समाज


सरकारी गाडी चोरेर स्वरुप नै परिवर्तन, दश महिनापछि व्यवसायी पक्राउ

सरकारी गाडी चोरेर स्वरुप नै परिवर्तन, दश महिनापछि व्यवसायी पक्राउ

गोकुल जोशी
असार २६, २०८३ शुक्रबार १२:५२, कञ्चनपुर

जेनजी आन्दोलनका क्रममा चोरिएको सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन कार्यालयको गाडी स्वरुप फेरिएको अवस्थामा फेला परेको छ। 

गत भदौ २४ मा कैलालीको धनगढी उपमहानगरपालिका-५ बाट आएको युवकको समूहले बा २ झ २८५९ नम्बरको सरकारी चोरी गरेका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा कैलालीको घोडाघोडी नगरपालिका-२ स्थित अर्जुन कार्कीले सञ्चालन गरेको फर्निचर उद्योगबाट बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले स्वरुप परिवर्तन गरिएको अवस्थामा स्कारपियो बरामद गरिएको बताए। फर्निचर सञ्चालक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीविरुद्ध चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले डीएसपी तिमिल्सिनाले बताए। 

कार्कीले चोरीको सरकारी गाडी किनेर त्यसको स्वरूप बदल्दै आफ्नो पुरानो गाडीको नम्बर प्लेट राखेर व्यक्तिगत रुपमा प्रयोग गर्दै आएका थिए। उनले गाडी किनेपछि भारत लगेर स्वरूप नै परिवर्तन गरेको पाइएको छ। सरकारी गाडीको चेसिस नम्बर मेटाएर आफ्नो पुरानो २०१२ मोडलको गाडी नम्बर त्यही चेसिसमा हाल्न लगाएको प्रहरीको भनाइ छ। 

चोरीको सरकारी गाडीमा कार्कीले पुरानो गाडीको नम्बर प्लेट सु.प.प्र. ०१-००१ च ३६८७ राखी विगत १० महिनादेखि चलाइरहेका थिए। गोप्य सूचनाको आधारमा प्रहरीले स्वरुप परिवर्तन गरिएको सरकारी गाडी र कार्कीको पुरानो गाडीको सुक्ष्म ढंगले अनुसन्धान अघि बढाइको थियो। 

लामो अनुसन्धानपछि प्रहरीले गत असार ८ गते कार्कीले नै सञ्चालन गर्दै आएको लिगासैनी समिल तथा फर्निचर उद्योगबाट गाडी नियन्त्रणमा लिएको हो। गाडी नियन्त्रणमा लिएपछि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, काठमाडौँबाट विशेषज्ञ प्राविधिकहरू कैलाली बोलाएको थियो। 

प्राविधिक टोलीको जाँच र अनुसन्धानबाट गाडी डिनको कार्यालयबाट चोरी भएको स्कारपियो नै भएको पुष्टि भएको थियो। त्यसपछि प्रहरीले कार्कीलाई समातेको छ।

जेनजी आन्दोलनका क्रममा सरकारी गाडी चोरी गर्ने व्यक्तिहरूको पनि पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad