मञ्चमा उभिँदा दर्शकलाई पेट मिचीमिची हँसाउने कमेडियनका आफ्नै व्यथा र कथा हुन्छन्, जुन प्रायः नेपथ्यमै सीमित रहन्छन्। यो साता नेपालखबर सो ‘लेट्स टक’ आइपुगे, ‘कमेडी नाइट्स विथ च्याम्पियन’का दुई चर्चित अनुहार सुमन कार्की र प्रभात लामा।
हामीले सुमनलाई सुरुमै सोध्यौँ– ‘कमेडी च्याम्पियनदेखि कमेडी नाइट्स विथ च्याम्पियनसम्मको यो यात्रालाई कमेडी पन्चलाइनमा भन्नुपर्यो भने कसरी भन्नुहुन्छ?’
सुमनका लागि कमेडी रहर मात्र थिएन, यो एउटा सपना थियो जुन उनले पूर्वको रेडियोका स्टुडियोदेखि काठमाडौँका गल्लीहरूसम्म बुनेका थिए।
जवाफमा क्रममा उनी केहीबेर सोचमग्न भए र मुस्कुराउँदै भने, ‘मेरो एउटा सपना थियो, हास्यव्यंग्य कलाकार हुने, जसमा जोडिएका मेरा खुड्किलाहरू हुन् कमेडी च्याम्पियनदेखि कमेडी नाइट्ससम्मको यात्रा। यसलाई व्याख्या गर्न मसँग कुनै पन्च भेटिएन, अनेक परिस्थितिसँग जुध्दैजुध्दै यहाँसम्म आइयो।’
अर्कोतर्फ प्रभात लामाका लागि यो क्षेत्र अलि फरक थियो। पत्रकारिताको पृष्ठभूमिबाट आएका प्रभातले ‘नेपालखबर’मै पनि केही महिना काम गरेका थिए। हिजो सेलेब्रिटीहरूको अन्तर्वार्ता लिने प्रभात आज आफैँ अन्तर्वार्ता दिने ठाउँमा हुँदा केही दबाब महसुस गरिरहेका थिए।
‘म त यहाँ बसेर तपाईंलाई जवाफ दिइरहेको छु, तपाईं मसँग जवाफदेहिता खोजिरहनुभएको छ। यहाँ एउटा जिम्मेवारी र लोड छ,’ उनले भने।

मञ्चमा हाँस्ने कलाकारहरूको जीवनमा पनि यस्तो दिन आउँछ, जहाँ आँसु थाम्नै सकिँदैन। सुमनको जीवनमा त्यो दिन तब आयो, जब उनी काठमाडौँमा संघर्ष गर्दै थिए। उनका हजुरबुवा, जो उनलाई यो क्षेत्रमा लाग्न प्रेरणा र सहयोग दिन्थे, उनी यो संसारबाट बिदा भए।
‘मेरो हजुरबुवासँग एकदमै आत्मीयता थियो,’ सुमनले भावुक हुँदै सम्झिए, ‘म काठमाडौँमा संघर्ष गर्दैगर्दा उहाँ बित्नुभयो। मलाई अहिलेसम्म मिस हुने कुरा नै अहिले मेरो हजुरबुवा हुनुभएको भए तपाईंको नाति राम्रो लयमा छ भनेर देखाउन पाउँथेँ होला भन्ने हो।’
सुमन त्यतिबेला रेडियो अडियोमा काम गर्थे। उनले गाउँमा हजुरबुबा बितेको त्यो दुःखद खबर दुई दिनसम्म कार्यालयमा भनेनन्, न बिदा नै माग्न सके।
‘ऊ आफ्नो पीडा अरुलाई नभन्ने, भित्रभित्रै दबाउने मान्छे हो। हजुरबुबा बित्दा हामी सँगै रेडियोमा काम गथ्र्यौँ। दुई दिनसम्म कसैलाई नभनेर बिदासम्म नमागेको मलाई अझै याद छ,’ प्रभातले थपे।
प्रभातको जीवनमा पनि आँसुका क्षणहरू नआएका होइनन्। केही महिनाअघि मात्रै रेडियो अडियोका सञ्चालक दिपेन्द्र खनियाँ, जसले नेपाली कमेडी क्षेत्रमा रेडियोमार्फत एउटा क्रान्ति ल्याएका थिए, को आत्महत्याको खबरले प्रभातलाई नराम्ररी बिझायो।
प्रभात सम्झन्छन्, ‘उहाँ बितेको खबर सुन्दा म आफैँ ढाडको दुखाइले थलिएको थिएँ। ठ्याक्कै सिधा भएर ५ मिनेट पनि उभिन नसक्ने अवस्था थियो। उहाँ कमेडीको पनि रेडियो हुनसक्छ भनेर परिकल्पना गर्ने व्यक्ति, हामी कमेडियनलाई स्थान दिने गुरु हुनुहुन्थ्यो। उहाँलाई पशुपति आर्यघाटमा अन्तिम पटक गुडबाइ गर्न नपाएकोमा मलाई अहिलेसम्म खड्किरहन्छ।’

सुमन र प्रभातका लागि नेपालका राजनीतिज्ञदेखि चर्चित व्यक्तित्वहरूको क्यारिकेचर गर्नु सामान्य जस्तै भइसकेको छ। तर, कहिलेकाहीँ पात्रहरूले आफैँ प्रतिक्रिया दिँदाको क्षण विशेष हुने गर्छ। सुमनले दुर्गा प्रसाईंको ‘मुर्गा प्रसाईं’ बनेर क्यारिकेचर गर्दा प्रसाईंले एउटा टेलिभिजन सोमा ‘त्यो भाइले विचार गर्नु नि फेरि’ भनेको प्रसंग उनी कहिल्यै बिर्सिंदैनन्।
त्यस्तै, राजेश हमालको क्यारिकेचर गर्दा सुमनले लाएको ज्याकेटको बारेमा हमालले भनेका थिए– ‘तपाईंले त्यो ज्याकेट असाध्यै बिजोक पाउनुभएछ यार, मसित थियो, म नै दिन्थेँ नि बरु। जे होस्, खुब खोजी अनुसन्धान गर्नुभएछ।’
कमेडी मञ्चको उज्यालो र दर्शकको गडगडाहटमा मात्र सीमित छैन। कहिलेकाहीँ यो देशको नीति निर्माण गर्ने थलो ‘सदन’ भित्रका कुर्सीहरूमा पनि मडारिइरहेको हुन्छ।
अन्तर्वार्ताका क्रममा हामीले दुवैजनालाई सोध्यौँ– ‘अहिले सदनको सबैभन्दा ठूलो कमेडियन को लाग्छ?’
प्रश्न भुइँमा झर्न नपाउँदै प्रभातले ठट्टाको शैलीमा तर अर्थपूर्ण जवाफ दिए– ‘अहिले सदनको सबैभन्दा ठूलो कमेडियन हर्क साम्पाङ सर!’ प्रभातको यो ठट्टामा सदनभित्र हुने उदेकलाग्दा बहस र त्यहाँका पात्रहरूको कार्यशैलीमाथिको एउटा नमीठो व्यंग्य लुकेको थियो।
सुमनले पनि त्यसमा थपे– ‘मलाई त सदनमा आशिका तामाङ दिदी पनि एकदमै रमाइलो लाग्नुहुन्छ। उहाँले माहोल अर्कै बनाइरहनुहुन्छ।’
जब सुमनले केपी ओलीको भेषमा बालेन शाहलाई सुझाव दिने उपक्रम सुरु गरे, स्टुडियोको माहोल क्यारिकेचरमय बन्यो।
सुमनले ओलीकै गम्भीर तर कटाक्षपूर्ण शैलीमा भने, ‘त्यो कालो चस्मा लाउने केटोले झापामा मलाई यसो छिर्के लगाएर लडाएर अहिले के के न गर्लान् भनेर जनताले एकदम अपेक्षा गरेका थिए, अहिले त हात्ती आयो हात्ती आयो फुस्सा भइराख्या छ। बेला आउँदा, समय मिल्दा हाम्रा पनि दिन फर्किए भने केटोलाई ठेगाना लगाउँछु। सुझाव केही दिन्नँ म। सुझाव नदिँदा त यो अवस्था भो, दिए के हुन्थ्यो होला?’
क्यारिकेचरको यो जादु प्रभातको मुखबाट हर्क साम्पाङको शैलीमा बालेनतिरै सोझियो। हर्ककै लवजमा प्रभातले भने, ‘धत्तेरिका! त्यस्तो नाथे कुरै छैन, कुरै छैन। को बालेन? हँ? म जत्तिको को छ मान्छे भन्नुस् न तपाईं? अब प्रधानमन्त्री भनेको म जस्तो हुनुपर्छ के। त्यो सदनमा आएर नबोल्ने मान्छे पनि हुन्छ?’

ठट्टा र क्यारिकेचरको आवरणभन्दा बाहिर निस्केर सुमन र प्रभातले यी पात्रहरूको गम्भीर विश्लेषण पनि गरे। बालेन उनीहरूका लागि एक पात्र मात्र होइनन्, एउटा युगको आशा हुन्।
प्रभातले भने, ‘बालेन अहिलेका लागि आशाको किरण हुन्। यदि त्यो आशा निभ्यो भने समाजमा घनघोर निराशा पैदा हुन्छ।’
सुमनले पनि त्यसमा सही थापे, ‘उहाँसँग मबाट भएन वा सकिनँ भन्ने कुनै विकल्प नै छैन। किनकि मानिसहरूलाई अब केबल नतिजा चाहिएको छ।’
यता हर्कको चर्चा हुँदा उनीहरूले हर्कको सफा मन र मेहनतको सम्मान गरे। तर राजनीतिमा मन मात्र सफा भएर नपुग्ने उनीहरूको बुझाइ थियो।
प्रभातले भने, ‘हर्क साम्पाङ मेहनती हुनुहुन्छ, मनको सफा हुनुहुन्छ। तर राजनीतिमा अलि कुटिलता र रणनीति पनि चाहिन्छ कि जस्तो लाग्छ। उहाँका केही अभिव्यक्तिले उहाँको कामलाई नै छायामा पारिदिने डर हुन्छ।’
क्यारिकेचरको संसारमा सुदन गुरुङको प्रसंग झनै सुखद छ। प्रभातले सुदनको क्यारिकेचर गर्दा गुरुङ आफैँले दिएको सम्मानले उनलाई भावुक बनायो।
प्रभात सम्झन्छन्, ‘मैले सुदन दाइको क्यारिकेचर गरेपछि उहाँले कमेन्टमै अप्रिसिएट गर्नुभएको थियो। म भन्दा दुरुस्तै देखियो भन्नुभयो, एउटा कलाकारका लागि यो भन्दा ठूलो अवार्ड के हुन सक्छ र?’
सुमन र प्रभात क्यारिकेचरमार्फत कहिले कसैलाई झक्झक्याउँछन् त कहिले कसैको मेहनतप्रति सम्मान व्यक्त गर्छन्।

कुराकानीको अन्त्यतिर ‘बिहाइन्ड द सिन’ सेग्मेन्टका क्रममा हामीले उनीहरूका केही पुराना तस्बिरहरू देखायौँ। सुमनका पुरानो हरिया जुत्तादेखि प्रभातको हेटौँडा एफएमका यादहरूसम्मले उनीहरूलाई विगतमा फर्कायो। सुमनले सुरुका दिनमा एउटा कार्यक्रमको पारिश्रमिक १५ सय पाउँदाको खुसी बेग्लै रहेको सुनाए।
भविष्यका योजनाबारे उनले भने, ‘मलाई अब कतै पुग्नु छैन। यही क्षेत्रमा लामो समयसम्म, पछि लौरो टेक्दा पनि यसरी नै कुराकानी गर्न पाइयोस्, यही क्षेत्रमा टिकिरहन मन छ।’
प्रभातको पनि सपना उस्तै छ, ‘२५ वर्षपछि पनि यसरी नै कुरा गर्न पाइयोस्, आफ्नो कुरा सुनाउन पाइयोस्। कलाकार बनेर यही मिडियाको वरिपरि नै रहन मन छ।’
हेर्नुस्, हाँसो र संघर्षका कथा मिसिएको सुमन र प्रभातसँगको भिडिओ कुराकानी ‘लेट्स टक’:
फोटो/भिडिओ: सरोज नेपाल

प्रतिक्रिया