ग्लोबल


सम्पन्न देशका सेनासँग २० वर्षसम्म युद्ध गर्न तालिबानले कहाँबाट पायो पैसा? यी हुन् चार प्रमुख आयस्रोत

सम्पन्न देशका सेनासँग २० वर्षसम्म युद्ध गर्न तालिबानले कहाँबाट पायो पैसा? यी हुन् चार प्रमुख आयस्रोत

नेपालखबर
भदौ ३०, २०७८ बुधबार २०:२२, काठमाडौँ

अमेरिकी नेतृत्वमा रहेको गठबन्धनका सेनासँग २० वर्षसम्म युद्ध गरेर तालिबान दोस्रोपटक अफगानिस्तानको सत्तामा आउन सफल भएको छ। एकपछि अर्काे प्रान्त गर्दै हतियारकै बलमा तालिबानले गत अगस्ट १५ तारिख अफगानिस्तानको राजधानी काबुल कब्जा गर्यो।

त्यसपछि सम्झौताबमोजिम अमेरिकीलगायत उसका गठनबन्धनमा रहेका सबै सेना अफगानिस्तानमा जारी दुई दशकदेखिको युद्ध अन्त्य गर्दै समयसीमा (डेडलाइन) अगस्ट ३१ अघि नै बिदा भइसकेका छन्, आआफ्ना देशमा फर्किसकेका छन्। 

यसबीच यही सेप्टेम्बर ७ मा तालिबान संगठनले अफगानिस्तानमा आफ्नो सरकारसमेत घोषणा गरिसकेको छ। 

तर फर्केर हेर्दा तालिबानका लागि २० वर्षसम्म अमेरिकी गठबन्धनका सेनासँग संघर्ष गर्नु कम्ता कठिन थिएन। तालिबानका लडाकुहरूविरुद्ध विश्वका धनी देशका सेना भिडिरहेका थिए। जाेसँग पैसाको त कुनै खाँचो थिएन नै, आधुनिक हातहतियार पनि प्रशस्त थिए। अर्कातर्फ तालिबानको अवस्था ती दुवै कुरामा खासै केही थिएन।

तर एक अनुमानअनुसार सन् २०११ मा तालिबानी लडाकुको संख्या ३० हजार थियो जुन संख्या बढेर सन् २०२१ मध्यतिर ७० हजारदेखि एक लाखबीच पुग्याे। यति ठूलो संगठन र अतिवादी अभियान सञ्चालन गर्न पक्कै ठूलो आर्थिक जाेहाे गर्नुपर्ने हुन्छ।

अब प्रश्न उठ्छ– उसाे भए तालिबानले यति धेरै आर्थिक सहयाेग कहाँबाट पायाे त? देशभित्रैबाट कि बाहिरबाट? 

आखिर कति धनी छ तालिबान? 
तालिबानले यसअघि अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो। तर तालिबानको आय स्रोतबारे आम नागरिकसँग कुनै विश्वसनीय र ठोस जानकारी छैन। उनीहरूको आर्थिक कारोबार थाहा पाउने प्रयास गर्नु एउटा अनुमान गर्नुजस्तै हो। 

तर बीबीसीले अफगानिस्तान भित्र र बाहिरका धेरै मानिससँग कुरा गरेर प्रशस्त सूचना संकलन गरेको छ। यसबाट के बुझियो भने तालिबानको आर्थिक संरचना एकदमै जटिल छ। 

सन् २०११ मा तालिबानको वार्षिक आम्दानी झन्डै ४७ सय करोड रुपैयाँ (नेपाली) थियो। तर बीबीसीले आफ्नो अनुसन्धानबाट सन् २०१८ अन्त्यसम्म यो आँकडा बढेर १७ हजार ६ सय करोड रुपैयाँ (नेपाली) पुगेको पाइयो। अब त सत्तामा पुगिसकेकाले उसको आम्दानी झन् निकै बढ्ने अनुमान गर्न सकिन्छ। 

तालिबानका आम्दानीका चार प्रमुख स्रोत
तालिबानबारे एउटा आमधारणा छ– उसको आम्दानीको मुख्य स्रोत अफिम र यसबाट बन्ने नशालु पदार्थ हेरोइन हो। तर जानकारहरू यो कुरा पूरै सही भने नभएको बताउँछन्। 

उनीहरू भन्छन्, ‘अफिमका साथै आफूले कब्जा गरेका इलाकामा लगाउने गरिएका कर पनि तालिबानका आम्दानीका स्रोत हुन्। साथै विदेशबाट प्राप्त हुने चन्दा र खनिज कारोबार पनि उनीहरूको कमाइका माध्यम हुन्। 

मूलतः तालिबानका आम्दानीका चार प्रमुख स्रोत छन्। 

१.विदेशबाट प्राप्त हुने चन्दा 
पूर्वअफगान सरकार र अमेरिकी अधिकारीले लामो समयदेखि लगाइरहेको आरोप हो– पाकिस्तान, इरान, रुस, साउदी अरब, संयुक्त अबर इमिरेट्स, कतारलगायत धेरै खाडी मुलुकले तालिबानलाई आर्थिक सहयोग गरिरहेका छन्। तालिबानसँग उनीहरूको सम्बन्ध लामो समयदेखि छ। तर यी देशले यो कुरा कहिले स्वीकार गरेनन्। 

के पनि विश्वास गरिन्छ भने पाकिस्तानसहित साउदी अरब, संयुक्त अबर इमिरेट्स, कतारजस्ता खाडी मुलुकका नागरिकले व्यक्तिगत रूपमा पनि तालिबानलाई आर्थिक सहयोग गरिरहेका छन्। ​

तालिबानलाई विदेशबाट प्राप्त हुने सहयोगको वास्तविक तथ्यांक थाहा पाउन त असम्भव छ, तर पनि जानकारहरू के विश्वास गर्छन् भने तालिबानले हरेक वर्ष झन्डै ५० करोड डलर अर्थात् नेपाली रुपैयाँ झन्डै ५ अर्ब ९० लाख विदेशबाट सहयोग पाइरहेका छन्।   

यसअघि अमेरिकाको एक गुप्तचर रिपोर्टमा तालिबानले सन् २००८ मा विदेश खासगरी खाडी मुलुकबाट १०.६ करोड डलर प्राप्त भएको अनुमान गरिएको थियो। 

२. लागुऔषधको कारोबार
तालिबानले लामो समयदेखि अफिम, हेरोइनजस्ता लागु पदार्थको अवैध कोरोबार गरिरहेको विश्वास गरिन्छ्। 

स्मरण रहोस्– अफगानिस्तान विश्वमै सबैभन्दा बढी अफिम र हेरोइन उत्पादन गर्ने मुुलुक हो। हेरोइन अफिमबाटै बन्छ। एक अनुमानअनुसार अफगानिस्तानबाट हरेक वर्ष १.५ देखि ३ अर्बसम्मको अफिम अन्य देशमा पठाइन्छ। 

अफगान अधिकारीहरूका अनुसार तालिबानले किसानलाई अफिम खेती गर्न लगाइरहेको छ र उनीहरूबाट १० प्रतिशत कर उठाउँछ। साथै हेरोइन बनाउने प्रयोगशालाबाट तालिबानले कर असुल्छ। यी सबै गर्दा तालिबानले वर्षको १० देखि ४० करोड डलर (नेपाली रुपैयाँ ११ अर्ब ७८ करोडभन्दा केही बढीदेखि ४७ अर्ब ७० करोडभन्दा माथि) को बीचमा आम्दानी गर्ने गरेको अनुमान गरिएको छ।  

सन् २०१८ मा अमेरिकी कमान्डर जनरल जोन निकोलसनले एक रिपोर्टमा भनेका थिए– तालिबानले गर्ने आम्दानीमध्ये ६० प्रतिशत रकम अवैध लागुऔषधको धन्धाबाट आउँछ। तर धेरै जना जानकार उनको यो अनुमान एकदमै धेरै भएको भन्दै अस्वीकार गर्छन्। 

३. कब्जा क्षेत्रहरूबाट कर
तालिबानको आम्दानी अफिम खेतीबाट र बिक्रीबाट मात्र हुँदैन। यसको प्रमाण सन् २०१८ मा अफगान व्यवसायीहरूलाई लेखिएको पत्र हो, जसमा तालिबानले उनीहरूबाट तेल, निर्माण सामग्रीसहित विभिन्न उत्पादनको कर दिन भनिएको थियो। 

वास्तवमा जुन इलाकामा तालिबानको प्रभाव छ, त्यहाँका नागरिकबाट उसले विभिन्न किसिमका कर संकलन गर्ने गर्छन्। 

पछिल्लो २ दशकमा पश्चिमी मुलुकका पैसा पनि नचाहँदा नचाहँदै पनि तालिबानको गोजीमा गएको छ। 

सबैभन्दा पहिले पछिल्लो २ दशकमा विश्वका धेरै देशको सहयोगमा अफगानिस्तानमा सडक, स्कुल, अस्पताल आदि बनाइएका छन्। तालिबानले यी सबै परियोजनाबाट पैसा असुलेका छन्। 

के पनि अनुमान गरिएको छ भने पश्चिमी मुलुकलाई सामान आपूर्ति गर्ने ट्रकहरूबाट पनि तालिबानले हरेक वर्ष करोडौं डलर उठाएका छन्। यसबाहेक अफगान सरकारद्वारा आम नागरिकलाई प्रदान गरिएको सेवाहरूबाट पनि तालिबानले निकै कमाइ गरेको छ। 

अफगानिस्तानको बिजुली कम्पनीका अध्यक्षले सन् २०१८ मा बीबीसीसँग भनेका थिए, ‘बिजुली प्रयोग गर्नेहरूबाट तालिबानले रकम असुल्छन्।’ 

उनको अनुमान थियो– यसबाट तालिबानले हरेक वर्ष २० लाख डलर आम्दानी गर्थे। 

तालिबानले जब कुनै इलाका कब्जा गर्थे तब त्यहाँबाट उसले पैसाका साथै धेरै सामान, गाडी, हतियार आ​दि पनि प्राप्त गर्थे। लगातार लडाइँ गरिरहने संगठनका लागि यो पनि आम्दानीको महत्त्वपूर्ण स्रोत हो। 

४. खानी र खनिजबाट आम्दानी
खनिज र मूल्यवान् पत्थरमा अफगानिस्तान निकै धनी छ। दशकौंदेखि युद्ध भइरहेकाले यिनको पर्याप्त उत्खनन हुन सकेन। पूर्वअफगान अधिकारीहरूका अनुसार अहिले देशमा खानी उद्योग एक अर्ब डलर हाराहारीमा छन्।

अफगानिस्तानको धेरैजसो खानी साना स्तरका छन् र अधिकतर अवैध ढंगले उत्खनन गरिन्छ। 

सन् २०१४ मा प्रकाशित यूएनको एक रिपोर्टमा भनिएको थियो– तालिबानले हेलमन्ड प्रान्तमा २५ देखि ३० वटा अवैध खानी परियोजनाबाट हरेक वर्ष डेढ करोड (नेपाली रुपैयाँ) भन्दा बढी कमाउँछन्। बीबीसीबाट भावानुवाद

यो पनि :

तालिबानका यी दुई शीर्ष नेता ‘बेपत्ता’, यस्ता आशंका!

तालिबानले अफगानिस्तान कब्जा गरेको एक महिना पूरा, यस अवधिमा त्यहाँ के के भए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad