ग्लोबल


तालिबानले काबुल कब्जा गरेको त्यो दिन: राष्ट्रपति असरफ गनी भाग्नुअघि के के भए?

तालिबानले काबुल कब्जा गरेको त्यो दिन: राष्ट्रपति असरफ गनी भाग्नुअघि के के भए?

फाइल तस्बिर : अफगानिस्तानका अपदस्थ राष्ट्रपति असरफ गनी।

तालिबानले पहिलो सत्ता गुमाएको २० वर्षपछि अफगानिस्तानमा फेरि आफ्नो नयाँ सरकार घोषणा गरिसकेको छ।

शिक्षा, अन्तर्राष्ट्रिय लगानी र लोकतान्त्रिक भविष्यको आशाका साथ हुर्के/बढेको पिँढीलाई तालिबानको घोषणा अविश्वसनीय लाग्न सक्छ। यस परिस्थितिमा प्रश्न उठ्छ– राष्ट्रपति असरफ गनीको सरकार यति चाँडै कसरी ढल्यो? 

तालिबानलाई देशका एउटा ठूलो सहर कब्जा गर्नदेखि राजधानी काबुलसम्म पुग्न जम्मा १० दिन मात्र लाग्यो। 

यस्तो लाग्यो कि काबुलका कसैले पनि यसको कल्पानसम्म गरेका थिएनन्। धेरैजसो विश्लेषकले जबसम्म वार्ताद्वारा कुनै सहमति हुँदैन, तबसम्म तालिबानले काबुल कब्जा गर्न सक्दैनन् भन्ने विश्लेषण गरिरहेका थिए। 

तर अगस्ट १५ आइतबारका दिन एकाकए स्थिति बदलियो। 

काबुलको सिमानामा तालिबान प्रवेश गरेको केही घण्टाभित्रै राष्ट्रपति असरफ गनी र उनको सरकारका अन्य शीर्ष अधिकारी देशै छाडेर भागे। बाँकी रहेका अफगान सेना र प्रहरीले आफ्ना बर्दी खोले र अँध्यारोमा छाया हराएजस्तै गायब भए। 

अर्बाैं डलरको सैन्य सहायता र २० वर्षसम्म पश्चिमी मुलुकको प्रशिक्षण लिएका फौज भएको अफगान सरकार तालिबानसामु बरफजस्तै पग्लियो। 

विभिन्न स्रोतसँग गरिएका संवादका आधारमा बीबीसीले अफगान सरकारका  अन्तिम समयका केही घण्टाको कथा केलाउने प्रयास गरेको छः 

शनिबार १४ अगस्ट
उच्चस्तरीय स्रोतका अनुसार, शनिबार बिहान राष्ट्रपति असरफ गनी नजिकका मानिस चिन्तित त थिए तर डराएजस्तो देखिएका थिएनन्। 

राजधानी सुरक्षाका लागि एउटा योजना बनाइएको थियो र अफगानिस्तानमा शीर्ष अमेरिकी सैन्य अधिकारी, सेना प्रमुख जनरल अली जाई र एडमिरल वेस्लेबीच छलफल भइरहेको थियो। योजनाको उद्देश्य वार्ताका लागि तालिबानलाई काबुल सहरबाहिरै रोक्नु थियो।

देशको सबैभन्दा प्रान्त हेलमन्डका कमान्डर सामी सादातलाई काबुलको नयाँ सुरक्षा टोलीको नेतृत्व गर्नु थियो। योजनाअनुसार आवश्यक परेका खण्डमा अफगान फौज तालिबान लडाकुसँग लड्ने, तर सकेसम्म शान्ति वार्ताकै माध्यमबाट तालिबानलाई काबुल नआउन सहमत गराउने प्रयास गरिएको थियो। 

यसो गर्न सम्भव नभएका खण्डमा काबुलको प्रशासनलाई सहर खाली गर्न केही समय लाग्छ। 

तर लेफ्टिनेन्ट जनरल सादात अझै पनि आफ्नो पुरानै टोलीका साथमा थिए। तालिबानले उत्तरको सबैभन्दा ठूलो सहर मजार–ए–सरिफ कब्जा गर्दैै थियो र पूर्वीसहर जलालाबादमा प्रवेश गर्ने कोसिस गरिरहेको थियो। 

सीमित प्रतिरोधपछि उसले दुवै सहर आफ्नो नियन्त्रणमा लियो। 

काबुल तालिबानको अधीनमा आएको अन्तिम सहर थियो। 

आईएमएफका पूर्वअधिकारी असरफ गनी सन् २०१४ सेप्टेम्बरमा अफगानिस्तानको राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

आलोचकका अनुसार राष्ट्रपति गनी आफ्नो कार्यकालका अन्तिमका केही हप्ता तालिबानको जोखिमलाई ठीक ढंगले अनुमान गर्नबाट धेरैपटक चुके। तर पक्कै पनि अफगानिस्तानका पूर्वराष्ट्रपति मोहम्मद नजिबुल्लाहलार्ई जे भएको थियो, त्यो कुरा उनको दिमागमा आयो होला। असरफ गनीले आफूले देश छाड्नु पर्नाको कारण बताउँदै जारी गरेको सन्देशमा यो कुरा उल्लेख पनि गरेका थिए। 

यसअघि सन् १९९६ मा तालिबानले काबुल कब्जा गरेपछि तत्कालीन राष्ट्रपति  नजिबुल्लाहलाई गिरफ्ता गरेका थिए। उनले राजीनामा त सन् १९९२ मै दिइसकेका थिए, तर काबुल अफगान मुजाहिदिनले नियन्त्रण गरेपछि उनले देश छाड्न पाएनन्। त्यसैले उनले संयुक्त राष्ट्र संघको भवनमा शरण लिए। 

सन् १९९६ मा तालिबानले उनलाई संयुक्त राष्ट्र संघको भवनबाट बाहिर निकाले र हत्या गरिदिए। त्यसपछि उनको पार्थिव शरीरलाई राष्ट्रपति भवनबाहिर ट्राफिक बत्तीमा झुन्ड्याइदिए। 

आइतबार, १५ अगस्ट 
जति जति दिन ढल्किँदै गइरहेको थियो, उति उति काबुलका बासिन्दाबीच तालिबान काबुल सहरको सिमानामा आइपुगेको खबर व्यापक रूपमा फैलिन थाल्यो। यो खबरले सर्वसाधारणमा त्रास बढ्न थाल्यो, काबुलका विमानस्थल र बैंकको बाहिर मानिसको लामो लाइन लाग्न थाल्यो। 

तर त्यति बेलासम्म पनि राष्ट्रपति गनीका नजिकका सहयोगीलाई यति चाँडै काबुलको पतन होला भन्ने लागेको थिएन। काबुलस्थित राष्ट्रपति भवनमा काम गर्ने कर्मचारी सधैं झैं आफ्नो नियमित काम गर्न आए।  

अगस्ट १४ मा भएको छलफलले मानिसमा यति चाँडै अस्थिरता पैदा नहोला भन्ने विश्वासमा थिए।

असरफ गनीका निकट सहयोगी सलाम रहिमी पर्दा पछाडि तालिबानसँग वार्तामा थिए र यस क्रममा तालिबानले काबुल बलपूर्वक कब्जा नगर्ने र अन्तरिम सरकारमा संयुक्त सत्ताको प्रस्ताव गर्ने सहमति होलाजस्तो भइरहेको थियो। 

यसले विदेशी नागरिकलाई अफगानिस्तान छाड्न समय पाउने र कतारमा जारी वार्ता सफल हुने थियो। 

काबुलका बासिन्दाको साहस बढाउन असरफ गनीको समूहले आइतबार एक भिडिओ जारी गर्यो, जसमा ऊ आफ्ना आन्तरिक मन्त्रीसँग सहरको सुरक्षाबारे छलफल गरिरहेको देखिन्थ्यो। भिडिओमा गनीको समूहका सदस्य गृहमन्त्रीसँग फोनमा संवाद गरिरहेको देखिन्थ्यो। भिडिओ हेर्दा यस्तो लाग्थ्यो– तालिबानसँग कुनै सम्झौता हुँदै छ र काबुलमा कुनै लडाइँ हुने छैन। 

तर सम्भवतः उक्त भिडिओ सन्देशले उनीहरूकै वरिष्ठ मन्त्रीहरूलाई पनि प्रेरित गर्न सकेन। 

बीबीसीलाई स्रोतले बताएअनुसार राष्ट्रपपित आफ्नो समूहका वरिष्ठ सदस्यहरूसम्म पनि पुग्न पाएनन्। उपराष्ट्रपति अमरुल्लाह सालेह पहिले नै पन्जसिर उपत्यका पुगिसकेका र रक्षामन्त्री बिस्मिल्लाह खानसँग सम्पर्क हुन सकिरहेको थिएन। उनको योजना बिग्रिँदै गइरहेको थियो। 

यसैबीच अफगानिस्तानका झन्डै १२ जना राजनीतिक नेता एक व्यावसायिक उडानमार्फत इस्लामाबाद जाने तयारी गर्दै थिए। यस टोलीमा पूर्वउपराष्ट्रपति करिम खलिली र राष्ट्रिय सभाका अध्यक्ष मिर रहमान रहमानी पनि थिए। 

प्रतिनिधिमण्डलका एक सदस्य तथा कृषि मन्त्रालयका एक अधिकारी साकिब सरिफीले पछि उनीहरूको यात्रा देश छाड्नेअन्तर्गत भएको कुरा अस्वीकार गरे। 

उनले भने, ‘हाम्रो उद्देश्य पाकिस्तानी सरकारको हस्तक्षेपको कुरा गरेर रक्तताप रोक्ने थियो।’

तर राष्ट्रपति असरफ गनी उनीहरू नजाउन् भन्ने चाहन्थे। साकिब सरिफीका भनाइमा– असरफ गनीलाई डर थियो कि कुनै त्यस्तो सम्झौता नगरून् जसका कारण आफू सत्ताबाट बाहिरिन परोस्। 

विश्लेषहरूका अनुसार राष्ट्रपतिलाई राष्ट्रिय सभाका अध्यक्षलाई देश छाड्ने अनुमति दिँदा अराजकता बढ्छ भन्ने लागिरहेको थियो। 

साकिब सरिफीका अनुसार प्रतिनिधिमण्डलसँग विमानस्थल जाँदै गर्दा उनले सरहका चारैतिर डरको माहोल देखे। 

उनले भने, ‘हामीले तालिबान काबुलको सिमानमा आइपुगेको सुनेका थियौं, तर  यो यति छिट्टै होला भन्ने लागेको थिएन। यसले गर्दा अन्तिम रात निकै तनावपूर्ण भयो र हामी हतियारसँगै सुतेका थियौं।’

उनका अनुसार बैंकको बाहिर मानिसको लाइन लागेको थियो र डलर निकाल्ने प्रयास गरिरहेका थिए। विमानस्थल नजिकका क्षेत्रमा बाक्लो संख्यामा सवारीसाधन थिए। 

ट्राफिक जाम यति धेरै थियो कि उपराष्ट्रपति खलिली गाडीबाट उत्रेर विमानस्थलसम्म पुग्न १५ मिनेट हिँड्नुपरेको थियो। जब उनी विमानस्थल पुगे तब तालिबान अगाडि बढिरहेको खबर लगातार आइरह्यो।  

उनले भने, ‘हरेक पल खबर आइरहेको थियो– तालिबानले सहरको प्रमुख स्थान कब्जा गर्यो। यो सबैभन्दा डरलाग्दो थियो।’

उनका अनुसार विमानस्थलभित्र पनि अराजकता व्याप्त थियो, कुनै नियम/कानुन भन्ने कुनै चिज थिएन। 

बीबीसीका एक संवाददाताले त्यहाँ मानिसहरू अन्तिम उडानको टिकट लिन दौडधुप गरिरहेको देखे। भीआईपी मानिसहरू आउनेबित्तिकै केही सर्वसाधारणको टिकट रद्द भइरहेका थिए। 

बिस्तारै बिस्तारै सीमा अधिकारी र विमानस्थलका सुरक्षाकर्मी पनि हराउन थाले र मानिसहरू विमानस्थलतर्फ को टमार्कतिर जान थाले। 

साकिब सरिफीको प्रतिनिधिमण्डल अन्ततः पीआईएको उडानमा सवार भयो। तर एयर ट्राफिक कन्ट्रोलले विमान उड्न दिएन। 

सरिफी भन्छन्, ‘हामीलाई लागिरहेको थियो– तालिबानले कुनै पनि बेला विमानस्थल कब्जा गर्न सक्छन्। हामीलाई डर लागिरहेको थियो– यदि तालिबान विमानमा चढे भने आफ्नो सुरक्षा कसरी गर्ने! एउटा चिज मात्रै देखिन्थ्यो– मेरो ल्यापटमको ब्याट्री, जसलाई आवश्यक परेमा प्रयोग गर्न सकिन्थ्यो।’

आइतबार दिउँसो
यसैबीच राष्ट्रपति भवनको स्थिति बिग्रिँदै थियो। असरफ गनी अझै पनि साहसका साथ रक्षा र गृह मन्त्रालमा आफ्ना शीर्ष अधिकारीहरूसम्म पुग्ने प्रयास गरिरहेका थिए। तर उनी सफल हुन सकेनन्। 

एक वरिष्ठ सरकारी अधिकारीले बीबीसीसँग  भने, ‘यस्तो लागिरहेको थियो– पूरै सरकारी संयन्त्र तहसनहस भयो र उच्च पदस्थ अधिकारीसहित मानिसहरू विभाजित छन्। जसलाई एकअर्काे समूहबारे केही थाहा थिएन। 

उनले भने, ‘हामी राष्ट्रपति भवनबाट मार्गदर्शनको आशा गरिरहेका थियौं। तर त्यहाँबाट कुनै सन्देश आइरहेको थिएन।  

असरफ गनी स्वयंका चारैतिरका घेरा तीव्र गतिमा खाली हुँदै थिए। बाँकी रहेकाहरू पनि अलग हुँदै थिए। धेरैवटा स्रोतले बीबीसीलाई बताएअनुसार गनीसँग उनका एक मात्र प्रमुख निर्णयकर्ता राष्ट्रिय सुरक्षा सल्लाहकार, हमदुल्ला मोहिब र उनका प्रमुख कर्मचारी फजल फाजली मात्र थिए। 

संयुक्त राज्य अमेुिरकामा राजदूत रहिसकेका पश्चिमी मुलुकमा अध्ययन गरेका ३८ वर्षीय हमदुल्ला मोहिब असरफ गनी सबैभन्दा विश्वसनीय सहयोगी थिए। उनको कुनै सैन्य वा सुरक्षा पृष्ठभूमि नहुँदा नहुँदै पनि असरफ गनीले उनलाई सन् २०१८ मा आफ्नो राष्ट्रिय सुरक्षा सल्लाकार बनाएका थिए र महत्त्वपूर्ण सैन्य निर्णय गर्ने अधिकार दिएका थिए। 

राष्ट्रपति भवनको आन्तरिक स्रोतले बताएअनुसार दिउँसोतिर हमदुल्ला मोहिबले जबर्जस्ती एउटा निकासका लागि जोड दिन थाले। एक घन्टापहिले दरबारबाहिर गोली चलेको आवाज सुनियो। त्यहाँ रहेका मानिसका अनुसार असरफ गनी आफैं जान हिचकिचाइरहेका थिए। मोहिबले राष्ट्रपतिको ज्यान खतरामा रहेको बताए। 

राष्ट्रपति भवनको एक भित्री स्रोतले भन्यो, ‘मोहिबले गनीसँग भने, ‘तालिबान राष्ट्रपति भवनतर्फ आइरहेका छन् र तिनले तपाईंलाई समातेर मार्नेछन्। उनी धेरै चिन्तित थिए।’ 

त्यस बेला पूरै काबुलमा अनिश्चितताको वातावरण छाइरहेको थियो। 

काबुल निवासी एक स्थानीयले बीबीसीसँग भने, ‘म कार्यालयमा थिएँर दिउँसो करिब २ बजेसम्ममा तालिबान लडाकुर सहरभित्र रहेका तस्बिरले सामाजिक सञ्जाल भरिइसकेका थिए। साथीहरूले देश छाड्न धमाधम सामान मिलाउन थालिसकेका थिए।’ 

उनले अगाडि सुनाए, ‘हामी एकअर्कासँग कुरा गरिरहेका थिएनौं। म कार्यालयबाट बाहिरिँदा सडकमा भिड लागिरहेको थियो। पसलहरू बन्द थिए। मैले गोली चलेको आवाज सुनेँ।’ 

धेरै स्रोतले भनेअनुसार राष्ट्रपतिका निजी सुरक्षाकर्मी राष्ट्रपति भवनबाट भाग्ने योजनाको विरोधमा थिए। जब राष्ट्रपति गनी, उनका पत्नी र समूहलाई लिन तीनवटा हेलिकोप्टर दरबार आइपुगे तब चालक दल र बाँकी अंगरक्षकाबीच चर्काे भनाभन भयो।   

असरफ गनी आफैंले यूएई पुगेपछि एक सन्देश जारी गर्दै आफूले ठूलो मात्रामा पैसा लगेको भन्ने आरोपको खण्डन गरे। बिहानै करिब साढे ३ बजे राष्ट्रपति गनी, उनका निकट सहयोगी हमदुल्ला मोहिब र फाजलीसहित केही मानिस हेलिकोप्टर चढेर राष्ट्रपति भवनबाट बाहिरिए।

त्यहाँबाट उनी उज्बेकिस्तानको टरमेज पुगे र फेरि संयुक्त अरब इमिरेट्स गए। राष्ट्रपति गनीले देश छाडेको केही बेरपछि तालिबान लडाकु राष्ट्रपतिको भवनभित्र त्यही टेबलमा बसे, जहाँ केही बेरअघि राष्ट्रपति गनी बसिरहेका थिए। र, त्यो तस्बिर विश्वभर सार्वजनिक गरियो। 

ती तस्बिरमा गनीले बिहान पत्रकार सम्मेलनका क्रममा राखेको एउटा किताब टेबुलमा अझै पनि देखिइरहेको थियो। अब तालिबानले नयाँ अध्याय सुरु गरिरहेका थिए। 

उता अन्य वरिष्ठ सरकारी अधिकारी एयरपोर्टमा असरफ गनीको प्रतीक्षा गरिरहेका थिए। गनी भागेको खबर आइसकेको थिएन।  

ती अन्तिम घण्टा
एक वरिष्ठ सरकारी अधिकारीले भने, ‘म साँच्चै विमानस्थलमा पर्खिरहेका मन्त्रीसहित दुई दर्जन उच्च पदस्थ अधिकारी गन्न सक्छु। सबै एकले अर्कासँग राष्ट्रपति गनीबारे सोधिरहेका थिए। तर कसैलाई थाहा थिएन, राष्ट्रपति कहाँ छन्?’

पीआईएको उडान पीके ६२५०, सरिफी र उनको टोलीका अन्य सदस्यका साथ साढ़ ४ घण्टासम्म विमानस्थलमा रोकिएका थिए। एयर ट्राफिक कन्ट्रोल मौन थियो। 

उडानबारे पाइलटले निर्णय गर्नुपर्यो।  

अर्कातर्फ विमानथस्लमा चिनुक हेलिकोप्टर र अन्य अमेरिकी सैन्य विमानले भने लगातार उडान भरिरहेका थिए। 

पाइलट मकसुद बजरानीले बिनाअनुमति उडान गर्ने निर्णय गरे।ण् यो साहसिक निर्णयका कारण उनले पाकिस्तानमा एउटा नायकका रूपमा चर्चा कमाए।  

‘म धेरै खुसी थिएँ, हाम्रो विमानले अन्ततः उडान गर्यो।  साथै दुःखी पनि थिएँ, किनकि थाहा थिएन– हामी फेरि कहिले फर्किन पाउँछौं!’

त्यसबेला उनीहरूलाई थाहा थिएन– राष्ट्रपतिले पहिले नै देश छाडिसकेका छन्। 

केही दिनपछि राष्ट्रपति असरफ गनीले संयुक्त अरब इमिरेट्सबाट फेसबुकमा लाइभमा देखा परे, जहाँ उनलाई मानवताका आधारमा बस्ने अनुमति प्राप्त भयो। 

राष्ट्रपति गनीले अति आवश्यकताका बेला भागेको भनेर व्यापक आलोचना खेप्न पर्यो। असरफ गनीले फेसबुकमार्फत आफू देश छाड्न बाध्य हुनुपरेको कारणबारे स्पष्टीकरण दिने प्रयास गरे। 

उनले भने, ‘काबुल छाड्ने निर्णय मेरो थिएन। यो निर्णय मेरो निकट सुरक्षा समूहले गरेको थियो। म बसिरहेको भए, रक्तपात हुन्थ्यो।’ 

उनले अगाडि भने, ‘२५ वर्षपहिले जे भएको थियो, त्यो फेरि हुँदै थियो। मलाई अफगानिस्तानका नागरिकसामु फाँसीमा झुन्ड्याइन्थ्यो र यो हाम्रो इतिहासमा एउटा भयानक विपत्ति हुन्थ्यो।’ 

आइतबार दिउँसो तालिबानले जुन गतिमा काबुल कब्जा गर्यो, त्यो केही मानिसका लागि आश्चर्यजनक थियो। तर देशका अन्य भागबाट यसको संकेत देखिन थालिसकेको थियो। 

बीबीसी न्युजलाई स्थानीय स्तरमा सम्झौताका विषयमा केही जानकारी प्राप्त भएका छन्। त्यसअनुसार एक दक्षिणी प्रान्त तालिबानलाई सुम्पिइएको थियो। 

पाकिस्तानी सीमावर्ती प्रान्त जाबुलमा तालिबानको एक स्रातले भन्यो– सन् २०१४ मा यस प्रान्तबाट अमेरिकी सैनिक फर्किएपछि अफगान सौनिकलाई कुनै सहयोगबिनै छाडिएको थियो। 

जाबुलको सिन्काई जिल्लामा तालिबानसँग कुराकानी गर्ने एउटा समूहले बीबीसीसँग भन्यो– जब अमेरिकी सेना जाबुल आइपुगे, उनीहरूले व्यावसायिक चौकी र अड्डा खडा गरे। तर जब उनीहरू गए, तब अफगानिस्तानका सेना सहायता दिन असफल भए। तालिबानले उनीहरूको आपूर्ति लाइन काटे र अफगान सेनालाई काम गर्न नसक्ने बनाए। 

पहलेदेखि अधिकांश ग्रामीण इलाका कब्जा गरिसकेका तालिबानी लडाकुले बिस्तारै बिस्तारै चौकी पनि नियन्त्रण गर्न थाले र अफगान सेनालाई ब्यारेकमा फर्किन बाध्य पारे। 

जुन २०२१ मध्यसम्म जाबुलको स्थिति स्पष्ट रूपमा तालिबानका पक्षमा थियो। 

जाबुलको सिनकाई जिल्लामा तालिबानसँग वार्ता गरेको समूहका एक सदस्यले बीबीसीसँग भने, ‘हामीले स्थानीय परम्पराअनुसार आदिवासी जिरगासँग कुराकानी गर्ने निर्णय गर्यौं।’ 

जाबुलको सिन्काई जिल्लामा तालिबान वार्ता टोलीका एक सदस्यले बीबीसीसँग भने, ‘हामीले हाम्रो स्थानीय परम्पराअनुसार आदिवासी जिर्गासँग वार्ता गर्ने निर्णय गर्यौं।’ 

यह वार्ता जुन १५ देखि २ दिनसम्म चल्यो र यसमा सबै पक्षका दर्जनों प्रतिनिधि सहभागी थिए। जसको नेतृत्व एक स्थानीय तालिबान कमान्डर मुखलिसले गरेका थिए भने अध्यक्षता जाबुलका डेपुटी गभर्नर इनायतुल्ला होटकले गरेका थिए। वार्तामा दुई मुख्य विषय थिए। अफगान सेनाको सुरक्षाको ग्यारेन्टी कसरी गर्ने र तालिबान तथा स्थानीयबीच हतिरयार कसरी वितरण गर्ने? 

भोलिपल्ट एउटा सम्झौता भयो जसमा आदिवासी नेताहरू तालिबानलाई अफगान सेना र हतियार हस्तान्तरण गर्न सहमत भए जसले उनीहरूलाई प्रान्तीय राजधानी कलातका लागि एउटा सुरक्षित बाटोको आश्वासन दियो। 

हरेक सैनिकलाई ५ हजार अफगान रुपैयाँ, व्यक्तिगत सुरक्षाका लागि एउटा हल्का हतियार र सहर खाली गर्न पर्याप्त सवारीसाधन दिइएको थियो। 

तालिबानको नियन्त्रणमा रहेको कालात जान सयौं अफगान सैनिकले जुन १६  मा सिन्काई छाडे।   

स्रोतले बताएअनुसार एकपछि अर्काे जाबुलमा अन्य धेरै स्थानीय ब्यारेकमा पनि यस्तै सम्झौतामा हस्ताक्षर गरिएको छ, जसले सुरक्षित बाटोको ग्यारेन्टी गरे। 

केही दिनपछि तालिबानले काबुल कब्जा गरे। बीबीसीबाट भावानुवाद

यो पनि–

देश छाडेर भागेका अफगानिस्तानका पूर्वराष्ट्रपतिले दोस्रोपटक दिए स्पष्टीकरण

भदौ २७, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .