कारोबार


काठमाडौंको जाम घटाउन १३ ठाउँमा १ खर्ब ८८ अर्बका पूर्वाधार

भूमिगत सुरुङ, अन्डरपासदेखि एलिभेटेड हाइवेसम्म बनाउने प्रस्ताव
काठमाडौंको जाम घटाउन १३ ठाउँमा १ खर्ब ८८ अर्बका पूर्वाधार

वाग्मती नदी, माइतीघर खण्ड र विष्णुमती नदीमा एलिभेटेड हाइवे निर्माण गर्ने प्रस्ताव (जाइका)


निर्दोष घोरसाइने
साउन ७, २०८३ बिहिबार १२:९, काठमाडौँ

काठमाडौं उपत्यकाको ट्राफिक प्रणाली सुधार गर्न १३ वटा मुख्य सडक पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ। 

जापानी सहयोग नियोग (जाइका)ले तयार पारिरहेको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना (काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टरप्लान)मा ट्राफिक प्रणाली सुधार गर्न १३ वटा सडक पूर्वाधार निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको हो। 

यी परियोजना तयार गर्न करिब १ खर्ब ८८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। 

पूर्वाधार विकास मन्त्रालय र जाइकाले तयार सो गुरुयोजना तयार पारेका हुन्। जसअनुसार ट्राफिक व्यवस्थापनका लागि भूमिगत सुरुङमार्गदेखि एलिभेटेड हाइवेसम्म बनाउने प्रस्ताव गरिएको छ। 

उपत्यकामा भूमिगत सुरुङमार्ग, एलिभेटेड हाइवे, सडक चौडा, नयाँ खोला करिडोर, नदी करिडोरका सडक सुधार, नयाँ पुल र इन्टरसेक्सन सुधार गर्नुपर्ने पनि औँल्याइएको छ।

जसअन्तर्गत महाराजगन्जमा अन्डरपास, चाबहिल–गौशाला खण्डमा भूमिगत सुरुङमार्ग, चाबहिल–बागमती नदी एलिभेटेड हाइवे, त्रिपुरेश्वर–माइतीघर एलिभेटेड हाइवे, विष्णुमती नदी करिडोर एलिभेटेड हाइवे, चक्रपथ गौशाला–तीनकुने खण्ड चौडा विस्तार, थापाथली–त्रिपुरेश्वर नयाँ खोला करिडोर, बागमती नदीमा कच्ची सडकलाई सुधार गर्ने, बुद्ध मार्ग इन्टरसेक्सन सुधार, विष्णुमती, धोबी खोला, कर्मनासा र ग्वार्कोमा नयाँ पुल निर्माण गर्नुपर्नेछ।

चाबहिल–गौशालामा भूमिगत सुरुङमार्ग
सीमित सडक विस्तारको सम्भावना र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरआसपासको संवेदनशील क्षेत्रलाई मध्यनजर गरी सुरुङमार्गको प्रस्ताव गरिएको हो। 

सो आयोजना युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्ने भएकाले माथिल्लो संरचना निर्माण गर्न सम्भव नदेखिएपछि यसैलाई निर्विकल्प समाधान मानिएको छ।

तर भूमिगत सुरुङ निर्माण गर्नुअघि विश्व सम्पदा प्रभाव मूल्यांकन (एसआईए) अनिवार्य रुपमा गर्नुपर्ने जाइकाको प्रस्ताव छ।

चाबहिल–गौशाला सडक चक्रपथ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ क्षेत्र, बौद्ध, जोरपाटी तथा पूर्वी काठमाडौंलाई जोड्ने मुख्य प्रवेशद्वार हो।

दैनिक हजारौँ सवारीसाधन यही मार्ग प्रयोग गर्ने भएकाले सामान्य समयमा पनि सवारी चाप अत्यधिक हुने गरेको छ। कार्यालय खुल्ने र बन्द हुने समयमा भने यो सडकमा लामो जाम नियमितजस्तै बनेको छ।

उपत्यकामा बढ्दो ट्राफिक व्यवस्थापनका लागि यस खण्डको हालको चार लेनको सडकलाई यथावत् राख्दै भूमिगत सुरुङमार्ग निर्माण गर्दा सडकको सवारी क्षमता वृद्धि हुने जाइकाको अपेक्षा छ। 

माथिल्लो सडकको सतहलाई अवरुद्ध नगरी हालकै चौडाइभित्र निर्माण सम्भव बनाउन (टीबीएम) दुई तहको सुरुङ निर्माण गर्न जाइकाले सुझाएको छ।

जाइकाको प्रस्तावअनुसार माथिल्लो तहबाट उत्तर (चाबहिल)तर्फ जाने सवारी र तल्लो तहबाट दक्षिण (गौशाला)तर्फ जाने सवारी सञ्चालन हुनेछ। यो व्यवस्था दक्षिणतर्फको चक्रपथसँग जोड्न सहज हुने भएकाले यस्तो प्रस्ताव गरिएको गुरुयोजनाको मस्यौदामा उल्लेख छ।

सुरुङमार्गको लम्बाइ १ हजार ५६३ मिटर र चौडाइ १५.५ मिटरको हुनेछ। जसमा ६.५ मिटरको दुईवटा सवारी गुड्ने बाटो हुनेछ। भित्री सोल्डर ०.२५ मिटरको र बाहिरी सोल्डर १ मिटरको दुई/दुई वटा निर्माण गरिनेछ।

चाबहिल–गौशाला खण्डमा भूमिगत सुरुङमार्ग निर्माण गर्न करिब ६८.५ अर्ब जापानी येन (६५ अर्ब रुपैयाँ) लाग्ने प्रारम्भिक अनुमान छ।

महाराजगन्जमा अन्डरपास 
चक्रपथको महाराजगन्ज खण्डमा हुने जाम कम गर्न अन्डरपास निर्माण गर्न जाइकाले सुझाएको छ। 

जग्गा अधिग्रहण गरेर सडक चौडा गर्न सम्भव नहुने देखिएपछि जाइकाले चारलेनको ३०९ मिटरको चार लेनको अन्डरपास निर्माण गर्न प्रस्ताव गरेको हो। चीनको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगन्जसँग विस्तार गर्ने योजना थियो। तर महाराजगन्ज खण्डमा मुआब्जा वितरणमा समस्या निम्तिदा चीनले कलंकी–बसुन्धार खण्ड मात्र विस्तार गर्नेगरी प्रक्रिया अघि बढाइरहेको छ। 

चक्रपथ हुँदै महाराजगन्ज र बाँसवारीतर्फ जाने सडकले अन्डरपासको छेउमा बन्ने सडक र चक्रपथ हुँदै यात्रा गर्ने सवारीले अन्डरपास प्रयोग गर्नेछन्। महाराजगन्ज–बाँसवारी चल्ने गाडी अन्डरपास माथिबाट गुड्ने छन्। जसको लागत ५.१ अर्ब जापानी येन लाग्ने अनुमान गरिएको छ।

तीन स्थानमा एलिभेटेड हाइवे
जाइकाले चाबहिल–जोरपाटी खण्डमा पर्ने वाग्मती नदी, माइतीघर खण्ड र विष्णुमती नदीमा एलिभेटेड हाइवे निर्माण गर्ने प्रस्ताव गरेको छ। 

हालको सडक विस्तार गर्न चुनौतीपूर्ण हुने भएकाले चाबहिल–जोरपाटी खण्डमा पर्ने वाग्मती नदीमा एलिभेटेड हाइवे सबैभन्दा उत्तम विकल्पको रुपमा प्रस्ताव गरिएको छ। यस खण्डमा विश्व सम्पदा सूचीमा पर्ने बौद्ध स्तुपा पर्ने भएकाले एसआईए गर्नुपर्ने उल्लेख छ। हालको ट्राफिकमामा न्यूनतम प्रभाव पर्ने गरी निर्माण विधि अपनाउनुपर्नेछ। ३४०० मिटर  एलिभेटेड हाइवे बनाउन २६ अर्ब जापानी येन लाग्ने अनुमान छ। 

माइतीघर खण्डमा हुने जाम व्यवस्थापन गर्न  १४२२ मिटरको एलिभेटेड हाइवे बनाउन प्रस्ताव गरिएको छ। जटिल संरचनाका कारण माइतीघर चोकमा लामो समयदेखि जामको समस्या रहँदै आएको छ। भायडक्ट संरचनाले त्रिपुरेश्वर–थापाथली–माइतीघर खण्डमा हुने ट्राफिक जाम कम गर्ने अपेक्षा गरिएको छ। 

यस खण्डमा पुलको खम्बा (पियर)का रुपमा रहने ‘ग्यान्ट्री’ संरचनाहरुलाई रेलमार्गका पूर्वाधारहरुसँग पनि प्रयोग गर्न सकिन्छ वा सकिँदैन भन्ने मूल्यांकन गर्नु आवश्यक छ। १३ अर्ब ९० करोड जापानी येन लाग्ने प्रारम्भि अनुमान छ। जसमा ६ करोड जापानी येन जग्गा अधिग्रण र घर टहराको क्षतिपूर्तिका लागि अनुमान छ। 

काठमाडौंको दक्षिण पश्चिम खण्ड हुँदै चल्ने सवारीसाधनका लागि थप वैकल्पिक विकल्पका रुपमा विष्णुमतीमा एलिभेटेड हाइवे बनाउन प्रस्ताव गरिएको छ। यसका लागि तीनवटा विकल्प दिइएको छ। पहिलो विकल्पको लागत ७५ अर्ब जापानी येन, दोस्रो विकल्पको लागत ५८ अर्ब जापानी येन र तेस्रो विकल्पका लागि ४५ अर्ब जापानी येन लाग्ने प्रारम्भिक अनुमान छ। 

गौशाला–तीनकुने खण्ड आठलेनमा विस्तार
जाइकाले हालको चार लेनको गौशला–तीनकुने खण्डलाई आठ लेनमा विस्तार गर्नुपर्ने प्रस्ताव गरेको छ। जसमा चार लेनको मुख्य सडक र दुवैतर्फ दुई/दुई लेनको सर्भिस लेन बनाउन सुझाएको छ। 

यस खण्डमा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। साँघुरो सडकका कारण विमानस्थलभित्र छिर्ने र निस्कने सवारीका कारण सिधै अगाडि जाने सवारीसाधनको आवागमन अवरुद्ध हुने गरेको छ। जाइकाले उक्त समस्या समाधानका लागि दायाँ मोडिने सवारीका लागि छुट्टै लेन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको छ। 

यो खण्ड विस्तार गर्न ६ अर्ब १० करोड लाग्ने अनुमान छ। जसमा जग्गा अधिग्रहणमा मात्रै ५ अर्ब ४० करोड जापानी येन लाग्ने खर्ब हुने अनुमान छ। 

५ ठाउँमा नयाँ पुल, करिडोर विस्तार
जाइकाले हाल काठमाडौं उपत्यकामा भइरहेको ट्राफिक जाम न्यूनीकरण गर्न करिडोर विस्तार, पाँच ठाउँमा नयाँ पुल निर्माण गर्नुपर्ने प्रस्ताव गरेको छ। 

यस्तै थापाथली–त्रिपुरेश्वर खण्डमा नयाँ नदी करिडोर बनाउन प्रस्ताव गरिएको छ। यस खण्डमा वाग्मती नदी किनारमा निर्माणाधीन ३.५ मिटर चौडा सडकलाई—एसियाली विकास बैंक (एडीबी)को सहयोगमा निर्माण भइरहेको पश्चिमतर्फको पानी प्रशोधन केन्द्रको पश्चिम भाग तथा नदीको पूर्वतर्फ सरकारको स्वामित्वमा रहेको जग्गा उपयोग गरी त्यससँगै आयोजना क्षेत्रको सीमाभन्दा बाहिर २.० मिटर चौडा सडक र १.५ मिटर चौडा पैदलमार्ग विस्तार गर्न सकिने जाइकाको प्रस्ताव छ। यसबाट त्रिपुरेश्वर–थापाथली–माइतीघर खण्डमा वैकल्पिक सडक मार्ग स्थापना हुने जाइकाको विश्वास छ। 

तर, थापाथली पुलमुनिको स्थान साँघुरो भएकाले ठूला सवारीसाधनले यस वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछैनन्। साथै, यस वैकल्पिक मार्गको बीच भागमा एउटा नयाँ पुल निर्माण गर्नुपर्ने आवश्यकता हुनेछ। यसका लागि १ अर्ब ९० करोड जापानी येन लाग्ने अनुमान छ। जसमा १ अर्ब ८० करोड जापानी येन जग्गा अधिग्रहण र घर टहराको मुआब्जाका लागि लाग्नेछ।

वाग्मती नदी करिडोरका कच्ची सडकमा कालोपत्रे गर्न सुझाएको छ। यसका लागि ७ करोड जापानी येन लाग्ने अनुमान छ। 

बुद्धमार्ग इन्टरसेक्सन सुधार गर्न पनि जाइकाले प्रस्ताव गरेको छ। कार्यालय समयमा यो खण्डमा सवारीको चाप हुँदा वाग्मती पुल क्षेत्रमा जाम लाग्ने गरेको छ। हालको दुई लेनको पुल ललितपुरतर्फ जान प्रयोग हुने र नयाँ पुल सिंगल लेनको काठमाडौंतर्फ आउने सवारीसाधनले प्रयोग गर्ने गरी प्रस्ताव गरिएको छ। 

यसले दुई छुट्टाछुट्टै पुल हुँदा सवारीसाधन पास हुँदा बाटो दिन रोकिराख्नुपर्दैन। यसका लागि १४ करोड रुपैयाँ लाग्ने अनुमान छ। पुलको लम्बाइ ७५.५ मिटरको हुनेछ। 

यस्तै गोंगबु बसपार्कस्थित विष्णुमती नदीमा पनि नयाँ पुल बनाउने प्रस्ताव गरिएको छ। जसको लागत २० करोड जापानी येन, चाबहिलको धोबीखोलामा पनि पुल बनाउन प्रस्ताव गरिएको छ। यसको लागत ४५ करोड जापानी येन रहेको छ। 

यस्तै सातदोबाटो–गोदावरी खण्ड चार लेनको छ। तर कर्मनासामा दुई लेनको मात्र पुल छ। जसले गर्दा यहाँ जाम हुने गरेको छ। साथै उक्त पुलमा पैदल बाटो नहुँदा साइकल यात्री र पैदल यात्रुका लागि खतरा पूर्ण रहेको छ। ५४.६ मिटरको पुल बनाउन प्रस्ताव छ। जसमा पैदल यात्रुका लागि एकतर्फ १.५ मिटरको फुटपाथ बनाउन ९ करोड ६० लाख जापानी येन लाग्ने अनुमान छ।

साथै ग्वार्को ओभरपासनजिकै रहेको खोलामा पनि पुल बनाउन प्रस्ताव गरिएको छ। यस खण्डमा पनि सडक चार लेनको भए पनि पुल भने दुई लनेको मात्रै छ। हाल भने पैदलयात्रीका लागि स्टिलका पुल जडान गरिएको छ। यस खण्डमा दुई लेनको २५.२ मिटर पुल निर्माण गर्न ४ करोड ५० लाख जापानी येन लाग्ने अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad