दुई दिनदेखिको अविरल वर्षापछि आइतबार बिहानबाट काठमाडौँको आकाश खुलेको छ। यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लामा घाम लागेको छ।
१७ गते रातिदेखि परेको पानी १८ गते रातिसम्म एकनासले पर्दा काठमाडौँका नदीमा पानीमा बहाव उच्च भएको हुन पुगेको थियो भने तटीय क्षेत्रहरूमा डुबानमा परेका थिए।
वर्षाकै कारण काठमाडौँको सोल्टीमोडमा सडक भासियो। देशका मुख्य-मुख्य राजमार्गहरूमा पनि क्षतिग्रस्त भए। बीपी राजमार्गका १२ ठाउँमा पहिरो गयो भने ६०० मिटर सडक बग्यो।
पृथ्वी राजमार्गको पनि ठाउँ ठाउँमा पहिरो गयो। आँबुखैरेनीमा भर्खरै बनाइएको ड्यामसाइट पुन: भासियो। जसका कारण आज बिहान पनि यो राजमार्ग हुँदै काठमाडौँ आउने सवारीसाधनलाई मुग्लिनमै होल्ड गरिएको थियो। अहिले भने मौसम खुल्ने क्रमसँगै एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
त्यस्तै, हालसम्मको जानकारीअनुसार बाढी-पहिरोमा परी देशभर ४० जनाको मृत्यु भइसकेको छ भने ११ जना बेपत्ता छन्।
इलाममा ठूलो मानवीय क्षति हुन पुगेको छ। पहिरोमा पुरिएर इलामका विभिन्न ठाउँमा हालसम्म २८ जनाको शव फेला परेको छ।
हिजो दिनभर काठमाडौँ उपत्यकासहित देशको मध्य तथा पूर्व क्षेत्रको जनजीवन कष्टकर बन्यो। दिनैभर झरीमा डुब्यो।
दुई दिन घाम नदेखेको काठमाडौँ उपत्यका आइतबार बिहानदेखि भने घमाइलो बनेको छ। आकाश खुलेको छ।
आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरूले बताएका छन्।
सरकारले सार्वजनिक बिदा दिएका कारण काठमाडौँका सडकमा सवारीको चाप भने कम छ।
उपत्यकाका नदीहरूमा पानीको बहाव भने उच्च नै छ। कतिपय नदीमा बाढी यथावत् छ। नदी क्षेत्रका बासिन्दा हिजैदेखि सुरक्षित आश्रयस्थलमा छन्।















Shares

प्रतिक्रिया