ad ad

ग्लोबल


तालिबानसँग सहमति भइसकेको थियो, राष्ट्रपति गनी भागेर बर्बाद भयोः खलिलजाद

तालिबानसँग सहमति भइसकेको थियो, राष्ट्रपति गनी भागेर बर्बाद भयोः खलिलजाद

जल्मे खलिलजाद (बायाँ) र असरफ गनी


नेपालखबर
भदौ ३१, २०७८ बिहिबार ११:३५, काठमाडौँ

अमेरिकाले अफगानिस्तानमा तालिबानसँग राजनीतिक समाधानका लागि जुन वार्ताको सुरुवात गरेको थियो, त्यसमा जल्मे खलिलजाद विशेष प्रतिनिधि थिए। 

अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि खलिलजादले पहिलोपटक फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ताका दिएका छन्। 

जसमा उनले भनेका छन्, ‘यदि राष्ट्रपति असरफ गनी अचानक देश छाडेर नभागेका भए स्थिति फरक हुने थियो।’

खलिलजादले अगाडि भनेका छन्, ‘तालिबानसँग अन्तिम क्षणमा जुन सम्झौतामा सहमति हुनेवाला थियो, असरफ गनी भागेपछि त्यसमा पानी खनियो।’

खलिलजादका अनुसार सम्झौताअन्तर्गत इस्लामिक अतिवादीहरूबाट काबुललाई अलग राख्ने र राजनीतिक हन्तान्तरणबारे छलफल भइरहेको थियो। 

खलिलजादलाई सन् २०१८ मा अमेरिका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको वार्तामा विशेष प्रतिनिधि बनाएका थिए। खलिलजादका अनुसार कतारमा कुनै सहमति नहुन्जेल राष्ट्रपति गनीलाई पदमै राख्ने योजना बनिरहेको थियो। यहाँसम्म कि तालिबान काबुलको ढोकामा पुगिसक्दा पनि यो योजना थियो। 

‘अगस्ट १५ मा गनी भागेपछि सुरक्षा निकाय खाली भए र तालिबानलाई काबुल कब्जा गर्न कुनै गाह्रो भएन’, खलिलजादले भनेका छन्, ‘परिणाम– अमेरिकाले हतारहतार मानिसलाई अफगानिस्तानबाट निकाल्नुपर्यो र दोहामा सुरु वार्ता पनि अन्त्य भयो।’

फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा खलिलजादले अगाडि भनेका छन्, ‘हामीले तालिबानसँग उनीहरू काबुल नजाने सहमति गरिसकेका थियौं, तर त्यसरी गनीले अफगानिस्तान छाड्लान् भन्ने मलाई अलिकता पनि शंका थिएन।’

तालिबानका लागि अवसर
खलिलजादले भनेका छन्, ‘असरफ गनी बेपत्ता भएपछि काबुलको सुरक्षा बल तितरबितर भयो। गनी भाग्नाले कानुन–व्यवस्थासम्बन्धी प्रश्न गम्भीर बन्यो। तालिबानले सोध्यो– काबुलको सुरक्षाको जिम्मेवारी हामीले लिने हो? हामीले भन्यौं– होइन, काबुलको सुरक्षाको जिम्मेवारी हामीले लिन लागिरहेका होइनौं।’

उनका अनुसार त्यस दिन अमेरिकी रिजनल सैन्य कमान्डर फ्र्यांक म्याकेन्जी र तालिबानका एक वरिष्ठिन नेताबीच दोहामा बैठक थियो। 

खलिलजादले अमेरिकाकै रणनीतिबमोजिम तालिबान अगस्ट १५ मा काबुलस्थित राष्ट्रपति भवनमा आउन दिएको भन्ने आरोपको पनि खण्डन गरेका छन्। उनले भनेका छन्, ‘हामीले यस्तो कुनै संकेत दिएका थिएनौं, हामीले जे भनेका थियौं, अमेरिकी सेनाको मिसन त्यही थियो।’

उनका अनुसार तालिबानसँग अमेरिकाको वार्ता जारी थियो। तालिबानले अमेरिकासामु गनीको राजीनामको सर्त राखेको थियो। 

तर गनीले गत अगस्ट १८ मा फेसबुकमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘मेरो ज्यान खतरामा थियो, त्यही भएर देश छाड्नपर्यो। म काबुलमा रक्तपात चाहन्नथेँ।’

यी पनि :

तालिबानले काबुल कब्जा गरेको त्यो दिन: राष्ट्रपति असरफ गनी भाग्नुअघि के के भए?

अनेक आशंकाबीच बरादर देखिए भिडिओमा

सम्पन्न देशका सेनासँग २० वर्षसम्म युद्ध गर्न तालिबानले कहाँबाट पायो पैसा? यी हुन् चार प्रमुख आयस्रोत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .