कम्युनिष्ट पार्टी सरकारसँग धरातलीय यथार्थमा उभिएर आम नागरिकका समस्याप्रति संवेदनशील बन्न विशेषगरी बेरोजगार युवा, सुकुम्बासी, भूमिहीन, मिटरव्याजपीडित तथा अन्य उत्पीडित समुदायका समस्यालाई तत्काल मानवीय, न्यायोचित र संवेदनशील ढंगले सम्बोधन गर्न माग गर्दछ।’
साथै, गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारवाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन पनि सरकारसँग जोडदार माग गरेको छ।
Shares

प्रतिक्रिया