मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आज (मंसिर १९ गते) सकिँदै छ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुन्।
यसअघि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका यादवले यही मंसिर १७ गते राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो।
गत कात्तिक २४ मा महोत्तरीको बर्दिबासस्थित पानस होटलमै मुख्यमन्त्री पदको शपथ खाएका यादवलाई सर्वोच्च अदालतले मंसिर १५ गते २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो।
तर यादवले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका हुन्।
नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन आइसक्दा पनि दलहरूबीच सहमति जुटिसकेको छैन।
यसका लागि मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दल निरन्तर छलफलमा छन्।
मधेसमा एमालेबाहेकका सात दल नयाँ सरकार गठनको गृहकार्यमा जुटेका हुन्।
मधेसमा नयाँ गठबन्धन बनाएका सात दलसँग दुई तिहाईभन्दा धेरै मत छ।
अबको मुख्यमन्त्रीमा यसअघिका मुख्यमन्त्री लोसपा नेता जितेन्द्र सोनल र कांग्रेसका कृष्ण यादवको सम्भावना बढी देखिएको छ।
मधेस प्रदेशसभामा एमालेपछि दोस्रो ठूलो दल नेपाली कांग्रेस हो।
प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्।
Shares

प्रतिक्रिया