राजनीति


प्रदेशमा भागबन्डा गर्दै एमाले र नेकपा, ४ मुख्यमन्त्रीमा एमालेको दाबी

प्रदेशमा भागबन्डा गर्दै एमाले र नेकपा, ४ मुख्यमन्त्रीमा एमालेको दाबी

सागर न्यौपाने
साउन ७, २०८३ बिहिबार २२:२४, काठमाडौँ

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रदेश सरकार मिलेर गठन गर्ने समझदारी गरेका छन्। नेपाली कांग्रेस र एमालेसँगको गठबन्धन टुटेपछि प्रदेश सरकारमा नेकपाको प्रवेश हुन लागेको हो।

यसका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर छलफल भइरहेको नेताहरू बताउँछन्।

एमालेबाट वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल तथा नेकपाबाट वर्षमान पुन र प्रमेश हमाल पनि छलफलमा छन्।

यद्यपि, यो समझदारी गर्नुअघि नेकपाका संयोजक प्रचण्डले कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए। उनले तीन दल मिलेर प्रदेशमा सरकार बनाउनुपर्ने धारणा पनि राखे। जुन मधेस सरकार गठनका लागि अपनाइएको मोडेल थियो। 

तर, त्यो प्रस्तावमा कांग्रेसका सभापति गगन थापा तयार भएनन्। उनले प्रदेश सभा प्रतिपक्षीविहीन बनाउन नहुने धारणा सार्वजनिक रूपमा राखेपछि एमालेले नेकपासँग सहकार्यका विषयमा छलफल गर्न नेताहरूलाई खटाएको थियो।

नेकपाकै एकाथरी नेताले एमालेसँग मिल्न प्रचण्डलाई दबाब दिएका थिए। त्यसपछि दुवै पार्टीले नेताहरूलाई छलफलमा खटाएका हुन्। जसअनुसार मिलेर प्रदेश सरकार गठन गर्ने समझदारीमा उनीहरू पुगेका छन्।

नेकपाका नेता पुनले प्रदेशमा एमालेसँग मिलेर जाने सहमति भएको जानकारी दिए। 

एमालेका प्रवक्ता समेत रहेका उपमहासचिव लेखराज भट्टले पनि नेकपासँग मिलेर प्रदेश सरकार गठन गरिने बताए।

कुन प्रदेशमा कसको सरकार
अहिलेसम्म एमालेले कोसी, लुम्बिनी, गण्डकी र कर्णाली सरकारमा दाबी गरेको नेताहरू बताउँछन्। कोसी, लुम्बिनी र कर्णालीमा एमालेकै नेतृत्व छ। 

यस्तै, नेकपाले सुदूरपश्चिम, कर्णाली र बागमती दाबी गरेको छ।

एमालेले कर्णालीको दाबी नछोडेमा नेकपाले गण्डकीमा मुख्यमन्त्री पाउन सक्छ। त्यसो त, कोसी र लुम्बिनीमा पनि नेकपाले दाबी गरेको छ। तर, कोसीको हकमा सरकार गठन धारा १६८ को ५ अनुसार भएको हो। 

मधेसमा कांग्रेस नेतृत्वमा एमाले, नेकपा सहभागी छन्। त्यहाँ के गर्ने प्रष्ट नभइसकेको नेताहरूको भनाइ छ। 

‘कर्णाली एमालेले नै लिने भन्ने हो। कोसी छोड्न नहुने कुरा उठिराखेको छ,’ एमालेका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘सुदूरपश्चिम नेकपालाई दिने निश्चित जस्तै छ।’ 

सिटका आधारमा तीन प्रदेशको नेतृत्व आफ्नो दलले पाउने नेकपाका नेताहरू बताउँछन्। 

‘दाबीको हिसाबले कर्णाली, सुदूरपश्चिम र बागमतीमा हाम्रो अन्य दलभन्दा ठूलो जनमत छ। त्यसकारण त्यहाँ दाबी स्वाभाविक हो,’ नेकपाका अर्का पदाधिकारीले भने, ‘अन्यत्र पनि दाबी गर्न सकिन्छ। बागमतीको हकमा राप्रपा र हाम्रो नेपाली पार्टीसँग सहकार्य हुनसक्छ।’ 

यद्यपि, दुवै दलले कार्यदल बनाएर प्रदेशको भागबण्डा गर्नेछन्।  

‘कार्यदल बनेपछि त्यसले नीति बनाउँछ, त्यसले मापदण्ड बनाएपछि प्रदेश सरकारको भागबण्डा टुंगो लाग्छ,’ नेकपाका अर्का नेताले भने। 

एमालेका उपमहासचिव भट्ट कसले कुन प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने अझै निश्चित भइनसकेको बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad